Goraksha

National Daily

लकडाउन खुलेसँगै आँखा अस्पताल भरिभराउ

बालाराम खड्का
तुलसीपुर, १२ साउन । लकडाउन खुलेसँगै यहाँका आँखा अस्पतालमा आँखासम्बन्धी सेवा लिने बिरामीहरुको भीड लाग्नथालेको छ । लकडाउनमा न्यून संख्यामा सेवा लिन बिरामीहरु आउने गरे पनि आजभोलि भने अस्पतालमा आँखाको सेवा लिन आउने बिरामीहरुको संख्यामा ह्वातै बढेको आँखा अस्पतालले जनाएको छ ।

दैनिक ओपिडीसँगै शल्यक्रिया गर्नेहरुको संख्यामा पनि बृद्धि भएको अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवालले जानकारी दिएकी छन् । लकडाउन खुलेसँगै यातायातको सहजता तथा अन्य कारणले पनि आँखाका बिरामीहरु अस्पतालमा सेवा लिन आउने गरेको उनको भनाई छ ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौर, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा आँखाको सेवा लिन आउने विरामीहरु बढेको अस्पतालले जनाएको छ । लकडाउनको समयमा ५० देखि १०० जनासम्म बिरामीहरुले सेवा लिने गरेका थिए ।

लकडाउन खुलेसँगै आइतवार राप्ती आँखा अस्पतालमा ४ महिनापछि सबैभन्दा बढी ४ सय ४३ जनाले आँखा तथा कानको सेवा लिएका छन् । त्यस्तै एकै दिन २० जनासम्मका बिरामीको आँखाको शल्यक्रिया समेत हुने गरकोे छ । आइतवार अस्पतालमा आँखाको सेवा लिन आउनेहरुको संख्या ह्वातै बढेको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए ।

यस्तै लमही आँखा अस्पतालमा पनि दुई सय एक जनाले ओपिडी सेवा र ७ जनाले शल्यक्रिया गरेको अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिएका छन् । त्यस्तै छन्द् कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जमा पनि आइतवार करिब एक सय बढी विरामीहरुले ओपिडी सेवा लिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिएका छन् ।

उनले दैनिक ३÷४ जनाको शल्यक्रिया समेत हुने गरेको बताए । त्यस्तै राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा मोतियाविन्दु तथा अन्य आँखाको शल्यक्रिया गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवालको भनाई छ ।

‘लकडाउन खुलेसँगै यातायातको पनि सहजता भएको छ, अन्य सबै कुरा सहज हुँदा आँखाका बिरामीहरुले पनि सहज सेवा पाउनुभएको छ’ –उनले भनिन् । उनले लकडाउन खुले पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सबै स्वास्थ्य सजकता अपनाएर सेवा प्रवाह गरेको बताइन् । ‘हामीले भौतिक दूरीदेखि मास्क सेनिटाइजर, साबुनपानीले हात धुनुका साथै विरामीहरुको व्यक्तिगत विवरण र ज्वरो नाप लिने गरेका छौँ’ –डा कटुवालले भनिन् ।

 अस्पतालमा वर्षातसँगै आँखा पाक्ने, नानीमा घाउ भएका विरामीहरु धेरै आउने गरेका छन् । वर्षातसँगै आँखा रातो हुने चिलाउने बिझाउने र विभिन्न कारणले आँखाको नानीमा घाउ भएका बिरामीहरु धेरै आउने गरेको डा कटुवालको भनाई छ । ‘प्रत्येक १० जनामा ३ जना बिरामीहरु आँखा पाक्ने समस्या लिएर आउँछन्, त्योसँगै विभिन्न कारणले आँखाको नानीमा घाउ भएका पनि धेरै बिरामीहरु सेवा लिन आउनुहुन्छ’ –उनले भनिन् ।

त्यस्तै आँखा पाक्ने रोगबाट वचन सफा पानीले दिनको ४÷५ पटकसम्म मुख धुने, हिलो, धमिलो पानी र फोहर वस्तुले आँखा मुख नछुने नधुने र आँखामा केही समस्या भए तुरुन्त अस्पतालमा आउन चिफ मेडिकल डाइरेक्टर डा कटुवालको सुझाव छ ।