खत्रीद्वारा आँखा अस्पतालमा मास्क वितरण
तुलसीपुर, ११ साउन । यहाँका एक व्यक्तिले राप्ती आँखा अस्पतालमा मास्क वितरण गरेका छन् । शनिवार अस्पतालमा पुगेर घोराही निवासी नेपाल तरुण दल दाङका जिल्ला सदस्य वीरबहादुर खत्री (वीरु)ले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई मास्क वितरण गरेका हुन् ।
कोभिड–१९ को जोखिमबाट आफू र अरुलाई पनि बचाउन पास्क प्रयोग गर्नुपर्ने भन्दै उनले त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई मास्क वितरण गरेका हुन् । समाजसेवी खत्रीले यस अघि प्रत्येक व्यक्तिलाई घरघरमा पुगेर मास्क वितरण गर्ने गरे पनि पहिलो पटक संस्थागत रुपमा एन–९५ मास्क अस्पताललाई वितरण गरेका हुन् ।
‘फष्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु हुनुहुन्छ, यस आँखा अस्पतालमा कसैको ध्यान छैन, त्यसैले यहाँबाट संस्थागत रुपमा मास्क वितरण सुरु गरेको हुँ’ –खत्रीले भने । उनले यस अघि करिब ५ हजार मास्क वितरण गरेको भन्दै बजारमा विभिन्न चोकमा बसेर मास्क नलगाउनेलाई मास्क वितरण गर्ने गरेको समेत बताए ।
‘कोभिड–१९ कोरोना भाइरसको जोखिम अझै पनि कायममै छ, यहाँ बुझेकाले पनि हेलच्याक्राई गर्छन्’ उनले भने । उनले आफूले पनि यस महामारीको समयमा सानो सहयोग गरेको बताए । खत्रीले बाटोमा हिड्ने बटुवालाई सर्जिकल मास्क दैनिक २०० देखि ३०० सय पिससम्म वितरण गर्दै आएको बताए । त्यस्तै उनले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित लमही आँखा अस्पतालमा पनि मास्क वितरण गर्ने बताए ।
मास्क वितरण कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुलक्ष्मी कटुवाल, प्रशासक किरण पौडेलले यस महामारीको जोखिमलाई मध्यनजर गर्दै मास्क वितरण र सचेनता कार्यक्रम गरी सामाजिक सेवामा लाग्ने खत्रीलाई धन्यवाद दिए । ‘यस किसिमको सामाजिक कामले सबैलाई सचेत र जागरुक गराउँछ यसमा सक्रियता देखाएकोमा धन्यवाद छ’ –चिफ मेडिकल डाइरेक्टर डा. कटुवालले भनिन् ।
