Goraksha

National Daily

लागूऔषध कारोबार रोक्न प्रहरीको एक्सन

लिलाधर वली
दाङ, १० साउन । जिल्लामा लागूऔषध कारोबार रोक्न प्रहरीले सक्रियता बढाएको छ । लागूऔषध कारोबारका घटना बढेपछि प्रहरीले रोकथामका लागि निगरानी समेत बढाएको हो ।

यसैक्रममा प्रहरीले जिल्लामा ६ किलो बढी लागूऔषध अफिम सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा राप्ती गाउँपालिका-१ भालुवाङमा रहेको दक्षिणकाली सोल्टी होटेलमा बसेर लागूऔषधको कारोबार गरिरहेको अवस्थामा रोल्पाका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

प्रहरी प्रमुख चन्दका अनुसार प्रहरीले उनीहरुको साथबाट ६ किलो ९ सय ६७ ग्राम अवैध लागूऔषध अफिम नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा नं. ५ निवासी ३५ वर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका-२ का ३२ वर्षीय लालमन घर्ती मगर, ३२ वर्षीय हर्कबहादुर घर्ती मगर र २२ वर्षीय लालसिंह विक रहेको प्रहरी प्रमुख सिंहले बताए ।

प्रहरीले लागूऔषध अफिम सहित उनीहरुको साथबाट लु१च ६१७१ नम्बरको सेतो रँगको बोलेरो जिप, लु४०प ९८०६ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल र विभिन्न कम्पनीका ५ थान मोवाइल समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालतबाट लागूऔषध मुद्दामा १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सिंहले बताए । प्रहरीका अनुसार पछिल्लो समय लागूऔषध कारोवारीहरुले दाङको भालुवाङलाई ट्राञ्जिट प्वाइन्टका रुपमा लिने गरेका छन् ।

‘पछिल्लो समय पक्राउ परेका लागूऔषध कारोबारका घटनाहरुलाई हेर्दा कारोबारीहरुले भालुवाङलाई ट्राञ्जिट प्वाइन्ट बनाएर कारोबार गरेको देखिएको छ’-प्रहरी प्रमुख सिंहले भने-‘राप्तीको पहाडी क्षेत्रमा उत्पादन गर्ने र भालुवाङ क्षेत्रलाई आधार बनाएर पूर्व-पश्चिमसँगै भारत पुर्‍याउने गरेको पाइएको छ ।’

उनकाअनुसार सल्यान, रुकुम, रोल्पा, जाजरकोटलगायतका पहाडी जिल्लाहरुमा लागूऔषध गाँजा, अफिमलगायतको उत्पादन हुने गरेको समेत प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो समयमा लागूऔषध नियन्त्रणमा कडाई गरेको उनले बताए । जिल्लाका विभिन्न स्थानमा अवैध गाँजालाई नष्ट गर्ने काम भइरहेको समेत प्रहरी प्रमुख सिंहले बताए ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा लागूऔषधका ३२ वटा घटनामा ४५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट १ सय ८ ग्राम २ सय ८ मिलिग्राम ब्राउनसुगरसहित २७ जना पुरुष र ५ जना महिला, ११ केजी १६ ग्राम चरेससहित ८ जना पुरुष, ८ केजी ५ सय ५० ग्राम अफिमसहित एक जना महिला र एक जना पुरुष, २ केजी ५ सय ८० ग्राम गाँजासहित एक जना पुरुष र मनोदीपक पदार्थ नाइट्राभेट २६ ट्याब्लेट र ट्रामाडोल सय ट्याब्लेटसहित दुई जना पुरुषहरुलाई पक्राउ गरेको हो ।

साथीहरुको दबाब तथा लहलहैमा पर्नु, पारिवारकि समस्या, अध्ययनमा समस्या, इन्टरनेटको दुरुपयोग, स्वतन्त्र जीवन यापन गर्न चाहने स्वभाव, प्रेममा धोका, सामाजिक, पारिवारिक बहिस्कार, गरिबीलगायतका कारण अधिकांश मानिसहरु लागूऔषध कारोबारमा संलग्न हुने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नावय उपरीक्षक सुमित खड्काले बताए ।