Goraksha

National Daily

स्थानीय सरकारको संसद टोल विकास संस्था : पोख्रेल

दाङ,१० साउन । स्थानीय सरकारको संसद टोल विकास संस्था रहेको नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले बताएका छन् । तीन तहको सरकारको संसद प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाको अवधारणा अनुरुप कार्यान्वयनमा रहेपनि स्थानीय सरकारको काममामाथि प्रश्न गर्ने, सुझाव दिने, टिप्पणी गर्ने र रचनात्मक भुमिकामा उभिने निकाय टोल विकास संस्था रहेको पोख्रेलले बताएका हुन ।

शनिबार घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुरस्थित एकान्त टोल विकास संस्थाको आठौं वार्षिकोत्सव तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले टोल विकास स्थानीय विकासको प्रमुख आधार भएको जिकिर गरे ।

पोख्रेलले भने–‘स्थानीय सरकारले गर्ने र गरेका कामको बारेमा जवाफ माग गर्ने र सुझाव दिने अधिकार टोल विकास संस्थालाई छ, यसका लागि टोल विकास संस्थाकोतर्फबाट पहल थाल्नुहोला ।’ उनले संसदमा सांसदको महत्व भएजस्तै स्थानीय सरकारको काममाथि प्रश्न गर्ने, गुनासो राख्ने र रचनात्मक सुझाव दिने अधिकार टोल विकास संस्थालाई रहेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले स्थानीय स्तरको विकासको सम्भावनाका बारेमा वृहत छलफल गरि टोलको विकासका लागि पहल गर्न सक्नु पर्ने बताए । एकान्त टोल विकास संस्था साझा फुलबारी सरह रहेको उनको भनाई थियो ।

अनेकतामा एकताको सुत्रमा बाँधिएर बसेका टोलबासीले आफुभित्रका सम्भावनालाई पहिल्याएर नवीनतम प्रयोगमा लाग्न सक्नु पर्नेमा जोड दिएका छन् । उनले भने,‘यस टोलमा म अथाह सम्भावनाका मुहार देख्दछु, त्यसैले फुलबारी भनेको हुँँ, यसलाई उपयोग गर्न बिलम्ब नगर्नुहोस्, रामले हनुमानलाई उनको शक्ति र बलको मापन गरिदिए जस्तै एकान्त टोल विकास संस्थाको सम्भावना पहिचान गर्ने र प्रयोग गर्न सुझाव दिएको हुुँ ।’

कार्यक्रमका विशिष्ट अतिथि रोटरी क्लव दाङका निवर्तमान अध्यक्ष तथा विकासविद तीर्थ पौडेलले विकासको अवधारण सडक कालो पत्रे भएर मात्रे नहुने बताएका थिए । उनले सडक कालो पत्र बन्दा आफु खुशी हुने भन्दा पनि अरु खुशी भएमात्रै राम्रो ठानिने बताए । उनले टोलको विकासमा पुरानो अनुभव र नयाँ ज्ञानलाई समेटेर अघिबढेमा विकास प्रभावकारी हुने बताए ।

जसका लागि टोलबासीहरुको एकीकृत प्रोफाइल तयारी पारेर त्यसबाट सम्भावना र अवसरका बारेमा अध्ययन गरी काम गर्न सके अरुभन्दा पृथक बन्न सकिने बताए । टोलमा रहने नागरिकको क्षमता, दक्षता, अनुभव र ज्ञानको प्रोफाईल बनाउन सके टोलको एकीकृत विकास सम्भव रहेको उनको भनाई थियो ।

कार्यक्रममा गणेश मन्दिर सुधार समिति सचिव निर्मल गौतम, एकान्त टोल विकास संस्थाका संस्थापक अध्यक्ष लोकराज आचार्य, निवर्तमान अध्यक्ष सुशिल आचार्य, सल्लाहकार शिशिर अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एकान्त टोल विकास संस्थाको विकास र सुशासनका लागि विभिन्न क्षेत्रबाट योगदान पुर्याएको भन्दै जनप्रतिनिधि र अग्रज समाजसेवीलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा एकान्त टोल विकास संस्थाकी सदस्य तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्बर १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेय, समाजसेवी बासुदेव खनाल र विश्वम शाही रहेका छन् । कार्यक्रमको सहजीकरण संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।

शंकर गौतमकै नेतृत्वमा नयाँ कार्यसमिति चयन

यसैविच घोराही उपमहानगरपालिका वडा नम्बर १५ भरतपुरको एकान्त टोल विकास संस्थाको आगामी कार्यकालका लागि शनिवार भएको साधारणसभाबाट शंकर गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शिवा शर्मा, सचिवमा हेमराज शर्मा, सहसचिवमा हेमराज अधिकारी र कोषाध्यक्षमा शरदकुमार आचार्य चयन भएका छन् ।

यसै गरी संस्थाको कार्यसमिति सदस्यहरुमा मिनराज लम्साल, देवीसरा केसी, जानका घर्ती, विन्दु थापा, इन्द्रमणि अधिकारी र कुमारबसन्त आचार्य रहेका छन् । कुल १ सय २१ सदस्य रहेको सो टोल विकास संस्थाको नयाँ नेतृत्वको कार्यकाल आगामी ३ वर्षको रहेको छ ।