Goraksha

National Daily

पानी पर्दा हिलो र नपरे धुलो…

लिलाधर वली
दाङ, ९ साउन । लकडाउनको समयमा यातायातका साधनहरु नचल्दा धुलोबाट बचेका घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही चोकका व्यवसायीहरु गाडी सञ्चालनसँगै पुनः धुलो सास्ती खेप्न थालेका छन् । सडक निर्माण हुन थालेको आधा दशक बितिसक्दा समेत सडक निर्माण नसक्दा स्थानीयले पानी पर्दा हिलो र पानी नपर्दा धुलो खानुपर्ने बाध्यतामा छन् । बर्षौसम्म सडक नबन्दा व्यवसायीसँगै उक्त सडकमा हिँड्ने पैदलयात्रीहरुले समेत समस्या भोग्ने गरेका छन् ।

गाडीको चापसँगै धुलोको सास्ती पनि त्यतिकै शुरु भएको छ’, घोराहीचोकमा ठेला व्यवसाय गर्दै आएकी सुशीला केसीले भनिन्– ‘यो सास्तीबाट हामीले मुक्ति पाउन थाहा छैन ।’ उनका अुनसार बर्षौसम्म पनि सडक नबन्दा पानी पर्दा हिलो र पानी नपर्दा धुलोको समस्याले हैरान बनाउने गरेको छ । ‘लकडाउन अवधिभर व्यापार नभए पनि धुलो खानुपरेको थिएन, अब फेरि धुलो खाने दिन शुरु भए’, ठेला व्यवसायी जुद्धबहादुर विष्टले भने । सडकको ३० मिटर चौडाईमध्ये उत्तरतिरको १५ मिटर पिच हुन सकेको छैन । घोराहीको मुख्य सडकमै कालोपत्रे हुन नसक्दा बिजोग बनेको घोराही निवासी सन्तोष शर्माले बताए ।

‘लामो समय भैसक्दा पनि सडक कालोपत्रे नहुँदा पानी नपर्दा धुलो उड्ने र पानी पर्दा हिलोले हिँड्नै नसकिने हुने गरेको छ’, शर्माले भने– ‘बजारको मुख्य सडकसँगै चोक बिग्रदा पनि सरकारले बनाउन ध्यान नै दिएको छैन ।’ ग्रोभेल भएको सडक बिग्रिएर पानी जम्ने सडकसँगै चोक हुँदा चोकमै ड्यूटी गर्नै समस्या हुने गरेको एक पुलिसले बताइन् । ‘सडक बिग्रिएर चोकमा खाल्टाखुल्टी मात्रै छन्’, उनले भनिन्– ‘जसले गर्दा पानी नपर्दा धुलो र पानी पर्दा फोहर पानीकै डर हुन्छ ।’

चोकमा ड्यूटी पर्दा सडकको अवस्थाभन्दा गाडीलाई हेर्न भन्दा आफैलाई कसरी बचाउनेमा ध्यान दिनुपर्ने अवस्था भएको उनको भनाइ छ । घोराहीको तुलसीपुर चोकदेखि पश्चिमतिरको करिब सय मिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने गरी आव २०७२÷०७३ मा विजय बिल्डर्स निर्माण सेवासँग सडक डिभिजन कार्यालयले सम्झौता गरेको थियो । तर सम्झौता भएको लामो समय बितिसक्दा समेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन ।

सडक नबन्दा चोकको अवस्थासमेत नाजुक अवस्थामा पुगेको छ । जसले गर्दा बजारको मुख्य सडक नै कुरुप देखिने गरेको छ । सम्झौताअनुसार निर्माण पक्षले काम गर्दागर्दै घोराही–१५ घोराही चोक निवासी स्व. सावर्णीबहादुर बस्नेतले २०७३ बैशाख २१ गते तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) मा मुद्दा हालेका थिए । उनले मुद्दा दर्ता गरेको १५ महिनापछि २०७३ भदौको २८ गते अदालतले सडक विस्तारको काम भइरहेको जग्गा बस्नेतको नाममा रहेको भन्दै सडक निर्माणको काम नगर्नु नगराउनु भन्ने आदेश गरेको थियो ।

अदालतको आदेशका कारण अझै सडक निर्माण हुन सकेको छैन । २०७४ साल भदौ महिनादेखि रोकिएको सडक विस्तारको काम अझै अन्योल नै छ । काम शुरु हुने समय एकिन भएको छैन । उच्च अदालतको फैसला पुनरावेदनका लागि सडक डिभिजन कार्यालय दाङले २०७४ माघ ८ गते सर्वाेच्च अदालतमा पुनरावेदन गरेको थियो ।

अदालतको आदेशका कारण रोकिएको उक्त सडक अहिले फोरलेन सडक आयोजनालाई उक्त सडक हस्तान्तरण गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्यले बताए । ‘अदाललतले व्यक्तिको नाममा फैसला गरिदिएपछि सडक विस्तारको काम रोकिएको हो’, सडक डिभिजन कार्यालय दाङका प्रमुख शाक्यले भने– ‘अहिले त झन उक्त सडक फोरलेन सडक आयोजनालाई हस्तान्तरण गरिसकेका छौं, अब उक्त सडक निर्माणको काम उक्त आयोजनाले गर्नेछ ।’ सर्वाेच्चको फैसल्ला नआउँदासम्म उक्त सडक निर्माणले पूर्णता पाउन नसक्ने समेत उनले बताए ।

फ्रिडम फोरमसँगको सहकार्यमा