तुलसीपुर, ८ साउन । उद्योग वाणिज्य महासंघको केन्द्रीय अधिवेशन स्थगन भएको छ । साउनको २६ र २७ मा काठमाडौंमा हुने भनेको निर्वाचन स्थगित भएको हो ।
निर्वाचनको तयारीका लागि प्रचार-प्रसारदेखि सबै तयारी भइरहेको समयमा अचानक नेपाल सरकारको सभा सम्मेलन नगर्ने नीतिलाई अवलम्वन गर्दै महाधिवेशन अनिश्चितकालका लागि रोकिएको उद्योग वाणिज्य संघ महासंघले जनाएको छ ।
सरकारी अधिकारी र उद्योग वाणिज्य संघका पदाधिकारीबीच भएको छलफलमा नेपाल सरकारले सभा सम्मेलन नगर्न आग्रह गरेअनुरुप अधिवेशन रोकिएको बताएको छ । अधिवेशन कहिले हुने भन्ने विषयमा उद्योग वाणिज्य महासंघ र सरकारका पदाधिकारीहरुबीच कुनै टुंगो लाग्न सकेको छैन ।
उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि उम्मेदवारहरुले अनलाईन फारम दर्ता गरेर प्रचार-प्रसारमा लागिसकेको अवस्थामा एकाएक अधिवेशन रोकिनु पराजित मानसिकताको उपज भएको बताएका छन् ।
‘नयाँ नेतृत्वका लागि सवै सहभागी भएर सामाजिक दूरी कायम गरी अधिवेशनको तयारीमा थियौं तर सरकारले हाम्रो मागलाई सम्बोधन गरेन’, व्यवसायी नेता शेखर गोल्छाले भने । उद्योग बाणिज्य महासंघको आसन्न राष्ट्रिय अधिवेशनका लागि उद्यागी व्यवसायीहरु काठमाडौं पुगेका छन् । तर अधिवेशनको टुंगो नाग्दा सबै उद्योगी व्यवसायीहरु निराश भएर फर्कने मनस्थितिमा छन् ।