चौध वर्षको बालापनमै राजनीतिमा होमिएकी रुकुमकी एउटा राजनीतिको गहना विहेबारीपछि देउखुरीम झरेकी छिन् । उनको राजनीतिको अविरल यात्राले सार्थकता पाउँदै छ । अझ बढी आकाश ढाक्न उनी तल्लीन छिन् । सामाजिक अभियानमा होस् वा राजनीतिक अभियानमा उनको एउटै उद्देश्य छ, महिला सक्षम छन्, महिलाले आधा आकाश ढाक्न सक्छन्, राजनीति, कर्मचारीतन्त्र, प्रहरी, सेना सबैमा महिलालाई समानुपातिक रुपमा र समावेसी रुपमा स्पेस दिनुपर्ने अभियानमा छन् ।
टाइटल नाम प्रतीक्षा हो, खासमा प्रतीक्षा समृद्धिका लागि हो, समानुपातिक नेतृत्वका लागि हो अनि समावेसी नेतृत्वका लागि हो । उनको प्रतीक्षा अब महिलाले आधा आकाश ढाक्नुपर्छ भन्नेमा हो । त्यसैका लागि महिलाहरुले संघर्ष गरिरहेका छन् तर सार्थक संघर्ष । संसद्मा होस् वा निजामति सेवामा वा अन्य न्यायिक निकायमा महिलाहरु सबै स्थानमा काम गर्न सक्षम छन् । त्यसैको नेतृत्व गरिरहेकी छिन् नारायणी शर्मा (प्रतीक्षा)ले । खासमा उनैको सक्रियताले पश्चिम दाङमा बिमलालाई चुनाव जिताउन सफल पनि भयो भन्ने एउटा तर्क छ । त्यसो त उनी देउखुरी क्षेत्रमा पार्वती डिसी चौधरीसँग चुनाव हारेकी पनि हुन्, तर उनलाई हारले जित्न सिकायो । त्यसैले पश्चिम दाङमा बिमलाले जित्दा उनी खुशी छिन् । वर्तमान राजनीतिक परिवेश, महिला हिंसाको सवाल र महिला सशक्तिकरण आन्दोलनका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले नारायणी शर्मासँग गरेको कुराकानीको सार संक्षेप ।
स्वागत छ, तपार्ईंंलाई गोरक्ष सातावार्तामा ?
धन्यवाद तपाईं अनि तपाईंको गोरक्ष दैनिक परिवारलाई । मलाई महिला उन्मुक्तिको आन्दोलनलगायत महिला अधिकारका विषयमा केही कुरा राख्न दिनुभएकोमा ।
तपार्इंलाई नारायणीका रुपमा चिनेका छन्, तर तपाईंको टाइटल नेम प्रतीक्षा जोडिएको छ, तपाईंको प्रतीक्षा के हो ?
म नारायणी शर्मा हुँ । संयोगले प्रतीक्षा टाइटल नाम मात्रै हो, तर प्रतीक्षाको पनि अर्थ रहन्छ । हामी राजनीति गर्ने मान्छेलाई महिलाका आवाज, महिलाका अधिकार, महिलाका नेतृत्वका विषयमा वकालत गर्नुपर्ने हुन्छ । खासमा हामीले आधाभन्दा बढी राजनीतिक हैसियत स्थापित गर्न चाहन्छौं । यो क्रन्तिको उपदेयता पनि हो । अहिले मुस्किलले ३३ प्रतिशत भनिएको छ । तैपनि हामीलाई यो अझै वार्गेनिङको अवस्था छ । किनकि महिला जागरण भएको अवस्थामा हामीले कम्तिमा पनि ५३ प्रतिशत महिला सहभागिताको सरकार बनाउने अभियानमा छौँ, तर त्यसलाई स्थानीय तहबाटै सुरुवात गर्ने हो भन्ने मेरो मान्यता हो । त्यसैले पनि मैले महिला सहभागिता जगाउन देउखुरीदेखि पुरन्धारासम्म लविङ गरिरहेकी छु ।
तपाईंलाई यहाँको चतुर महिलाका रुपमा लिइएको छ, विमलालाई पश्चिम दाङमा जिताउन तपाईंको भूमिका अपरीहार्य भएको बताइन्छ, तर राष्ट्रिय राजनीतिमा महिला सहभागिताको सवालमा केही बोल्नुहुन्छ ?
महिलालाई अवमूल्यन गर्ने अवस्था छैन । न्यायिक निकायमा होस् वा कार्यकारी निकायमा महिलाले नेतृत्व गरेको अवस्था छ । महिलाले नेतृत्व गरेको अदालत होस् वा साष्ट्रपतिको भूमिका वा गाउँघरमा हेर्नुहुन्छ भने सामुदायिक वन र सहकारीमा महिलाको सहभागिता । सबैमा महिला पारदर्शी भएको अवस्था छ । जहाँ महिलाले नेतृत्व गर्छन्, त्यहाँ असफल भएको अवस्था छैन । त्यसैले महिलालाई राजनीतिको मूलधारमा ल्याउनुपर्ने मात्र होइन, कम्तिमा ५३ प्रतिशत महिला नेतृत्वको सरकार चल्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसका लागि हामीले पहिले २० प्रतिशतमा चित्त बुझाएका थियौं, पछि ३३ प्रतिशतको कुरामा पनि सकारात्मक थियौं । तर अब मत दिने महिलाकै वहुमत छ भने महिलामैत्री सरकार बनाउनुपर्छ, समावेशी सिद्धान्त र हाम्रो आन्दोलनको पनि यही उद्देश्य हो ।
आज राष्ट्रिय मानवअधिकार दिवस पनि हो, यसैबीचमा तपाईंहरुको लैङ्गिक हिंसा विरुद्धको अभियान पनि समापन हुँदैछ, दाङ जिल्लाको परीपेक्षमा लैङ्गिक अधिकार हनन् भएका केही घटना पाउनुभएको छ ?
हामीले लैङ्गिक अधिकारका मुद्दा अघि सारेका हौं । त्यसैले म पाँच नम्बर प्रदेशको अन्तरपार्टी महिला सञ्जालको संयोजक पनि भएकी छु । किनकि यो कुनै पनि राजनीतिक पार्टीको संस्था होइन, सबै पार्टीका दिदीबहिनीहरुलाई संयोजन गर्ने मेरो भूमिका हो । यो पनि तपाईंलाई स्मरण गराउन चाहन्छु कि हामी लैङ्गिक हिंसाका विषयमा आन्दोलन गरिरहेका छौँ । महिला हिंसाका विषयमा मात्र होइन । कतिपय परिवारमा महिलाहरुबाट पनि पुरुषहरु प्रताडित भएको अवस्था छ । महिलाहरुलाई पनि आचारसंहितामा बाँध्न हामी लागिरहेका छौं । किनकि हाम्रो आन्दोलन भनेको पुरुषहरुको अधिकारलाई खोस्नका लागि होइन, समावेशी न्याय र समानुपातिक अवसरका लागि मात्रै हो । लैङ्गिक हिंसा विरुद्धको आन्दोलन पनि त्यसैमा केन्द्रित हुनपर्छ भन्ने हाम्रो मान्यता हो ।
लोकल्ली हेर्नुस् न, राजनीतिमा महिला सहभागिता अत्यन्तै न्यून छ नि ?
हो, त्यसैका लागि मैले बन्दुक पनि समाएँ, कलम पनि समाएँ, दिदीबहिनीका घरदैलोमा पनि पुगेँ । सबै क्षेत्रमा समानुपातिक सहभागिता स्थापित हुनुपर्छ भन्ने सवालमा प्रशिक्षण पनि चलाएँ । सबै क्षेत्रमा एकैचोटि परिवर्तन हुँदोरहेनछ । तैपनि महिला अधिकारको सन्दर्भमा हामीले फुकेको विगुल फैलिँदै छ । अर्को निर्वाचनमा महिला सहभागिता पचास प्रतिशत बढ्नेमा म ढुक्क छु । किनकि म त्यही अभियानमा लागिरहेकी छु । आधा आकाश हाम्रो हो भन्ने आम महिलामा जागरण ल्याउन मेरो अभियान क्रियाशील रहने छ । त्यसका लागि देउखुरीको गढवादेखि पश्चिम दाङको बबई गाउँपालिकासम्म हाम्रो अभियान चलिरहेको छ ।
तपाईं एउटा महिला नेतृ हुनुहुन्छ, तैपनि तपाईंलाई पार्वती डिसीले हराइनन् नि ?
चुनावमा हारजितलाई मैले कहिल्यै पनि विशेष परिस्थितिका रुपमा लिइन । रुकुमबाट देउखुरीमा विहेवारी हुँदा हाम्रो संगठन सायद त्यतिबेला कमजोर थियो । पार्वती दिदीले जित्नुभयो, मैले हारेँ । तर महिलाले जितेको हो पार्वती दिदीलाई पनि मैले बधाई दिएकी थिएँ । किनकि सयपत्री फूल चुनाव चिह्न लिएर उहाँलाई पनि हराउन खोजिएको थियो । तैपनि महिला नेतृत्वमा आएकोमा मलाई कुनै गुनासो छैन । म चाहन्छु, महिला अधिकारका सवालमा सबै महिला नेतृहरुले प्रदेश सरकारमा होस् वा संघीय संसदमा होस्, आवाज बुलन्द गर्न आवश्यक छ । म अहिले अन्तरपार्टी महिला सञ्जालको अध्यक्ष भएका नाताले पनि आम महिला राजनीतिकर्मीहरुलाई महिलामैत्री कानुन निर्माणका लागि हार्दिक अपील गर्न चाहन्छु । गाउँवस्तीमा हुने बलात्कारका घटना, बालविवाहका घटनालगायत महिला अधिकारका समग्र पक्षमा सबै पार्टीका महिला नेतृहरुसँग मेरो सहकार्य हुने छ ।
आज डिसेम्बर १० मानव अधिकार दिवस पनि हो, यसमा महिला अधिकारका विषयमा के भन्न चाहनुहुन्छ ?
मानव अधिकारको परिभाषा भनेको अर्काको अधिकार हनन् नगरी आफ्नो अधिकारको स्वामित्व लिनु हो भन्ने मैले बुझेकी छु । आफ्नो अधिकारको उपयोग गर्दा अरुको अधिकार नखोसियोस् भन्ने हाम्रो मान्यता हो । त्यसैका लागि आम दिदीबहिनीहरु अझै पनि संघर्षको अभियानमा छौं । तर राज्यले अझै पनि महिला अधिकारलाई सम्मान गर्नसकेको छैन । त्यसैले लैङ्गिक अधिकारका लागि सोह्रदिने अभियान पनि महिला हिंसामै केन्द्रितजस्तै देखिएको छ । तर हामीलाई थाहा छ, यो महिला हिंसाका विरुद्धको दिवस होइन, कहीँकतै पुरुषहरु पनि लैङ्गिक हिंसामा परेको अवस्था छ ।
त्यसमा पनि हामी गम्भीर छौं । साथै संविधानले प्रदत्त गरेको तेस्रो लिङ्गी अधिकारमा पनि हामी गम्भीर छौं । त्यसैले त यो अभियानलाई हामीले लैङ्गिक हिंसा विरुद्धको अभियानमा जोडेका हौँ । म अन्तरपार्टी महिला सञ्जालको प्रदेश संयोजक भएको नाताले पनि यो अभियानलाई अधिकारको सुनिश्चितताको आन्दोलन बनाआँै भनेको हो । त्यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित निकायले पनि हातेमालो गरोस् भन्ने हाम्रो मान्यता हो ।
अन्त्यमा गोरक्ष पत्रिकामार्फत् तपाईंले आम पाठक एवं महिला दिदीबहिनीहरुलाई केही भन्न चाहनुहुन्छ ?
अधिकार मागेर पाइँदैन खोसेर लिने हो । त्यसमा आम महिला दिदीबहिनीहरुलाई आह्वान गर्नछु । अर्को कुरा नेपालको संविधानले पनि महिलाका अधिकारलाई सुनिश्चित गरेको अवस्था हो । मुलुक संघात्मक अभ्यासमा गइसकेको अवस्थामा अब स्थानीय तहदेखि नै अधिकारको वकालत गर्ने अवस्था हो । त्यसमा अब आधा आकाश होइन, त्यो भन्दा पनि बढी स्पेस महिलाले लिनुर्छ भन्ने मेरो मान्यता हो । त्यसका लागि महिला जागरण अतिआवश्यक छ । जुझारु महिलाहरुले राजनीतिमा आउन मैले यसै पत्रिकामार्फत् आह्वान गर्नछु । मलाई यस पत्रिकामार्फत् केही कुरा राख्ने अवसर दिनुभएकोमा गोरक्ष दैनिक पत्रिका परिवारलाई पनि विशेष धन्यवाद दिन चाहन्छु