नारायणप्रसाद श्रेष्ठ
मानिस चाहन्छन् उसको हरेक गतिशीलतामा समझदारी र सद्भाव प्रवाह भइरहोस् । विचारधाराहरु गंगाजल समान पवित्र धारमा बगिरहोस् । एकअर्काप्रति विश्वास र भरोसा रहोस् । हेर्ने दृष्टिकोणमा र गर्ने व्यवहारमा आदर्शता झल्किरहोस् । मन, वचन र कर्ममा शुद्धता आई बगैचाको फूलसरी सुवास फैलिइरहोस् । चर्म दृष्टिले देखिने सबै बस्तुहरुमा सुन्दरता प्रष्टिरहोस् ।
प्रत्येक दिन उदाउँदो सूर्यको रोशनीसँगै कर्ममा नयाँपन देखा परिरहोस् । प्रेम र स्नेहमा आधारित जीवनचक्र बनोस्, शान्ति र सद्भाव उसको हरेक इच्छामा समाहित होस् । यसरी मानव इच्छा जाहेर भइरहेको हुन्छ । तर पनि उसले यसको गन्तव्य कहाँ र कसरी शुरु हुँदैछ त्यसको प्राप्ति गर्न सकेको हुँदैन ।
उल्लेखित सबै इच्छा प्राप्तिको एकमात्र सरल मार्ग शान्ति र सद्भाव हो भन्ने कुरो उसले बुझिसकेको हुँदैन । विचार र इच्छा प्राप्तिप्रति मात्र ऊ भड्किरहेको देखिन्छ । शान्ति र सद्भावले जीवनको परिवर्तित क्षणको प्रतिनिधित्व गर्दै अघि बढेको हुन्छ भन्ने थाहा पाउने चेष्टासमेत नगरी मानिस शान्ति, शान्ति भनी विभिन्न किसिमले आफूलाई विचलित बनाइरहेको पाइन्छ ।
शान्तिको खोजीमा यत्रतत्र भौंतारिइरहेको हुन्छ । विभिन्न मठ-मन्दिर, गिर्जाघरलगायत स्थानमा शान्तिको खोजीको लागि दौडधूप गरिरहेका हुन्छन् । आफ्नो र विरानो भन्दै सामाजिक उतार-चढाव आफै गराइरहेका हुन्छन् र तछाड-मछाड गर्दै एकपछि अर्को चुनौतीको सामना गरिरहेका हुन्छन् ।
त्यतिमात्र होइन, एकले अर्कालाई पछार्ने, उछिन्ने कर्महरु पनि गरिरहेका हुन्छन् । कुन कर्म गर्दा शान्तिको एहसास हुन्छ त्यसतिर ध्यान नदिई प्राकृतिक सत्यलाई दास बनाई भौतिक विलासी एवं आडम्बरयुक्त जीवनशैलीभित्र शान्ति खोजिरहेको हुन्छ । तर पनि शान्तिको उद्गमस्थल कहाँ हो ? भेटाइरहेको हुँदैन । बिहान उठेदेखि राति अबेरसम्म शान्तिको खोजीमा विविध विचार र कर्महरु भइरहेका हुन्छन् ।
मोह र आशक्तिको जालमा फस्दै भौतिक आडम्बरलाई अंगाली मानवीय आचरण भुलिरहेका हुन्छन् । तर पनि निश्चित गन्तव्यको अभावमा छट्पटिँदै गरेको अवस्था पनि देखिन्छ । तसर्थ यसको छिनोफानो मानिस स्वयंले वर्तमानमा खोज्न जरुरी छ ।
शान्ति र सद्भाव मानव इच्छा र चाहना हो । यो हरहमेसा मानव चेतनामा रहिरहेको हुन्छ । शान्ति जहाँ हुन्छ, त्यहाँ आनन्द हुन्छ । आनन्द जहाँ हुन्छ, त्यहाँ खुसी हुन्छ । जहाँ खुसी हुन्छ त्यहाँ चुनौती र अवसर तथा सम्भावना पनि त्यत्तिकै हुन्छ । जहाँ अवसर हुन्छ त्यहाँ आवश्यकताको महसुस हुन्छ । जसले सिर्जनाका नयाँ अंकुरहरु पलाउने अवस्था हुन्छ ।
यो सत्य कुरा मानिसको दिल, दिमागमा नआई भौतिक विलासितातर्फ मोडिँदै शान्ति र आदर्श समाज निर्माण गर्न खोजिरहेको अवस्था देखिन्छ । मेरो जन्मको सार्थकता के हो ? मैले निर्वाह गर्नुपर्ने कर्तव्य के हो ? त्यसतर्फ सोच नगई भौतिक विलासितातिर ध्यान आकृष्ट हुँदैछ । म कुनै अदृश्य शक्तिबाट परिचालित छु भनी त्यतातिर ध्यान नदिएको पाइन्छ ।
केवल कोरा कल्पना र चर्मदृष्टिले देखेको सत्यमात्र सुख प्राप्ति हो र ? त्यही सुख नै शान्तिको मार्ग हो भनी मानिस आफूलाई चिन्तित बनाइरहेको पनि देखिन्छ । भौतिक विलासिताभित्र देह अभिमानी भई भौतिक आडम्बरले सिंगारिएको वस्तु प्राप्तिप्रतिको अभिलाषालाई शान्तिको संज्ञा दिई मानिस स्वयं रणभुल्लमा परिरहेको छ ।
साधु-सन्तले मनलाई अविचलित बनाई गरेको अभ्यास र संकल्पलाई ढोंगको उपमा दिई धन-दौतल र विलासी जीवन जिउनु नै शान्तिको प्राप्ति गर्नु हो भनी यसैमा मानिस रमाइरहेका छन् । खुसी र र सुख नै शान्ति हो भन्ने अभिलाषा जगाई आफ्नो परिवेश समेतलाई मोहरुपी जालोमा फसाइरहेका छन् । वास्तविकताभन्दा कृतिमतालाई अंगाली जीवनलाई अर्पण गरिरहेका छन् । नाम, दाम र विलासितालाई जीवनको प्राप्तिको उद्देश्य भनी चलायमान गराइरहेका छन् ।
भन्छन्- शान्ति खोजमा छ, नयाँ-नयाँ विचार र सद्भावमा छ, प्रतिष्ठा र इमान्दारितामा छ । फेरि आफूले आफैलाई प्रश्न गरिरहेका छन्- मैले त यो सबै पहिले नै गरिसकेँ । सुख, सम्पन्नता र ऐश्वर्यसमेत हासिल गरिसकेँ तर पनि शान्ति छैन । कहीँ न कतै अशान्तिको ज्वारभाटाले भित्रभित्रै जलाइरहेको छ ।
यो प्राप्त गरेपछि सुख हुन्छ कि ऊ प्राप्त गरेपछि शान्ति हुन्छ कि भनी भागदौड गर्यो, उपलब्धि पनि भयो तर पनि आकांक्षा झन् बढ्दै गयो तर पनि शान्ति भएन । भौतिक विज्ञानको सत्यभित्र सिर्जना हुनुपर्ने आधुनिक प्रवृत्ति र आविष्कार पनि भए तर पनि एकपछि अर्को जटिलता थपिँदै गयो । तर आत्मसन्तुष्टि हुन सकेन । तसर्थ शान्ति के हो ? यो कसरी प्राप्त हुन्छ ? त्यसतर्फ लागौं ।
मानव सोच र चिन्तन गिलो बाटोसरी नरम र कमलो हुन्छ । यो जता लग्यो उतै दौडिरहन्छ । जसरी समयले आफ्नो गतिलाई गतिशील बनाइरहेको हुन्छ त्यसरी नै सोच र चिन्तन पनि बगिरहेको हुन्छ । कहिले राम्रो, कहिले नराम्रो गरी एकपछि अर्को गर्दै सुख-दुःख र दुःख-सुख हुँदै गुज्रिरहेको हुन्छ ।
प्राप्ति नै जीवनको उद्देश्य हो र ? त्यहाँ नै शान्ति र सद्भाव छ भनी त्यसैमा मलजल दिइरहेको अवस्था पनि छ । तसर्थ यस कुरालाई उत्तम बनाउने भनेको सहज उत्तम संस्कार हो । जहाँ उत्तम संस्कार हुन्छ, त्यहाँ सकारात्मक शक्ति सञ्चय हुन पुग्दछ । र गिलो माटोले त्यही रुप धारण गर्नेतिर आफ्नो ध्यान आकृष्ट गर्न पुग्दछ ।
जहाँको संस्कार र व्यवहार नरम र सदावहार गतिशील हुन्छ त्यहाँको जीवनपद्धति सरल र समृद्धितिर गतिशील भइरहेको हुन्छ । जसरी गिलो माटोलाई आकार दिई कुमाले दाइले त्यसलाई अग्निको तापमा जलाई भाँडोलाई बलियो र मजबुत बनाएको हुन्छ, त्यसरी नै संस्कार र त्यसबाट उत्पन्न हुने शक्तिले मानिसलाई अविचलित र दृढ संकल्परत बनाउँछ ।
त्यसैले भड्किरहने मानवीय चञ्चल मनलाई दृढ र निश्चिन्त बनाउन सत्संग संस्कारलाई परिमार्जित गरी मनलाई एकाग्र बनाउन सक्नुपर्दछ । जहाँ सन्तोष छ, त्यहाँ आनन्द छ । जहाँ आनन्द छ त्यहाँ शान्ति छ । त्यसैले शान्तिको उद्गमस्थल मन हो भनिन्छ ।
जहाँ मनरुपी गंगा बगिरहन्छ, त्यहाँ उर्लँदो खहरेले पनि केही गर्न सक्दैन । न त भौतिक सुख, सुविधा र विलासिताले त्यसलाई प्रभाव पार्न सक्छ । त्यसैले मानव हृदयभित्रको मनलाई पवित्र गराई श्रद्धा र विश्वासका साथ विधिको विधानअनुसार मनलाई गतिशीलता दिनुपर्दछ । मनभित्र लुकेको अवाञ्छित गतिविधिलाई हटाई श्रद्धा र विश्वासरुपी पवित्र मनको दैलो उघार्नुपर्दछ ।
विधिको विधान वैज्ञानिक रुप हो । यहाँ आध्यात्मिक सत्य र मनको चाहना लुकेको हुन्छ । यस कुरालाई बुझी आफूले निर्वाह गर्ने कर्म र व्यवहार पनि परिस्कृत गरी मन चंगा र कठौतीमा गंगा भनी मनलाई बहकिन नदिई एकाग्र बनाउनुपर्दछ । समयको गतिसँगै गतिशील रहने मन हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ । फरक यसलाई प्रयोग गर्ने विधि निःस्वार्थ भयो वा भएन ? स्वार्थरहित भावनाले सहज गति दिन र यसको वास्तविकता जान्न सक्नुपर्दछ ।
साधनाको कुरा जहाँ आउँछ त्यहाँ विधिपूर्वक गरिनुपर्दछ । विधि र विधानअनुरुप गतिशील हुने मनको पवित्र धारलाई बुझी भौतिक आडम्बरभित्र हुर्केको चञ्चल मनलाई यथार्थ सत्यभित्र पहिचान गरी गतिशील बनाउनुपर्दछ । स्वच्छ र पवित्र मनबाट उब्जिएको विचारलाई बुद्धि र विवेकले परिमार्जित गर्दै जडरुपी अभिमानलाई त्यागी परमहंशस्वरुप जीवनलाई गति दिनुपर्दछ । यस कुरालाई सबैले गम्भीर भएर बुझ्न जरुरी छ । वर्तमान यही खोजिरहेछ ।