बेसले दियो स्वास्थ्य सामग्री
दाङ, ४ साउन । व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्थाले घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बेसले आइतवार घोराही उपमहानगरपालिकामा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
बेसका कार्यकारी निर्देशक चूर्ण चौधरीले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलाई सामग्री हस्तान्तरण गरेका हुन् । उपमहानगरपालिकालाई नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण तथा रोकथाम गर्न सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री प्रदान गरिएको बेसका कार्यकारी निर्देशक चूर्ण चौधरीले बताए ।
बेसले घोराही उपमहानगरपालिकालाई ६ लाख ८८ हजार २ सय ९१ रुपैयाँ मूल्य बराबरको सामग्री प्रदान गरेको हो । पिपिई, ग्लोप्स पञ्जा, सेनिटाइजर, सर्जिकल मास्क, मञ्जन ब्रस, स्यानिटरी प्याडलगायतका सामग्री प्रदान गरिएको हो । सामग्री ग्रहण गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरवासीलाई सुरक्षित बनाउन सामग्रीले सहयोग पुग्ने बताए । सबैको सहयोगबाट नै महामारीविरुद्धमा लडन सफल भइने उनको भनाइ थियो ।
तुलसीपुरलाई पनि स्वास्थ्य सामग्री
ब्याकवार्ड सोसाइटी एजुकेशन बेसले तुलसीपुर उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड–१९ का कारण लकडाउनको समयमा क्वारेन्टाइनमा आवश्यक पर्ने सामग्री वितरण गरिएको हो ।
बेसका कार्यक्रम संयोजक चूर्णबहादुर चौधरीका अनुसार सेनिटाइजर, पिपिई, टावेल, सावुन, भिटिएम, स्यानिटरी प्याडलगायतका क्वारेन्टाइनमा बस्दा चाहिने अत्यावश्यक सामग्री वितरण गरिएको हो । ‘विपद्को बेलामा हामी सबैको दायित्व सहयोग गर्नु हो’, कार्यक्रम संयोजक चौधरीले भने ।
तुलसीपुर उपमहानगरपालिकालाई अत्यावश्यक सामग्री वितरण गरिएको भन्दै कार्यवाहक नगरप्रमुख माया शर्माले खुसी व्यक्त गरिन् । ‘विपद्बाट जनतालाई जोगाउने दायित्व सबैको भएकाले यहाँहरुले पनि दायित्व पूरा गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं’, शर्माले बताइन् ।
