Goraksha

National Daily

रोल्पा सिमेन्टमा बेथिति : भान्से महिलालाई यौन दुव्र्यवहार, माल बोक्न सिन्डीकेट

खेमराज रिजाल
कोइला (रोल्पा), ३१ असार । स्थायित्वको अभावले पटक–पटक मालिक फेरिँदै किनबेच भइरहने रोल्पा सिमेन्टमा पछिल्लो समयमा बेथिति देखिएको छ । स्थानीयबासीहरुसँग भएका स्थानीय रोजगारी र वातावरणीय प्रदूषण न्यूनीकरणमा शून्य भूमिका निर्वाह गर्दै आएको रोल्पा सिमेन्ट अहिले आफ्नै कारखानाका अधिकारीलाई भात पकाउने भान्सेलाई यौन दुचाचार गर्नेदेखि माल बोक्न सिन्डीकेटसमेत लाद्न थालेको छ । पीडित स्थानीयहरुले सिमेन्ट उद्योग प्राङ्गणमै पत्रकार सम्मेलन गरिरहँदा उद्योगका आधिकारिक व्यक्तिहरु पत्रकारसामु खुल्न चाहेनन् ।

त्यहीँकै एक स्थानीय महिलाले आफू उद्योगका जिएमबाट यौन दुव्यर्वहारसँगै हातपात समेत भएको पत्रकारसामु बताइरहँदा उद्योग सम्वद्ध अधिकारीहरु कोही पनि पत्रकारसामु बोल्न चाहेनन् । ती स्थानीय महिलालाई भान्सामा नियुक्ति गरेको ६ दिनमै आफूलाई यौन दुराचारसहित हातपातसमेत भएको ती महिलाले पत्रकार सम्मेलनमा बताइन् ।

यो विषयमा आफूले स्थानिय प्रहरी चौकीमा उजुरी दिए पनि कुनै सुनुवाई नभएको बताइन् । यौनजन्य अपराधको किटानी जाहेरी लिने र मुद्दा प्रक्रियामा जाने अधिकार आफूलाई नभएको भन्दै खुल्ला उजुरीलाई इलाका प्रहरी कार्यालय होलेरीमा पठाइने स्थानीय प्रहरी चौकीले बताएको छ । तर ती पीडित पहिलाले न्याय पाउनुको साटो उनलाई भान्सेको जागिरबाटै कम्पनीले बर्खास्त गरेको छ ।

रोल्पा सिमेन्ट उद्योग प्रालिका महाप्रबन्धक रविलालकान्त कर्णमाथि उद्योगमै कार्यरत ती महिलाले आफूमाथि यौन दुराचारसँगै हातपातसमेत भएको पत्रकारसामु भनिन् । ‘मलाई रोजगारी लगाएको नाममा उद्योगका जिएमले ममाथि हातपात गरे, तर प्रहरी चौकीमा उजुरी दिँदा पनि मैले न्याय पाउन सकेको अवस्था छैन’, पत्रकार सम्मेलनमा ती महिलाले भनिन् । ‘हामीलाई लुट्न आएको हो कि उद्योग हाम्रो समृद्धिका लागि आएको हो । उसले मलाई जवर्जस्ती हातपात ग¥यो’, उनले भनिन्– ‘अनि म फुत्किएर रुँदै चिच्याउँदै गुहार मागेपछि उसले मलाई छोडेर गयो ।’

घटनाबारे पीडित महिलाले त्रिवेणी–३ स्थित अस्थायी प्रहरी पोष्ट कोइलामा जाहेरी दिएको बताइन् । पोष्टका प्रमुख ईश्वरीप्रसाद भण्डारीले दुई दिनअगाडि पीडित महिला आफन्तसहित चौकीमा आएर आफूमाथि उद्योगका महाप्रवन्धक कर्णले दुव्र्यवहार तथा जवर्जस्ती बलात्कारको प्रयास गरेको भन्ने ठाडो उजुरी दिएको जानकारी दिए ।

‘हामीलाई यहाँ लिखित मुद्दा बुझ्ने अख्तियारी छैन’, सई भण्डारीले भने– ‘त्यही भएर मैले उहाँलाई इलाका प्रहरी कार्यालय होलेरीमा गएर लिखित जाहेरी दिन सल्लाह दिएर पठाएको हुँ ।’ सई भण्डारीले महिलामाथि दुव्र्यवहारको आरोप खेपेका उद्योगका महाप्रवन्धक कर्णलाई आफूले फोन गरेर बुझ्न खोज्दा आफू केही दिन पहिले दाङमा आएको तथा प्रेसरको बिरामी भएको हुँदा उपचार गराइरहेको भन्ने जानकारी दिएको बताए । अभियोगबारे बुझ्न खोज्दा महाप्रवन्धक कर्ण फोन सम्पर्कमा आउन चाहेनन् ।

पीडित महिलाले आफूले जाहेरी दिन खोज्दा पनि प्रहरीले त्यो जाहेरी बुझ्न नमानेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले दोषीलाई जोगाउन षड्यन्त्र भइरहेको आरोप लगाइन् ।

यसैबीच स्थानीय सर्वसाधारणले दोषी महाप्रवन्धक कर्णमाथि कारबाहीको माग गर्दै मंगलवार उद्योग परिसरमा नारावाजी गरेका छन् । तर उद्योगले केही रेस्पोन्स गरेको छैन । भारतीय श्रमिकहरुलाई खोजी–खोजी काममा लगाइएको छ, तर सो उद्योगले लकडाउनकै अवधिमा कम्तीमा १७ जना स्थानीय कामदारलाई उद्योगबाट हटाएको छ ।

यसअघि स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने भनी भएको सम्झौता पनि उद्योगले लत्याएको स्थानीयबासी हरिशचन्द्र खड्काले पत्रकारहरुमाझ बताए । ‘मलगायत १७ जना स्थानीय रोजगारीबाट निकालियौं, कम्पनीले कारणै नदिई हामीलाई कम्पनीबाट निकाल्यो’, हरिशले पत्रकारमाझ भने ।

स्थानीयबासीहरुले सिमेन्ट कारखाना निहीत राजनीतिक व्यक्तिको आडमा स्थानीयबासीलाई मार्नेगरी चलिरहेको भन्दै आफ्ना यसअघि भएका मागहरु सम्बोधन नगरे तालाबन्दीको समेत चेतावनी दिएका छन् । तर पत्रकार सम्मेलन भएको दोस्रो दिनसम्म पनि उद्योग सम्वद्ध अधिकारीहरुले फोनमा समेत सम्पर्कमा आउन चाहेका छैनन् ।

माल ढुवानीमा सिन्डीकेट
यसैबीच रोल्पा सिमेन्टले सिमेन्ट, क्लिङ्कर तथा चुनढुंगा सप्लाईमा समेत सिन्डीकेट लागू गरेपछि स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् । कम्पनी सम्वद्ध अधिकारीले स्थानीयबासीलाई टिप्पर किन्न लगाएर काम लगाउने आश्वासन दिए पनि घरखेत बैंकमा राखेर टिप्पर किनेका व्यवसायीहरु समेत कामविहीन बनेका छन् ।

कम्पनीकै आग्रहमा आफूले टिप्पर खरिद गरी स्थानीय तहमै रोजगारी बढाउने भने पनि कम्पनीले पछिल्लो समयमा बेवास्ता गरेको बताए ।

सो कम्पनीबाट माल बोक्न पुगेका टिप्पर चालक कृष्ण रावत विगत दश दिनदेखि कम्पनीकै गेटमा रहेका छन् । तर कम्पनीले माल दिएको छैन । कम्पनी सम्बद्ध अधिकारीले पुन कन्स्ट्रक्सनमार्फत आएमात्र माल दिने बताएपछि १० दिनदेखि उनी कारखाना गेटमै कुरिरहेका छन् ।

पुन कन्स्ट्रक्सन वर्तमान सरकारका मन्त्री बर्षमान पुनका निकट भएको पनि स्थानीयबासीले बताएका छन् । सिमेन्ट कम्पनीले पनि लाइम स्टोन डिस्प्याचको सम्झौता काठमाडौंमै पुन कन्स्ट्रक्सनसँग भएको भन्दै पुन कन्स्ट्रक्सन नै आधिकारिक माल सप्लायर्स भएको बताएको छ ।

‘मलाई थाहा छ, लाइमस्टोन डिस्प्याचको सम्झौता काठमाडौंकै हेडक्वाटरमार्फत भएको हो, स्थानीय कन्स्ट्रक्सन आए पुनर्विचार गर्न पनि सकिन्छ’, कम्पनीका प्रशासन प्रमुख टेकबहादुर गुरुङले गोरक्षलाई फोनमा भने । अरु विषय हेडक्वाटरमा बुझ्न पनि उनको आग्रह थियो । तर स्थानीयबासीहरुले नै अर्को कन्स्ट्रक्सनमार्फत ढुवानीको आग्रह गर्दा पनि कम्पनीसम्बद्ध अधिकारीहरुले कुनै रेस्पोन्स गरेका छैनन् ।

यसै प्रसङ्गमा रोल्पा सिमेन्ट उद्योग संघर्ष समितिले मंगलवार उद्योग परिसरमै पत्रकार सम्मेलन गरी आफ्ना यसअघि भएका सम्झौता कार्यान्वयनका लागि पुनः आग्रह गरेको छ । कम्पनी परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका अध्यक्ष अर्जुनकुमार वलीले आफूहरुका माग सम्बोधन नभए कम्पनीमा तालाबन्दी गर्न स्थानीयहरु बाध्य हुने चेतावनी दिए ।

‘पूर्व सहमतिमा भएका शिक्षा, स्वास्थ्य, सडक तथा स्थानीय समृद्धिका विषयमा कम्पनीले सम्बोधन नगरे उद्योगमै तालाबन्दी गर्न बाध्य हुनेछौं’, वलीले भने । आफूहरुले वातावरणीय विनासदेखि सर्वस्व गुमाएर मुलुककै समृद्धिका लागि उद्योग सञ्चालनमा सहकार्य गरिरहेको अवस्थामा लाइमस्टोन बोक्नका लागि पनि गरिएको सिन्डीकेटलाई अन्त्य गर्न पनि जोडदार माग गरेको बताए ।

पत्रकार सम्मेलनमा सयभन्दा बढी स्थानीय पीडित युवाहरुको सहभागिता रहेको थियो । तर आफ्नै प्राङ्गणमा विरोधसभा भइरहँदा उद्योगका तर्फबाट कुनै पनि आधिकारिक उपस्थिति र अभिव्यक्ति दिन कोही पनि उपस्थित भएनन् ।