Goraksha

National Daily

बिप्लवको नाममा चन्दा माग्ने दुई जना पक्राउ

दाङ,३१ असार । दाङमा आठ लाख बढि रकम चन्दा मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पश्चिम दाङको बबई गाँउपालिका वडा नम्वर ५ हापुरे बजारमा गौतम टे«डर्स एण्ड सप्लायर्स सञ्चालन गर्ने २६ बर्षीय ललित गौतमसँग ८ लाख ६५ हजार रुपैया चन्दा माग्ने हापुरेकै दुई व्यक्तिलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा बबई गाउँपालिका–५ निवासी १९ बर्षीय केवल भन्ने कृष्ण वली र २८ बर्षीय भाष्कर वली रहेका छन् । प्रहरीले घट्नास्थलमा प्रयोग भएको एक थान सादा मोवाईल सेट र अपराधमा प्रयोग गरिएको सिमसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिहरुलाई दाङ देउखुरी अदालतबाट म्यादथप गरि मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ (अपराधिक लाभ) अन्तर्गत मुद्धा दर्ता गरि अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले असार २४ गते बिप्लव पार्टीको नामबाट ८ लाख ६५ हजार तिन दिनभित्र दिन माग गर्दै घरको मुल ढोकामा पत्र छोडेका थिए । तीन दिनभित्र उक्त रकम नपाएपछि उनीहरुले २६ गते राती ११ बजेतिर ललीत गौतमका बुबा निमाकान्त गौतमलाई फोन गरी माग वमोजिमको रकम दिन धम्की दिदै नदिए मारिदिने धम्की समेत दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सिंहले जानकारी दिए ।

‘उनीहरुले पटक पटक फोन गरी बिभिन्न प्रकारका धम्की दिने र नदि मार्नेसम्मको धम्की दिएका रहिछन’–उनले भने–‘आफु र परिवारको सुरक्षाको लागी उक्त कुरा बाहिर नल्याई ५० हजार चन्दा दिन समेत तयार भएका रहिछन, तर उनीहरुले पचास हजार कम भएको भन्दै लग्न नमानेको देखिन्छ ।’ रकममा बार्गेनिङ भैरहेको गोप्य सूचना प्रहरीले थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय दाङ तथा ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले अनुसन्धानका क्रममा उनीहरुलाई असार २९ गते पक्राउ गरेको समेत जानकारी दिएका छन्