लिलाधर वली
दाङ, ३० असार । विदेशबाट आउने मानिसहरुको कमीसँगै सरकारले चौध दिन क्वारेन्टाइनमा बसेपछि अनिवार्य घर पठाउने नीति लिएपछि क्वारेन्टाइन खाली हुँदै गएका छन् । एक महिना अघिसम्म भरिभराउ हुने क्वारेन्टाइनहरु अहिले खाली–खाली छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दाङमा २ सय ३ वटा क्वारेन्टाइनमध्ये १ सय ७४ वटा क्वारेन्टाइन खाली भएका छन् ।
बंगलाचुलीमा रहेका २९ वटै क्वारेन्टाइनहरु खाली भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत विश्वप्रकाश अर्यालले बताए ।
त्यसैगरी जिल्लामै सबैभन्दा धेरै क्वारेन्टाइन भएको घोराही उपमहानगरपालिकामा पनि अहिले ९ वटा मात्र क्वारेन्टाइनहरु छन् । घोराहीमा ७५ वटा विद्यालयमा बनाइएका क्वारेन्टाइनहरु खाली भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा इन्चार्ज विकेश रेग्मीले बताए ।
‘भारतबाट आउने मानिसहरु क्वारेन्टाइनमा बस्नुभएको छ, तेस्रो मुलुकबाट आउने मानिसहरु होम क्वारेन्टाइनमा बस्ने गरी घरमै जानुभएको छ’, रेग्मीले भने– ‘विदेशबाट आउने मानिसहरु परीक्षण गरेर आउने भएका कारण घरमै जाने गरेका छन् ।’ उनका अनुसार घोराहीमा अहिले ९ वटा विद्यालयमा मात्र क्वारेन्टाइन छन् ।
घोराहीमा रहेको रात्रि प्राथमिक विद्यालय सुर्केडाँगी, वडा नं. ५ को माध्यमिक विद्यालय दलजितपुर र हरिओम प्राथमिक विद्यालय नैनवार, ६ को विन्दबासिनी भवन, ७ को मावि सौडियार र प्राथमिक विद्यालय शुक्रवार, वडा नं. १० को मावि लमडरुवा, १२ को हापुर मावि र १५ को पद्मोदय नमूना माध्यमिक विद्यालयमा मात्रै क्वारेन्टाइनमा छन् ।
त्यसैगरी तुलसीपुर उपमहानगरपालिकामा अब ४ वटा मात्र क्वारेन्टाइनहरु छन् । १३ स्थानमा क्वारेन्टाइन बनाएको तुलसीपुर उपमहानगरपालिकाले बाहिरबाट आउने मानिसहरु कमी भएसँगै क्वारेन्टाइन संख्या घटाएको हो । वडा नं. ५ को माध्यमिक विद्यालय सेन्टर तुलसीपुर, वडा नं. ७ मा रहेको माध्यमिक विद्यालय कालाखोला र संस्कृत माध्यमिक विद्यालय बिजौरीमा क्वारेन्टाइन रहेको छ ।
त्यसैगरी तुलसीपुरकै राप्ती लाइफ केयर अस्पतालमा पनि क्वारेन्टाइन छ । भारतसँगै तेस्रो मुलुकबाट आउने मानिसहरुलाई तुलसीपुर उपमहानगरपालिकाले अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा राख्ने गरेको छ । तुलसीपुरको क्वारेन्टाइनमा १ सय ७७ जना छन् ।
त्यसैगरेर राप्ती गाउँपालिकामा ८ स्थानमा क्वारेन्टाइनहरु छन । भारतबाट मानिसहरु धेरै मात्रमा भित्रिँदा २८ वटासम्म क्वारेन्टाइन सञ्चालन गरेको राप्ती गाउँपालिकाले अहिले घटाएर ८ स्थानमा मात्र सञ्चालन गरेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत अर्यालले जानकारी दिए ।
वडा नं. १ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, २ को आदर्श मावि, ३ को नवज्योति स्कुल, ४ को शंकर मावि पिपरी, ५ को सर्वोदय मावि र जनता मावि, ८ को गोल्डेन फ्यूचर स्कुल र ९ को बाल प्रगति माविमा क्वारेन्टाइन छ ।
गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा २ वटा क्वारेन्टाइन छन् । केन्द्रका अनुसार यसअघि गढवा गाउँपालिकामा १४ र राजपुर गाउँपालिकामा ५ स्थानमा क्वारेन्टाइनहरु थिए । अहिले गढवा गाउँपालिकाको जनता माध्यमिक विद्यालय कालाकाँटे र जनता मावि गढवामा क्वारेन्टाइन छ भने राजपुर गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालय बेला र साधारण माध्यमिक विद्यालय सालभौरीमा क्वारेन्टाइन रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बबई गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकामा १–१ वटा क्वारेन्टाइनहरु छन् । केन्द्रका अनुसार हाल शान्तिनगरको शान्तिपुर माध्यमिक विद्यालय, बबईको मावि पदमपुर र दंगीशरणको सिद्धपृथ्वी माध्यमिक विद्यालयमा क्वारेन्टाइन छन् ।
यसअघि बबईमा ४, दंगीशरणमा २ र शान्तिनगर गाउँपालिको ५ स्थानमा क्वारेन्टाइन सञ्चालनमा थिए । केन्द्रका अनुसार मंगलवारसम्म तुलसीपुर उपमहानगरपालिकामा १ सय ९३ जना, घोराही उपमहानगरपालिकामा २० जना, लमही नगरपालिकामा १० जना, बबई गाउँपालिकामा ५७ जना, गढवा गाउँपालिकामा ३५ जना, राजपुर गाउँपालिकामा १६ जना, राप्ती गाउँपालिकामा १८ जना, दंगीशरणमा २६ जना र शान्तिनगरमा १७ जना गरी ३ सय ९२ जना क्वारेन्टाइनमा छन् ।