Goraksha

National Daily

लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान

लमही, २९ असार । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालन गरिएको लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान गरिएको छ । यो क्यामराबाट आँखा उपचारमा सहयोग पुग्ने छ ।

आँखाको नशाको अवस्था पत्ता लगाउन सजिलो हुने भएकाले आँखा उपचारलाई प्रभावकारी बनाउन सकिने लमही आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर निता सुनामले जानकारी दिइन् । ‘यस उपकरणले बिरामीको आँखामा रगत जमेको, दाग भएको पत्ता लगाउन सकिन्छ, आँखाको एक्सरे गर्ने हो’, उनले भनिन्– ‘रेटिना जाँचको सुविधा थिएन, फन्डस क्यामराले सजिलो बनाएको छ’, उनले भनिन् ।

आँखाको पर्दाको फोटो खिच्ने भएकाले चिकित्सक र बिरामी दुबैले सजिलोसँग तस्बिर हेरेर समस्याको पहिचान गर्न सकिने छ । जिल्लामा यो सुविधा नहुँदा बिरामीहरुलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता थियो । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश ५ को चिकित्सकीय औजार उपकरण खरिदका लागि पुँजीगत अनुदान र लमही आँखा अस्पतालको साझेदारीमा उपकरण खरिद गरिएको हो ।

सोमवार क्यामरा खरिद कार्य सम्पन्नको सामाजिक परिक्षण गरिएको छ । निर्देशनालको २० लाख र लमही आँखा अस्पतालको १५ लाख गरी ३५ लाखको लागतमा फन्डस क्यामरा खरिद गरिएको अस्पतालका बरिष्ठ प्रशासकीय प्रमुख शमशेर थापाले जानकारी दिएका छन् । लकडाउनको अवधिमा क्यामरा खरिद प्रक्रियालाई अघि बढाउन निकै जटिल भए पनि आफूहरुले उपकरण गरिद गरेको बताए ।

नेपाल नेत्रज्योति संघका सचिव तथा क्यामरा खरिद समितिका संयोजक सुरेन्द्र खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख केसीले आँखा उपचारमा लमही आँखा अस्पताल सफल रहेको भन्दै थप नयाँ सेवा विस्तार गरेका भन्दै धन्यवाद व्यक्त गरे ।

‘पहिले हामी आँखा उपचार गर्न कि त रक्षाचौर जानुपथ्र्यो कि त काठमाडौं, अहिले सहज भएको छ’, उनले भने । उनले आँखा अस्पतालको थप सेवा विस्तार गर्न हामी साझेदारी गर्न तयार छौं । कार्यक्रममा नेपाल नेत्रज्योति संघका जिल्ला सभापति एव अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले अस्पताललाई थप सुविधा सम्पन्न गराउन आफूहरु लागेको भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

‘अस्पतालको भौतिक तथा चिकित्सकीय उपकरण खरिदमा सहयोग गर्ने सहयोग गर्ने स्थानीय, प्रदेश सरकारका साथै जन प्रतिनिधिहरुलाई धन्यवाद दिन चाहन्छु यस्तै सहयोग सधै रहने छ’, उनले भने– ‘त्यस्तै संयोजक खड्काले लकडाउनको अवधिमा पनि उपकरण खरिद गर्नमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूहरु अस्पतालको विकास र स्तरोन्नतिमा लागिपरेको बताए ।

कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार लीला शाहले गरेकी थिइन् ।