दीप्तिशिखा चौधरी
दंगीशरण, २९ असार । दंगीशरण गाउँपालिकामा थारु समुदायका १ सय ५४ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको छ । सिकलसेल एनिमिया स्वास्थ्य शिविरमा चेकजाचँका क्रममा उनीहरुलाई सिकलसेल एनिमिया देखा परेको हो ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्र्तगत सिकलसेल एनिमिया स्वास्थ्य शिविरमा ९ सय ११ जना थारु समुदायका नागरिकहरुमा परीक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा सोमबार वडा नं. १ र २ मा १ सय ९६ जनाकोे परीक्षण गरिएकोमा ३६ जनामा पोजेटिभ देखिएको श्रीगाउँ स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट दोर्ण वलीले जानकारी दिएका छन् । दंगीशरणका सातवटै वडामा ९ सय ११ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा १ सय ५४ जनाको सिकलसेल पोजेटिभ देखिएको हो ।
सिकलसेल एनिमिया रोग पत्ता लगाउनका लागि एचवि ईलाक्ट्रोफोरेसीजको परिक्षण गर्नुपर्छ । यसका लागि राप्ती प्रादेशिक अस्पतालमा सिकलसेलको चेकजाँच गरिने भएको छ ।
चेकजाँचका लागि १ हजार शुल्क लागेपनि मुख्यमन्त्री ग्रामिण विकास अन्तर्गतको सिकलसेल एनीमिया स्वास्थ्य परिक्षण कार्यक्रम भएकाले राप्ती प्रादेशिक अस्पतालले निःशुल्क रुपमा चेकजाँच गर्ने भएको दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिएका छन् ।
गाउँपालिकाले राप्ती प्रादेशिक अस्पतालसंग समन्वय गरेर चेकजाचँ हुने भएको हो । सिकलसेल परिक्षणका लागि राप्ती प्रादेशिक अस्पतालले मेसीन संचालनमा ल्याएको छ ।
सिकलसेल के हो ?
सिकलसेल एनिमिया वंशानुगत रुपमा सर्ने रक्तअल्पता सम्बन्धि रोग हो । सिकलसेल एनिमियालाई दुई थरिको नामले चिनिने गरेको राप्ती लाईफ केयर हस्पिटलका फिजीसीयन डा. ज्ञानेन्द्र पाण्डले बताएका छन् । जस मध्य सिकलसेल थ्रेड एउटा हो भने अर्को सिकलसेल डिजिड हो ।
थ्रेड भनेको बाहक भन्ने हुन्छ यसले बंशमा सार्ने मात्र काम गर्छ, यसमा लक्षण केही पनि हुदैन् । सिकलसेल डिजिडबाट भने सर्छ यसमा लक्षण पनि देखा पर्छ । स्वस्थ मानिसको शरीरमा हुने रक्तकोष गोलो हुन्छ तर सिकल सेल एनिमियाका विरामीहरुको रक्तकोष हँसिया आकारको हुने पाण्डयले बताए ।
‘यो रोग लागेमा स्वास फेर्न गाह्रो हुने र रक्तसंचार कम हुने र दुखाई बढ्ने हुन्छ’–फिजिसियन पाण्डेयले भने–‘ जसले गर्दा छाती दुख्ने, खुट्टाहरुमा घाउ हुने लक्षण देखा पर्ने गर्दछ ।’ उनका अनुसार यो रोग हेमोग्लोविनको ईफेक्टबाट हुन्छ ।