प्रकोप व्यवस्थापनमा स्थानीय सरकारको भूमिका

बाढीपहिरोले यो वर्ष पनि धनजनको क्षति पु¥याइरहेको छ । समयमा वर्षा, धान खेतीलाई त्यसले पारेको सकारात्मक असरका कुराहरू गरिरहँदा वर्षाका कारण ज्यान समेत गुमाउनुपरेका दुःखद् खबरहरू हामीले सुन्न सुनाउन परिरहेको छ । यो हाम्रो नियतिजस्तो भइसकेको छ । दाङकै सन्दर्भमा पनि पुल बन्न नसकेका खोलाहरूले शुक्रवार यातायातका साधनहरूलाई रोक्यो । देशभर २८ जनाको ज्यान गएको खबरहरू आइरहेका छन् । यी घटनाहरू नियन्त्रणका सम्बन्धमा पूर्व तयारी गर्न चुक्दा क्षति व्यहोर्न वाध्य हुन्छौँ । यस्तो प्रकोपबाट पूर्व तयारीले सम्पूर्ण रूपमै सुरक्षित राखिहाल्छ भन्ने पनि छैन । तर, सतर्कताले धेरै सम्भाव्य क्षतिलाई रोक्न भने सकिन्छ ।

स्थानीय सरकारको भूमिका प्रकोपको जोखिमबाट नागरिकलाई जोगाउने सन्दर्भमा महत्वपूर्ण हुन्छ । ‘घर नजिकैको सरकार’को रूपमा स्थानीय सरकारलाई परिभाषित गर्नुको कारण पनि यस्तै अवस्थामा पहिलो अपेक्षा उसैसँग राखिनुका कारणले हो । तत्काल भूमिका खेल्नका लगि त्यो सरकार पनि तयार र सक्षम भएकै हुन्छ । अहिले कोभिड–१९ नियन्त्रणमा पनि स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अप्ठ्यारोमा स्थानीय सरकारको बलियो साथ हुन सक्दोरहेछ भन्ने कुरालाई यो सन्दर्भमा स्थानीय तहले पुनरपुष्टि गरिदिएको छ । बरु प्रदेश सरकार यो बेलामा अलमलिएको अथवा भूमिकाविहीन भएको जस्तो देखियो । स्थानीय सरकारको यो अवस्थाको अनुभूति नागरिकले गर्न पाइरहनु पर्दछ । अहिले बाढीपहिरोको चुनौतीको सामना गर्नु परिरहेको सन्दर्भमा पनि स्थानीय सरकारसँग नागरिकको अपेक्षा बढी हुन्छ । पूर्व तयारी, उद्धार र पुनःस्थापनासमेतमा पहिलो अपेक्षा स्थानीय सरकारसँग हुने गर्दछ । यो प्रक्रियामा सीमित स्रोतसाधनको अधिक्तम प्रयोग गर्दै र सबै प्रक्रियामा नागरिकलाई जोड्ने काम स्थानीय सरकारले गर्न सक्दछ ।

नागरिकलाई नीति निर्माणदेखि स्रोत साधनको परिचालनका सन्दर्ममा समेत जोड्न सक्ने सम्भावना अथवा अवसर स्थानीय सरकारलाई मात्र हुन्छ । प्रदेश सरकार र संघीय सरकारलाई यो सुविधा हुँदैन । नागरिकसँगको सहकार्यले छिटो, मितव्ययी रूपमा, कम विवादित भएर, व्यावहारिक रूपमा प्राथमिकता निर्धारण गरेर योजना सम्पन्न गर्न सकिन्छ । बाढी पहिरोको सन्दर्भमा पूर्व तयारीका सन्दर्भमा पनि नागरिकसँग सहकार्य गर्दै काम थाल्न स्थानीय सरकारले विलम्ब गर्नु हुँदैन । सँगसँगै उद्धारका लागि सम्पूर्ण रूपमा तयारी अवस्थामा बस्नुपर्ने पनि हुन्छ । घटना घटिसक्यो भने उद्धारका सामग्री खोज्ने कुरा अव्यावहारिक हो । त्यो अवस्थामा झनै क्षतिको खतरा हुन्छ । यसतर्फ समयमै योजना बनाएर बाढीपहिरो जस्ता प्रकोपबाट हुने क्षतिलाई कम गर्न स्थानीय सरकारको अग्रसरता अझ प्रभावकारी देखियोस् ।