असल चरित्र निर्माणका लागि भुमिका खेलौँः मुख्यमन्त्री पोख्रेल
लिलाधर वली
दाङ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले समाज विकासका लागि असल चरित्र निर्माण गर्नेतर्फ सबैको भूमिका हुनपर्ने बताएका छन् । दाङको घोराहीमा बन्न थालेको ब्रह्माकुमारीज मधुवन आध्यामिक पुनर्जागरण केन्द्रको शनिवार घोराहीमा शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो चरित्र निर्माण गर्न आध्यमिक शिक्षाले पनि योगदान पु¥याउन सक्ने बताए । ‘नैतिक चरित्र निर्माणको आधार आध्यात्मिक शिक्षा पनि हो, तर यही मात्र सम्पूर्ण हैन’– मुख्यमन्त्री पोख्रेलले भने–‘पुनर्जागरण केन्द्रले असल चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने मेरो विश्वास छ ।’ उनले समाज विकास क्रममा रहेको र पुराना मान्यताहरु बदलिएको र नयाँ मान्यताहरु स्थापित हुन नसक्दा समाज खलबलिएका भन्दै खलबलिएको समाजलाई सही मार्गमा ल्याउनका लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।
मुख्यमन्त्री पोख्रेलले राजनीतिक, आर्थिक र सामाजिक रुपमा देशले धेरै परिवर्तन र उपलब्धिहरु हासिल गरे पनि सकारात्मक सोचको विकास नहुँदा मानिसहरुले नकारात्मक टीकाटिप्पणी धेरै गर्ने गरेको बताए । ‘राजनीतिक परिवर्तनसँगै देशमा सकारात्मक परिवर्तनका कार्यहरु भइरहेका छन्’–उनले भने–‘तर कतिपय मानिसहरु सकारात्मक कार्यबाट सन्तुष्ट हुनसकेका छैनन्, जसका कारण टीकाटिप्पणी गरिरहेका छन् ।’ दाङमा सामाजिक रुपमा आध्यामिक पुनर्जागरण केन्द्र निर्माण हुनु राम्रो भएको भन्दै यसलाई सामाजिक रुपमा अपनत्व हुने गरी निर्माण हुनुपर्ने बताए । ‘सामाजिक योगदान पु¥याउने उद्देश्यले पुनर्जागरण केन्द्र निर्माण हुँदैछ, यो एकदम राम्रो काम हो’–मुख्यमन्त्री पोख्रेलले भने–‘सामाजिक कार्यका लागि बन्न थालेको भवनलाई सामाजिक रुपमा आर्थिक संकलन गरेर बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’ उनले राज्यको लगानी सामाजिक संस्थामा भन्दा पूर्वाधार विकासमा लगाउनुपर्ने आफ्नो मान्यता रहेको बताए ।
महिलाहरुलाई नेतृत्वमा ल्याउन ओम शान्तिले महत्वपूर्ण भूमिका खेलेको चर्चा पनि उनले गरे । मातृशक्तिलाई उपेक्षित गर्ने नेपाली समाजमा महिलालाई नेतृत्वमा ल्याउनका लागि सकारात्मक भूमिका खेलेको छ’–उनले भने–‘यो राम्रो पक्ष हो ।’ ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग केन्द्र राप्ती प्रमुख गीता न्यौपाने दिदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले दाङको घोराहीमा निर्माण हुन थालेको ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रले दाङको शैक्षिक, आध्यामिक, पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
जिल्लाका सम्पत्तिका रुपमा निर्माण हुन थालेको केन्द्रलाई सफल बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा ब्रह्माकुमारीज नेपालका अध्यक्ष एवं निर्देशक राजयोगिनी ब्रह्मकुमारी परनीता दिदी, ब्रह्माकुमारीज नेपालका उपाध्यक्ष दुर्गा दिदी, ब्रह्मकुमार शिवलाल महतरा, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नेपाल महिला समुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष एवं निर्देशक बिमला योगी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, ब्रह्कुमारिज धनगढीका प्रमुख हिरा दिदीले बढ्दो तनाव र विकृत बन्दै गरेको समाजलाई बदल्न आध्यात्मिक शिक्षा आवश्यक रहेको बताएका थिए । ब्रह्माकुमारीज नेपाल घोराही शाखाकी उर्मिला दिदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ब्रह्माकुमारीज नेपाल राप्तीका सचिव शिवलाल महतराले बह्मकुमारीज मधुवन आध्यमिक पुनर्जागरण केन्द्रका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सहजीकरण ब्रह्मकुमार तथा सूचना प्रचारप्रसार समितिका संयोजक माधव तिमिल्सेनाले गरेका थिए । घोराहीमा बन्न थालेको ब्रह्माकुमारीज मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रको लागनी १५ करोडको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र घोराही शाखाले घोराही उपमहानगरपालिका वडा नं. १५ को मधुवन टोलमा निर्माण हुन थालेको हो । समाजसेवी देवराज पाण्डेले प्रदान गरेको साढे ७ कठ्ठा जमिनमा वहुउपयोगी ध्यान केन्द्र निर्माण हुन थालेको हो । केन्द्रको कूल लागत १५ करोड ४० लाख ५० हजार अनुमानित गरिएको छ । निर्माण हुन थालेको पुनर्जागरण केन्द्रले आध्यात्मिक, शैक्षिक, धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
अत्याधुनिक भवनमा भूमिगत कार पार्किङ, आध्यात्मिक संग्रहालय, आवास निवास, विभिन्न क्षमताका सभा हल र एउटा विशाल अडिटोरियमसमेत रहने छ । त्यस्तै अत्याधुनिक सुबिधा सम्पन्न भवनमा करिव ५ सय ५० क्षमताको सभाहल र करिब २ सय ५० क्षमता भएको आवासीय भवनलगायत संरचना छन् ।
सभाहलसहितको भवन उद्घाटन
यसैबीच मुख्यमन्त्री पोख्रेलले माध्यमिक विद्यालय रझेना घोराहीको सभाहलसहितको भवन उद्घाटन गरेका छन् । प्रदेश सरकारको ४० लाख र विद्यालयको २२ लाख गरी ६२ लाखको लागतमा भवन निर्माण भएको हो । भवनसँगै अत्याधुनिक सभाहल पनि बनाइएको छ । मुख्यमन्त्री पोख्रेलले सन्तानको शिक्षामा ध्यान अभिभावकहरुलाई आग्रह गरे ।
सामुदायिक शिक्षाको गुणस्तर सुधारमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उनले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन गौतमको अध्यक्षमा भएको कार्यक्रममा भवन निर्माण समितिका संयोजक चन्द्रराज पन्त, घोराही १८ का अध्यक्ष भरत अर्याललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपाने, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी, रेडक्रस सभापति नारायणकुमार आचार्यलगायतको सहभागिता थियो । विद्यालयका प्रअ उद्धव न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन शिक्षक लालमणि आचार्यले गरेका थिए
