सहकारी हाक्दै महिलाहरु
अमरराज आचार्य
दाङ । आधा आकाशको नारा चलिरहेकाबेला फुर्सेखालीका महिलाहरु भने पूरै आकाश ढाक्दै महिलामात्रैको सहकारी चलाएका छन् । जसले उनीहरुलाई व्यावसायिकतामा पनि जोडेको छ । त्यही सहकारीबाट ल्याएको सानोनितो सहुलियत ऋणले महिलाहरुलाई व्यवसायउन्मुख पनि गराएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर–१८ गिठेपानी, फुर्सेखालीमा रहेको एकता महिला विकास वहुउद्देश्यीय सहकारी संस्थाले महिलाहरुलाई एकताबद्ध बनाउँदै व्यवसायमा समेत जोड्दै अगाडि बढेको छ । संस्थामा आबद्ध महिलाहरुलाई आय आर्जनतर्फ जोड्दै लगेको हो । महिलाहरुले मात्र सञ्चालन गरेको सहकारी संस्था अहिले जिल्लामै अब्बल सहकारी संस्थाको रुपमा पहिचान बनाएको छ । स्थापनाको समयमा विभिन्न कठिनाइ पार गर्दै अहिले सफल सहकारी भएको हो ।
वि.सं २०५५ साल कार्तिक २४ गते विधिवत रुपमा दर्ता भएर सञ्चालन भएको एकता महिला विकास वहुउद्देश्यीय सहकारी संस्था अहिले महिलाले मात्र सञ्चालन गरेको सफल सहकारीको रुपमा पहिचान बनाएको छ । चौतारामा बसेर ६० जना महिलाले २० रुपैयाँ बचत गर्न सुरु गरेका थिए । संस्थामा हाल करिब ५ सय जना सदस्य रहेको संस्थाका अध्यक्ष रेवा अधिकारीले जानकारी दिइन् । संस्थामा साविक घोराही गरपालिका वडा नम्बर ६ भित्रका महिलाहरु सदस्य रहेका छन् ।
अहिले प्रतिसदस्यले एक सयदेखि २ हजारसम्म बचत गर्ने गरेको अधिकारीले बताइन् । अहिले संस्थाले आफ्नै जग्गा किनेर पक्की भवन समेत निर्माण गरिसकेको छ । विभिन्न सरकारी तथा गैरसहकारी संस्थाको सहयोगमा भवन निर्माण गरिएको संस्थाले जनाएको छ । संस्थाको अहिले ४ कोठा र २ वटा हल गरी ६ वटा पक्की कोठा छन् । संस्था २०६२ सालदेखि आप्mनै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्न सफल भएको थियो । सुरुका ५ वर्षजति चौतारामा बचत उठाउने, बैठक सञ्चालन गर्ने गरेको अध्यक्ष अधिकारीको भनाई छ । त्यसपछि कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरेको उनले बताए । संस्थाले राष्ट्रिय स्तरबाट समेत पुरस्कृत भइसकेको छ ।
२० रुपैयाँबाट बचत गर्न सुरु गरेको गएको असार समान्तसम्म २ करोड २ लाख ८८ हजार ५ सय ८६ रुपैयाँ पुगेको सहकारी संस्थाले जनाएको छ । अहिले महिलाहरु संस्थाबाट ऋण लिएर व्यवसायतर्फ लागेको व्यवस्थापक नर्मदा शर्माले बताइन् । उनकाअनुसार महिलाहरुले संस्थाबाट ऋण लिएर तरकारी खेती, किराना पसल, अल्लो धागो, भैँसीपालन, बङ्गुर पालन, बेसार खेती, अदुवा खेती समेत गर्न थालेका छन् । जसबाट महिलाहरु आय आर्जन गर्न सफल भएको संस्थाले जनाएको छ । ‘संस्थामा आबद्ध भएका महिलाहरुलाई दुई÷चार पैसा चाहिएमा ऋण खोज्न बाहिर जानुपर्ने अवस्था छैन’ संस्थाका अध्यक्ष अधिकारीले बताइन् ।
संस्थाले आफैले पनि शुद्ध बेसारको पाउडर निर्माण गरी विक्री गर्ने गरेको संस्थाले जनाएको छ । सुरुमा सदस्यहरुलाई संस्थाले ५ केजी बेसरको वीऊ उपलब्ध गराएको थियो । उनीहरुले उत्पादन गरेको बेसार संस्थाले नै किनिदिएको थियो । ‘संस्थामा आबद्ध भएका महिलाहरुलाई केही गर्नु पर्दछ भन्ने भावनाको विकास भएको छ’–अध्यक्ष अधिकारीले भनिन् । त्यसैअनुसार नै आर्थिक आय आर्जनमा सहभागी हुन थालेको उनको भनाई छ । ‘घर बाहिर निस्कन नसक्ने महिलाहरु अहिले सामाजिक क्षेत्रमा समेत अगाडि बढ्न सफल हुनुभएको छ’–अध्यक्ष अधिकारीले भनिन् ।
बेसारको व्यवसाय भने आर्थिक वर्ष २०६४÷०६५ बाट सुरु गरेको संस्थाले जनाएको छ । संस्थाले उत्पादन गरेको बेसार अहिले जिल्लाभित्र तथा जिल्ला बाहिर जाने गरेको छ । शुद्ध बेसार रहेकाले बेसारको माग बढी रहेको संस्थाले जनाएको छ । अहिले संस्थाले पाउडर बनाएको बेसारको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँमा विक्री गर्ने गरेको छ ।
सबैको सहयोगले नै संस्था अगाडि बढेको अध्यक्ष अधिकारीले बताइन् । ‘महिलाले मात्र सञ्चालन गरेको सहकारी अगाडि बढाउनका लागि पुरुषहरुको पनि महत्वपूर्ण भूमिका छ’ अधिकारीले भनिन् । संस्थाले चालेको रहेक कार्यमा पुरुषहरुबाट सकारात्मक सहयोगले गर्दा नै संस्था यहासम्म आइपुगेको उनले बताइन् । ‘पुरुषहरु सदस्य नभए पनि पुरुषको महत्वपूर्ण योग्दान संस्थामा रहेको छ’–अध्यक्ष अधिकारीले भनिन्–‘यसले सबै मिलेर अगाडि बढ्दा सफल बन्नसक्ने प्रेरणा समेत दिएको छ ।’
मातृ शिशु मृत्युदर घटाउन सहयोग
संस्थाले मातृ शिशु मृत्युदर घटाउनका लागि अस्पताल पुगेर प्रसुती हुनेलाई प्रोत्साहन रकम प्रदान गर्ने गरेको छ । ‘घरमा प्रसुती हुँदा आमा तथा शिशुको समेत ज्यान खतरा हुने भएकाले अस्पतालसम्म पुगेर प्रसुती हुनेलाई रकम दिने निर्णय गरेका हौँ’ अध्यक्ष अधिकारीले भनिन् । आप्mनो सदस्यलाई २ सन्तानसम्म मात्र ५ सय रुपैयाँ प्रदान गर्ने गरेको पाण्डेको भनाई छ । यसो गर्दा अस्पतालमा गएर प्रसुती हुने र मातृशिशु मृत्युदर घटने संस्थाले अपेक्षा लिएको छ । रकम प्रदान गर्नका लागि छुट्टै कोषको समेत व्यवस्था गरिएको छ । त्यसैगरेर संस्थाले ५ हजार रुपैयाँ केही महिनासम्म व्याज नलिएर ऋण दिने व्यवस्था गरेको छ । जसले गर्दा उनीहरुलाई अस्पतालसम्म पुग्न सहयोग मिल्ने अपेक्षा संस्थाले लिएको छ । यस प्रकारको व्यवस्था गरेपछि अहिले वडामा घरमा प्रसुती हुनेहरुको संख्या न्यून भएको संस्थाले जनाएको छ ।
मृत्यु विमा कोष सञ्चालन
संस्थाले आप्mना सदस्यहरुको मृत्यु विमा कोष समेत सुरु गरेको छ । सदस्यहरुबाट वार्षिक रकम उठाएर यस प्रकारको कोष सुरु गरेको छ । यस कोषबाट सदस्यको मृत्यु भएपछि सदस्यको परिवारलाई रकम सहयोग गर्ने गरी कोष सुरु गरिएको अध्यक्ष अधिकारीले बताइन् । ‘हामीले सदस्यको मृत्यु भए पनि परिवारलाई सानो भए पनि सहयोग पुगोस भनेर यस प्रकारको कोषको सुरुवात गरेका हौँ’ अध्यक्ष अधिकारीले भनिन्
