बालाराम खड्का
तुलसीपुर, २५ असार । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिका मात्र नमुना बनेर नहुने भन्दै यहाँ रहेको सबै संस्था र निकायहरु नमुना हुनुपर्ने बताएका छन् । जनप्रतिनिधिमा निर्वाचित भएको ३ बर्ष पूरा भएको अवसरमा बिहीवार तुलसीपुर गरेको पत्रकार सम्मेलनमा प्रमुख पाण्डेले ३ वर्षमा आफूहरुले गरेका कामहरु र आगामी गन्तव्यहरुका बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलन नगर प्रमुख पाण्डेले चुनावमा जनता सामु गरेका प्रतिबद्धताहरु केही पूरा भएको र केही पूरा हुन बाँकी भएको बताए ।
‘हामीहरुले मात्र नमुना र स्मार्ट सिटी तुलसीपुर बनाउने भनेर हुँदो रहेनछ, यसमा सबै क्षेत्र र निकायहरुले पनि नमुना गराउन लाग्नुपर्छ’, प्रमुख पाण्डेले भने– ‘स्मार्ट सिटी निर्माणका लागि पर्याप्त बजेटको अभाव छ ।’ पाण्डेले तुलसीपुर उपमहानगरपालिकालाई पेपर लेस र एकपैसा पनि नगद भुक्तानी नगरी कारोबार गर्नका लागि बैंकको काउन्टर राख्ने योजना रहेको बताए ।
‘आर्थिक पारदर्शिता, छिटो–छरितो सेवा सञ्चालनका लागि हामीहरु लागेका छौं, साउन महिनादेखि यो लागू हुन्छ’, उनले भने । प्रमुख पाण्डेले समयमै योजनाहरु सम्पन्न गर्ने भने पनि त्यो भने हुन नसकेको स्वीकार समेत गरे । ‘ठीक समयमा योजना सम्पन्न र ठीक काम र ठीक योजनाहरु बनाउने भने पनि त्यो हुन सकेको छैन’, उनले भने । पाण्डेले उपमहानगरपालिकाका पहिले जनशक्ति अभाव छ भन्ने र जनशक्ति माग गरेर हाल पर्याप्त भएको भन्दै अब त्यो जनशक्तिलाई कहाँ लगाउने भन्ने समस्या उत्पन्न भएको हो कि भन्ने आफूहरुलाई लागेको सुनाए । उनले त्यसका लागि तुलसीपुरमा रहेको मालपोत र नापी शाखालाई नगरको मातहतमा ल्याउने तयारी भएको समेत बताए ।
‘हामीसँग अहिले जनशक्ति प्रशस्त छ, अब त्यो जनशक्तिलाई ती कार्यालयमा लगाउन सकिन्छ भन्नेमा हामीहरु लागेका छौं’, पाण्डेले भने । त्यस्तै उनले अब विकास महापुराण र महायज्ञ लगाएर सम्पन्न नहुने भन्दै संघ, प्रदेश र निजी क्षेत्रको साझेदारीमा गर्न सकिने बताए । ‘हामीहरुले प्रादेशिक अस्पताल, आँखा अस्पताल र राप्ती बबई क्याम्पसलाई खाली चेक लैजानुहोस्, के–के विकास गर्ने हो रकम भरेर ल्याउनुहोस् भनेका छौं, अब महापुराणले होइन त्यसको लागि पैसाको व्यवस्था हामी जहाँबाट पनि गर्ने भनेका छौं’, उनले भने ।
उपमहानगरपालिकाले विकासका कार्यक्रमहरु कार्यान्वयन गर्ने सवालमा सधै मुलुकको कमजोर स्थानीय सरकारका रुपमा रहेको तुलसीपुरलाई आफूहरुले अग्रणी स्थानीय सरकारका रुपमा स्थापित गर्न सफल भएको दाबी गरे । ‘हाम्रा विकास साझेदारहरुले योजना छनोट, अनुगमन र मूल्यांकनमा हाम्रो योजनाबद्ध र प्रभावकारी रणनीतिका कारण हामीलाई विभिन्न सम्मान एवं पुरस्कृत भएका छौं, यो एउटा सफल पक्ष हो’, उनले भने ।
पाण्डेले जनतासँग तुलसीपुर भन्ने अवधारणाका आधारमा तुलसीपुर विकास प्राधिकरण स्थापना गरेर तुलसीपुरको सडक विकास पूर्वाधारअन्र्तगत चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिइएकोमा प्राधिकरणले करिब ८० किलोमिटर सडक कालोपत्रेको आधार बनाएको र आगामी वर्ष यसले सडक पूर्वाधारबाहेक अन्य क्षेत्रमा पनि दु्रत गतिमा विकास गर्ने बताए ।
त्यस्तै तुलसीपुरको पहिचान र गौरबका रुपमा यो तीन वर्षमा प्रतिवद्धता गरे अनुसार तुलसीपुर तरकारी तथा फलफुल कृषि उपज बजार केन्द्र, तुलसीपुर आधुनिक बसपार्क, नमुना अटो भिलेज, तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) लगायतका बृहत योजनाहरु सम्पन्न गरेर सञ्चालनमा ल्याइसकेको उनले बताए । तुलसीपुर उपमहानगरपालिकालाई खरको छानोमुक्त नगर बनाउने अभियानअन्र्तगत सुरक्षित मेयर आवास तथा जनता आवास कार्यक्रममार्फत हालसम्म करिब ८ सय घर खरको छानोमुक्त भइसकेको ,मातृशिशु मृत्युदर शून्यमा झार्नेमा मुलुककै पहिलो उपमहानगरपालिकाका रुपमा स्थापित गरेको समेत बताए ।
उपमहानगरपालिकाको दीर्घकालीन सोचसहितको गुरुयोजना, एकीकृत शहरी विकास योजना, भू–उपयोग नीति तथा योजना, मापदण्डसहितको सडक तथा यातायात गुरुयोजना, स्पोर्ट सिटी योजना, स्मार्ट सिटी योजना, पर्यटन गुरुयोजना, आर्थिक तथा उद्यमविकास योजनालगायत विभिन्न क्षेत्रगत योजनाहरु निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकाले यी सबै गुरुयोजनाहरु र तिनलाई कार्यान्वयन गर्न आवश्यक सहयोगी नीति र कानुन तर्जुमा गरी आगामी आर्थिक वर्षदेखि नै लागू गर्ने प्रमुख पाण्डेले बताए ।
तुलसीपुरलाई शिक्षाको हव बनाउन ८३ वटा सामुदायिक विद्यालयलाई ५ वर्षको अन्तरालमा कम्तीमा ३० वटा नमुना विद्यालय बनाई सुविधा सम्पन्न र गुणस्तरीय नमुना विद्यालय बनाउने प्रयासस्वरुप यस २०७६ शैक्षिक सत्रदेखि १३ वटा प्राविलाई बाल विकास केन्द्र कायम राखी कक्षा स्थगन गरिएको र पहुँच र दूरी नबिग्रने गरी यो वर्ष पनि केही विद्यालयहरुलाई स्थगन गरिएको बताए । तुलसीपुरलाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्नका लागि प्राविधिक शिक्षा सञ्चालन गर्ने यहाँका ९ वटा विद्यालयलाई प्रतिविद्यालय १० लाखका दरले अनुदान दिएको बताए ।
त्यस्तै एक वडा एक खेल मैदानअन्तर्गत उपमहानगरपालिकाका १९ वटै वडाहरुमा विभिन्न खेलका मैदान निर्माण गर्ने क्रम अन्तिम चरणमा पुगेको र संघ सरकारको सहयोगमा बेलझुण्डीमा अन्तर्राष्ट्रियस्तरको रंगशालाका साथै प्रदेश सरकारको सहयोगमा वडा नं. १ मा राष्ट्रियस्तरको रंगशाला निर्माण भएको उनले बताए । जनताको आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गर्न विशेषज्ञ चिकित्सकसहितको नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र, ११ वटा नगरस्वास्थ्य केन्द्र तथा ६ वटा चौबीस घण्टे प्रसूति सेवा केन्द्र, ८ वटा प्रयोगशालासहित १९ वटै वडामा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गरे र अतिरिक्त ज्येष्ठ नागरिक, गर्भवती महिलालाई ५० प्रतिशत छुटसहित ३ वटा एम्बुलेन्स विकट वडाबाट सञ्चालन गरिरहेको प्रमुख पाण्डेले बताए ।
राप्ती आँखा अस्पताल, राप्ती बबई क्याम्पस, तुलसीपुर ब्लड बैंक, राप्ती प्रादेशिक अस्पताललगायत यस क्षेत्रका विभिन्न स्वास्थ्य तथा शैक्षिक संस्थाहरुको स्तर र सेवा वृद्धि र प्रभावकारिताका लागि भौतिक संरचना निर्माणलगायतको काममा प्रदेश सरकारसँग समन्वय गरेर विभिन्न कामहरु अगाडि बढाइएको बताएको थियो ।
त्यस्तै उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रलाई यातायात सञ्जालले जोड्ने र सडकका दायाँ–बायाँ बस्तीहरुलाई एकीकृत गर्दै जाने सोचअनुरुप ५ नं. प्रदेशको प्रदेश सरकारसँग सहयोगमा चक्रपथ निर्माण कार्य निरन्तररुपमा सञ्चालनमा रहेको र गत वर्षदेखि शुरु भएको चक्रपथ निर्माण कार्य यस वर्ष प्रदेश सरकारको ३ करोड सहयोगमा यसै वर्ष सक्ने गरी राजापुरदेखि राप्ती शान्ति उद्यानसम्म कालोपत्रे गर्ने काम शुरु भएको बताए ।