भर्चुअल तेक्वान्दो आईटिएफ प्रतियोगितामा शशांक च्याम्पियन
दाङ,२५ असार । दोस्रो रोल्पा खुल्ला जुनियर भर्चुअल तेक्वान्दो आईटिएफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा बागमती प्रदेश काभ्रेका शशांक नापित च्याम्पियन भएका छन् । रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजनामा बुधबार सम्पन्न भएको च्यम्पियनसिपमा शशांक प्याट्रनतर्फ च्याम्पियन भएक हुन।
प्रदेश नं. ५ पाल्पाका निरज थापा दोस्रो स्थनमा सिमित भए भने गण्डकी प्रदेश बाग्लुङका अनिल थापा तेस्रो भएका छन् । पाँच पक्ष राखिएको प्याट्रन निर्धारणमा कुल ३४ स्कोर रहेको थियो । जसमा शशांक नापितले २९ अंक प्राप्त गर्दै च्यामियन भएका हुन ।
त्यसै गरी निरज थापाले २६ं५ अंक प्राप्त गर्दै दोश्रो र अनिल थापाले २४ अंक प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका हुन। नेपाल आईटिएफ महासंघका रेफ्रि चेयरमेन प्रबिनकुमार कार्कीको नेतृत्वमा सात सदस्यीय राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रिहरुले महासंघ र जिल्ला संघको सहकार्यमा खेलाडीले पठाएको भिडियोको मुल्यांकन गरि भिडियो कन्फेरेन्समार्फत नतिजा सार्बजनिक गरेको प्रतियोगिता संयोजक तथा रोल्पा आईटिएफ संघक अध्यक्ष बिक्रम बाठामगरले जानकारी दिएका छन् ।
प्रतियोगितामा देशभरिबाट १७६ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । नेपाल आईटीएफ महासंघ का अध्यक्ष तथा दक्षिण एसिया आईटीएफ महासंघ उपाध्यक्ष र एसियन तेक्वान्दो आईटिएफ महासंघका सदस्य समेत रहेका अन्जन धमलाले महामारीको समयमा भर्चुअल च्याम्पियनसिपको अवधारणाले खेलाडीहरुमा थप आत्मविश्वास बढाउनुको साथै खेल बिकासमा पनि मदत पुग्ने बिश्वास व्यक्त गरेका थिए ।
कोरोना भाईरसको माहामारी बढिरहेको अवस्थामा अनलाइन खेल आयोजनाले खेलाडीहरुले लकडाउनकै समयमा घरबाटै पनि तयारी गरि खेल कौशललाई अगाडी बढाउन मद्धत पुगेको कार्यक्रम संयोजक बिक्रम बाठामगरले जानकारी दिए।
च्याम्पियनसिपमा पहिलो भएका शाशंकले नगद पाँच हजार, दोस्रो भएका निरजले ३ हजार ५ सय र तेस्रो भएका अनिलले दुई हजार ५ सय रुपैयासहित प्रमाणपत्र प्राप्त गरेका छन । बिजेताहरुलाई रोल्पा परिवर्तन गाउँपालिकाका सुरेश बाठामगरले पहिलो , मिलन सुनुवारले दोस्रो र ओपेन्द्र रोकामगरले तेस्रो पुरस्कार प्रायोजन गरेका थिए।
