Goraksha

National Daily

सरकारको प्रथामिकता कुर्सी : महामन्त्री कोइराला

दाङ,२३ असार । नेपाली कांग्रेसका महामन्त्री डा शशाक कोइरालाले सरकारको ध्यान कुर्सी जोगाउन भएको बताएका छन् । कोरोनाका कारण संकटमा परेको मुलुकमा जनतालाई जोगाउन भन्दा कम्युनिष्ट सरकार कुर्सी जोगाउन थालेको बताएका हुन ।

सामाजिक लोकतन्त्रका लागि ऐक्यवद्धता नेपालले आयोजना वीपीको प्रजातान्त्रीक समाजवाद र आगामी महाधिवेशन विषयक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले रेल र पानी जहाजको सपना बाँडेर जनताबाट भोट पाएपनि संकटका बेलामा जनतालाई जोगाउने भन्दा कुर्सी जोगाउन लागेर असली चरित्र देखाएको बताए ।

उनले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रीक समाजवाद गरिव नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए । गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दुरी कम गर्ने वीपी कोइरालाको प्रजातान्त्रीक समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाई थियो ।

महामन्त्री कोइरालाले नेपाली कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा उर्जा थप्नका लागि पनि १४ औं महाधिवेशन आवश्यक भएको बताउदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे ।

उनले महाधिवेशनका लागि नयाँ संरचना अनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए । १४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र नयाँ उर्जा थप गर्ने कोइरालाको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता डा मिनेन्द्र रिजालले नेपाली कांग्रेसका तत्तकालिन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा वीपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको बताए ।

उनले कम्युनिष्टहरुले समाजवाद उन्मुख समाजवाद उन्मुख भन्ने गरेकाले धेरैमा भ्रम परेको भन्दै वीपी कोइरालाले परिकल्पना गरेको जस्तै समाजवादलाई संविधानमा व्यवस्था गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी, किरण यादवले पनि वीपी कोइरालाको प्रजातान्त्री समाजवादका विषयमा आ आफ्नो धारणा राखेका थिए । नेपाल विद्यार्थी संघको पूर्व महामन्त्री मनोजमणी आचार्यले संचालन गरेको कार्यक्रममा नेविसंघका पूर्वमहामन्त्री प्रतिमा गौतमले सहभागिहरुलाई स्वागत गरेकी थिइन भने नेविसंघ कै पूर्वउपाध्यक्ष प्रमोदहरी गुरागाँईले वीपीको प्रजातान्त्रीक समाजवाद र आगामी महाधिवेशनका विषय विषय प्रवेश गराएका थिए ।