Goraksha

National Daily

स्वयंसेविकालाई पिपिई

दाङ, १९ असार । सुआहारा कार्यक्रमले दाङका महिला स्वास्थ्य स्वयंसेविकालाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) वितरण गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले यही असार २२ र २३ गते सञ्चालन गर्न लागेको राष्ट्रिय भिटामिन ए कार्यक्रम २०७७ लाई सहयोग पु¥याउने हेतुले दाङ जिल्लामा रहेको ९ सय ३० महिला स्वास्थ्य स्वयंसेविकालाई पिपिई सामग्री (मास्क, सेनिटाइजर) १० वटै पालिकाको स्वास्थ्य शाखामार्फत सहयोग गरिएको बेसका जिल्ला सचिव रुपलाल चौधरी जानकारी दिए ।

राष्ट्रिय भिटामिन ए कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहने र कोरोनाको संक्रमण हुने डर पनि नटरिसकेको हुनाले व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको सुआहाराका फिल्ड संयोजक सञ्जय चौधरीले बताए ।

योसँगै सुआहारा कार्यक्रमले फोनमार्फत नै दाङ जिल्लाका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागि अपनाउनुपर्ने सावधानीबारे फोनबाट नै परामर्श गरिरहेको जनाएको छ ।

हात धुने स्थानको व्यवस्थापन, भिटामिन ए तथा जुकाको औषधि खुवाउन आउनेले अनिवार्य मास्क प्रयोग गर्ने, फोहर व्यवस्थापन, कम्तीमा २ मिटरको भौतिक दूरी, भिटामिन ए क्यापसुलको टुप्पो काट्ने कैचीलाई प्रत्येक पटक सफा गर्ने जस्ता कुरामा परामर्श गरिएको छ ।

सुआहारा कार्यक्रमबाट लकडाउनको अवधिमा हालसम्म फोनबाट स्वास्थ्य, पोषण, कृषिसम्बन्धी ३३ हजार ९ सय २७ जनालाई परामर्श गरिएको छ भने त्यसमध्ये गर्भवती ३ हजार ४ सय ७, आमा र बच्चा (२ बर्षमुनिका) १७ हजार २ सय ८५ र अन्य घरधुरी १६ हजार ६ सय ४२ रहेको सुआहाराका जिल्ला संयोजक सुरज शर्माले जानकारी दिए ।