कांग्रेसको महाधिवेशन फागुन ७ मै

  •   
  •  

काठमाडौँ, १५ असार । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन पूर्व निर्धारित समयमा गर्ने भएको छ । कांग्रेसले यसअघि नै २०७७ फागुन ७ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशनबाहेक अन्य अधिवेशनका कार्यतालिकामा भने कोभिड–१९ का कारण सामान्य हेरफेर हुने पार्टीले जनाएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको सोमवार बसेको बैठकमा १४औँ महाधिवेशन निर्धारित समयमै गर्ने र अन्य अधिवेशनका तालिकामा भने हेरफेर गर्ने निष्कर्ष निकालेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

सो निर्णय पार्टीको आगामी केन्द्रीय समिति बैठकबाट पारित गराउन कांग्रेसले असार १६ गते दिउँसो १ः०० बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहतका निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । सो तालिकाअनुसार २०७६ फागुनदेखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यसम्पन्न गर्ने अवधि तोकेको थियो । कार्यतालिका अनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पु¥याउने काम भए पनि कोभिड–१९ का कारण वितरण र नवीकरण कार्य प्रभावित भएको थियो ।

कांग्रेसले १४औँ महाधिवेशनका लागि गाउँ र नगर वडा अधिवेशन आगामी कार्तिक १६ गते, गाउँरनगरपालिका अधिवेशन कार्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कार्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कार्तिक २३ गतेका लागि निर्धारण गरेको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कार्तिक २५ गते, प्रदेश अधिवेशन आगामी मंसिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो । कांग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । कांग्रेसका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्ष हुने विधानमा उल्लेख भए पनि विधानकै अर्काे व्यवस्थाअनुसार एक वर्ष समयावधि यसअघि नै थप गरिसकिएको छ ।