विरूवा रोपेर वृक्षारोपण कार्यक्रम सुरु

  •   
  •  

हेमराज शर्मा
दाङ, १५ असार । डिभिजन वन कार्यालय दाङले राष्ट्रिय वृक्षारोपण दिवसका दिन आइतवार विरूवा रोपेर यो वर्षको वृक्षारोपण कार्यक्रमको सुरुवात गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं १० अर्घुमा रहेको हरियाली सामुदायिक वनको क्षेत्रमा करिब ५ हजार विरूवा लगाएर यो वर्ष दाङमा वृक्षारोपण कार्यको सुरुवात गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार करिब ३ हेक्टर वन क्षेत्रमा मसला, खयर, टिक र बकैना प्रजातिका विरूवा रोपेर वृक्षारोपणको सुरुवात गरिएको छ ।

डिभिजन वन कार्यालय दाङ र हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो । वृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै डिभिजनल अधिकृत ज्ञवालीले लगाइएका विरूवा संरक्षणका लागि उपभोक्ताहरु पनि सक्रिय रुपले लाग्नु पर्ने र वृक्षारोपणको अधिकांश क्षेत्रमा कार्यालयले तारबार गर्नका लागि सहयोग गर्ने बताए ।

यो वर्ष दाङमा साढे दुई लाखभन्दा बढी विरूवा रोप्ने योजना रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । यो वर्ष कार्यालयले वनलाई नागरिकको जीवन स्तरसँग जोड्न जडिबुटी खेतीलाई समृद्धिको अभियानका रुपमा अगाडि बढाएको छ ।

डिभिजन वन कार्यालय दाङले यस वर्ष डिभिजन वन कार्यालय अन्तर्गतका ३ वटा नर्सरीमा गरी जम्मा एक लाख टिमुर र २० हजार सुगन्धकोकिलाका विरूवाहरु उत्पादन भएका छन् । बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातिका विरूवाहरु लैजाँदा प्रोत्सहान स्वरुप २० प्रतिशत फलफूलका विरूवा समेत वितरण गरिने डिभिजन वन कार्यालयले बताएको छ ।

पहाडी क्षेत्रमा जटिबुटी र तराई क्षेत्रमा फलफूलका विरूवा अन्य विरूवासँगै रोपे उपभोक्ताहरुले छिट्टै उत्पादन लिनसक्ने भएकाले यस वर्ष ५० हेक्टर बगरमा २ लाख ५० हजारभन्दा बढी विरूवा काष्ठ तथा फलफूल विरूवाहरु रोपिने डिभिजन वन प्रमुख ज्ञवालीले बताए ।