तीन महिनामा एक हजार व्यवसायीहरूका फर्म नवीकरण

शरद रेग्मी
तुलसीपुर, १४ असार । तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीहरूको सहजताका लागि प्राइभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नवीकरण गरिदिने सेवाको व्यवस्था गरेको छ ।

उद्योग वाणिज्य संघको आफ्नो कार्य क्षेत्रभित्रका व्यवसायीहरुको व्यस्ततालाई मध्यनजर गर्दै सहजता दिन उद्योग वाणिज्य संघको कार्यालयमा प्राइभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नवीकरण गरिदिने व्यवस्था मिलाएको उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराईले बताए । उद्योग वाणिज्य संघले नवीकरणको सेवा प्रदान गरिरहेको हुँदा आफ्नो व्यवसायको प्राइभेट फर्म कार्यालयमा उपलब्ध गराउन भट्टाराईले सबैमा आग्रह गरेका छन् ।

लामो समयको लकडाउनका कारण व्यवसायीहरुलाई हिडडुल र सरकारी कार्यालयमा पुग्न समेत कठिनाई भइरहेका बेला कागजातहरु चुस्त र दुरुस्त राख्न उद्योग वाणिज्य संघले भूमिका निर्वाह गरेको वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताए । अध्यक्ष रावतकाअनुसार अहिलेसम्म करिब एक हजार बढी व्यवसायीका फर्म नवीकरण, पान नम्बर, विजुली पानी र टेलिफोनको रकम भुक्तानी वाणिज्य संघमार्फत् भइसकेको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघले व्यावसायिक सेवा केन्द्र स्थापना गरेर दर्ता, नवीकरण र अन्य सेवाहरुलाई सरल बनाउन अनलाइन र अफिसियलमार्फत् व्यवसायीहरुको काम गर्दै आएको सचिव विनिल केसीले बताए । सचिव केसीका अनुसार न्यूनतम शुल्कमा व्यवसायीहरुलाई घरमै सेवा प्रदान गर्दै आएको कामको सबै क्षेत्रबाट प्रशंसा भइरहेको र अन्य जिल्ला नगरका उद्योग वाणिज्य संघहरुले तुलसीपुरको सिको गर्दै व्यावसायिक सेवा केन्द्रको स्थापना गरेर काम सुरु गरिसकेको बताए ।

यता घरदैलोमै सेवा पाएपछि अरूण इण्टरप्राइजेजका सञ्चालक अनुपकुमार श्रेष्ठले तुलसीपुर उद्योग वाणिज्य संघलाई धन्यवाद दिएका छन् । व्यवसायीहरु लामो समयको लकडाउनको पालना गर्दै घरमै बसिरहेको सन्दर्भमा संघले तीन महिना अघिदेखि सञ्चालन गर्दै आएको व्यावसायिक सेवा केन्द्र उपलब्धिमूलक भएको बताए ।

श्रेष्ठका अनुसार व्यवसायीहरु असारमसान्तको चपेटामा परेको र व्यस्त समयका कारण जरिवाना र फर्म खारेजीसम्म हुनसक्ने परिस्थितिमा संघले उदाहरणीय कामको सुरुवात गरेको प्रतिक्रिया दिए । अर्का व्यवसायी द पार्क क्याफेका सञ्चालक राजेन्द्र महतराले संघले सुरु गरेको व्यावसायिक सेवा केन्द्रका कारण आफूहरुको समय बचत हुने गरेको बताए ।

‘हामीले राम्रो काम गर्ने संस्थालाई धन्यवाद दिनुपर्छ, अहिलेको नेतृत्वले उदाहरणीय र नमुनायोग्य काम गरिरहेको छ’–महतराले भने । व्यावसायिक संस्थाले यस्तो सेवा प्रदान गर्दा सरकारी कार्यालयमा काम गराउन केही सहजता हुने अर्का व्यवसायी देवेन्द्र केसीले बताएका छन् ।