कक्षा १ को पाठ्यपुस्तकमा नेपालको नयाँ नक्सा
गोरक्ष समाचारदाता
काठमाडौं, ११ असार । निजी विद्यालयमा कक्षा १ पढ्ने विद्यार्थीले नेपालको नयाँ नक्सा र कोभिड–१९ बारे सूचना समावेश गरिएको पाठ्यपुस्तक यसै वर्ष पढ्न पाउने भएका छन् । लकडाउन जारी भए पछि हाल सम्म विद्यार्थी भर्ना खुलेको छैन । अधिक विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएका छन् । वैशाख बाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ ।
घरमा बसेका विद्यार्थीले असार १ गते बाट कक्षागत पाठ्यपुस्तकमा आधारित सामग्री रेडियो, टेलिभिजन, अनलाइन सुन्नु पर्ने कक्षा सुरु भएको छ । सामुदायिक (सरकारी) विद्यालयका बालबालिकाले पाठ्यपुस्तक पाउन थालेका छन् । तर, निजी विद्यालयमा पढ्ने कक्षा १ का विद्यार्थीले पढ्ने र पढाउने पाठ्यपुस्तक असार पहिलो साता सम्म छापिएको छैन । उक्त कक्षाको पाठ्य पुस्तकहरू ‘मेरो नेपाली’, ‘हाम्रो सेरोफेरो’, ‘गणित’ र ‘अंग्रेजी’ छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ को पाठ्यपुस्तक छपाइ जिम्मेवारी निजी छापाखानालाई दिँदै आएको छ । शैक्षिक सत्र २०७७ बाट एकीकृत पाठ्यक्रम अन्तर्गत नयाँ ढाँचामा पुस्तक लागू हुँदैछ ।
नयाँ पाठ्यक्रमानुसार छनोटमा परेका निजी प्रकाशनले पहिलो चरणको नमुना पाठ्यपुस्तक गत चैतमा बुझाएका थिए । दोस्रो चरणमा सच्याएर बुझाउने बेलामा अख्तियारमा उजुरी परे पछि प्रक्रिया रोकिएको हो । अख्तियारले छानविन जारी राखेकाले कक्षा १ मा पढाइने पाठ्यपुस्तकको पाठ्यक्रम अहिले सम्म स्विकृत हुनसकेको छैन । एउटा निजी प्रकाशनसँग आवद्ध पाठ्यपुस्तक लेखकले विना स्विकृति अर्को प्रकाशनको समेत पुस्तक लेखककै रूपमा प्रस्तुत भएपछि अख्तियारमा उजुरी परेको छ । निजी प्रकाशनहरू तथा लेखक, सम्पादकहरूबीच ‘आर्थिक चलखेल’ गरेका कारण मनोमानी उजुरी परेको जनाइएको छ ।
‘हामीले नयाँ एकीकृत पाठ्यक्रम अनुसार पाठ्यपुस्तक निर्माण तथा छपाइका गत कात्तिकमै राजस्व बुझाइ सक्यौं’, संगम बुक्स पब्लिेसनका प्रबन्ध निर्देशक सहदेवप्रसाद सापकोटाले भने, ‘हामीले पाठ्यक्रमानुसार नमुना पाठ्यपुस्तक बुझायौं । मूल्यांकन गरेर ३० दिने म्याद थपेर सच्याउन दियो । तर यही बीचमा अख्तियारमा उजुरी परेपछि प्रक्रिया ढिलो हुन पुगेको भनिएको छ । बालबालिका पाठ्यपुस्तक पाउने अधिकारबाट बन्चित भएका छन् ।’ देशभरिका साढे ६ हजार निजी विद्यालय छन् । हरेक वर्ष १० लाख बालबालिका कक्षा १ मा भर्ना हुन्छन् । ती मध्ये करिब ४० प्रतिशत अर्थात् ४ चाल बालबालिका निजी विद्यालयमा पढ्छन् ।
पाठ्यक्रम विकास केन्द्र (पाविके)का महानिर्देशक केशवप्रसाद दाहाल अख्तियारमा परेको उजुरीको टुंगो लागेलगत्तै नयाँ एकीकृत पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक छपाई गर्न निजी प्रकाशनहरूलाई अनुमति दिइने बताए । ‘सुरुमा पेश गरेको नमुना पाठ्यपुस्तक फरक परेपछि सच्याएर ल्याउन भनियो तर बीचै अख्तियारमा उजुरी परेछ’, हालैमात्र महानिर्देशकको जिम्मेवारी सम्हालेका दाहालले भने, ‘हामी (पाविके) प्राविधिक रूपमा तयारी छौं ।
अख्तियारले अनुमति दिए लगत्तै पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक छपाउन अनुमति दिने छौं ।’ पाविकेले सूचना जारी गर्दै कक्षा १ को पाठ्यपुस्तकमा नेपालको नयाँ नक्सा र कोभिड–१९ बारे सूचना समावेश गर्न भनेको छ । ‘परिवर्तित नयाँ पाठ्यक्रम अनुसार कक्षा १ का लागि पाठ्य सामग्रीको रूपमा विभिन्न प्रकाशनबाट पेस भएका सामग्रीहरू मूल्यांकन कै क्रममा रहेको छ’, मूल्यांकन समितिबाट कुनै प्रकाशनलाई स्विकृति दिने निर्णय नभएको उल्लेख गर्दै महानिर्देशक दाहाल हस्ताक्षरित सूचनामा छ, ‘पुरानो पाठ्यक्रम अनुसारका सामग्रीहरू बिक्री वितरण तथा खरिद नगरिदिनु हुन सम्बन्धित प्रकाशक, वितरक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।’ सरकारले हालैमात्र संविधान संशोधन गरी देशको पश्चिम सीमा कालापानी, लिम्पियाधुरा, लिपुलेकसमेत समेटिएको नयाँ नक्सा जारी गरेको छ ।
