जिल्लाका १० वटै पालिकाको बजेट : ८ अर्ब ४० करोड ३५ लाख

अमरराज आचार्य

दाङ, १० असार । जिल्लामा रहेका १० वटै स्थानीय तहहरुले बजेट ल्याएका छन् । वैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरुले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने हुन्छ । घोराही उप महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्ब ८५ करोड २२ लाख ९३ हजार बिनियोजन गरेको छ । सातौ नगर सभामा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले उक्त रकमको बजेट प्रस्ताव गरेकी हुन् ।

उपमहानगरपालिकाले प्रस्ताव गरेको कुल विनियोजनमध्ये चालुतर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार अर्थात् ५८.६० प्रतिशत र पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार अर्थात् ४१.४० प्रतिशत विनियोजन गरेको उपप्रमुख न्यौपानेले जानकारी दिइन् । चालु शीर्षकबाट खर्च हुने बजेट कार्यालय सञ्चालन, कर्मचारीको तलव भत्तामा खर्च हुने गर्दछ भने पुँजीगत शीर्षकको बजेटबाट विकास निर्माणमा खर्च गर्ने गरिन्छ । यसरी प्रस्तुत गरिएको बजेटमा आन्तरिक आयबाट २५ करोड, संघीय वित्तीय सामानीकरण अनुदानबाट ३२ करोड ७२ लाख, संघीय राजश्व बाँडफाँडबाट २१ करोड १२ लाख १० हजार ६ सय, संघीय सशर्त अनुदानबाट ६४ करोड ७ लाख, संघीय समपूरक अनुदानबाट ७२ लाख, प्रदेश सामानीकरण अनुदानबाट ७९ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ७१ लाख १९ हजार, प्रदेश सशर्त अनुदानबाट ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपूरक अनुदानबाट ३ करोड व्यहोरिने छ । यसबाट नपुग हुने रकम २७ करोड ४० लाख ४० हजार ४ सय बैंक मौज्दातबाट व्यहोरिने उपप्रमुख न्यौपानेले बताइन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार बजेट प्रस्ताव गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले नगरसभाको पाँचौ अधिवेशनको तेस्रो बैठकमा पुँजीगततर्फ नगर, वडा स्तरीय पूर्वाधार विकास र अन्य सशर्त कार्यक्रम तथा विकास कार्यक्रमका लागि १ अर्ब ६८ करोड ४७ लाख र चालुतर्फ ६६ करोड २० लाख ६४ हजार बजेट सार्वजनिक गरेकी हुन् । बजेट पुँजीगतर्फ ७२ प्रतिशत र चालुतर्फ २८ प्रतिशत रहेको छ ।

आगामी आर्थिक बर्षमा आन्तरिक स्रोतबाट ३० करोड, युनिसेफबाट अनुदान ७५ लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि ३० करोड, संघीय सरकारको वित्तीय समानीकरण अनुदान ३० करोड ४५ लाख, सशर्त अनुदान विषयगत ६० करोड ३४ लाख, राजश्व बाँडफाँडबाट १९ करोड २६ लाख ३९ हजार, समपूरक अनुदान १ करोड ४९ लाख, विशेष अनुदान २ करोड ५० लाख, जिल्ला समन्वय समिति राजश्व बाँडफाँडबाट ३ करोड, साथै प्रदेश सरकारको वित्तीय समानीकरणबाट ७५ लाख ६० हजार, सशर्त अनुदानबाट २ करोड ३२ लाख ५० हजार, राजश्व बाँडफाँडबाट २ करोड १५ हजार, विभिन्न कोष, लगानीसमेतमा १० करोड, समपूरक अनुदानमा ८० लाख, सडक बोर्डको रकम ७० लाख, नगर विकास कोषबाट २५ करोड ऋण र संघीय सरकार, प्रदेश सरकार र अन्य निकाय वा संस्थाबाट वितरित आन्तरिक ऋण तथा अनुदान र अन्य स्रोत १५ करोड आय हुने अनुमान गरिएको छ ।

लमही नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ८३ करोड ७४ लाख ५६ हजार ७ रुपैयाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाका उपप्रमुख देवका बेलवासेले बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले चालुतर्फ ४१ करोड ५ लाख ५६ हजार ७ रुपैयाँ र पुँजीगततर्फ ४१ करोड ८९ लाख बजेट विनियोजन गरिएको छ ।

राजपुर गाउँपालिकाले आउँदो आर्थिक वर्ष २०७७÷०७८ का लागि ५० करोड ८७ लाख १७ हजारको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले गरेकी हुन् । गाउँपालिकाले चालुतर्फ १० करोड १३ लाख ६७ हजार र पँुजीगततर्फ ४० करोड ७३ लाख ५० हजार विनियोजन गरेको छ ।

बबई गाउँपालिकाले ४६ करोड २१ लाख ५६ हजार ३६१ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । सातौँ गाउँसभामा उपाध्यक्ष सावित्रा विश्वकर्माले उक्त रकम बराबरको बजेट प्रस्ताव गरेकी हुन् । गाउँपालिकाले ७०.५९ प्रतिशत पुँजीगत र चालुतर्फ २९.४१ बजेट प्रस्ताव गरिएको छ ।

गाउँपालिकाले सामाजिक बिकासतर्फ ४ करोड २५ लाख ९५ हजार, पूर्वाधार विकासतर्फ ६ करोड ७१ लाख, वन वातावरण तथा बिपत् ब्यबस्थापनका लागि ३६ लाख ५० हजार, सुशासन तथा संस्थागत विकासका लागि १ करोड २ लाख ७५ हजार, समपूरक योजनाका लागि ३ करोड व्यवस्थापन गरिएको छ । चालुतर्फ ७ करोड १७ लाख ३६ हजार ३ सय ६१ रुपैयाँ रहेको छ भने पुँजीगततर्फ १७ करोड २१ लाख ७० हजार बजेट रहेको छ । गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि १ करोड १२ लाख, पशु विकासका लागि ७० लाख ५० हजार, स्वास्थ्य क्षेत्रका लागि १ करोड ५२ लाख, शीत भण्डारका लागि ४० लाख बजेट व्यवस्थापन गरिएको छ ।

यस्तै पशु पोषणका लागि १० लाख, डम्पिङ साइड निर्माणका लागि ८ लाख, शिक्षाका लागि १ करोड १२ लाख, बबई युवा परिषद्का लागि ३० लाख, सुकुम्बासी लगत संकलनका लागि १० लाख, सडक तथा पुलका लागि २ करोड ७५ लाख १० हजार, खानेपानीका लागि ४९ लाख ५० हजार सिचाई तथा नहरका लागि १ करोड ५९ लाख ४० हजार व्यवस्थापन गरिएको छ । त्यस्तै भवन तथा सहरी विकासका लागि १ करोड ८७ लाख, खरका छाना विस्थापनका लागि १ करोड, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३५ लाख, विद्यालयमा महिनावारी हुने छात्राको प्याडका लागि ५० लाख, सुत्केरी पोषणका लागि १० लाख र सल्लीकोट भ्यूटावरका लागि २० बजेटको व्यवस्था गरिएको छ ।

बंगलाचुली गाउँपालिकाले आउँदो आर्थिक बर्षका लागि ५१ करोड ६३ लाखको बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाका उपाध्यक्ष यमुना थापामगरले बजेट प्रस्तुत गरेकी थिइन् । पुँजीगततर्फ २२ करोड ४६ लाख अर्थात ४४ प्रतिशत र चालुतर्फ शिक्षा र स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा रकम ५ करोड २० लाखसहित २८ करोड ९९ लाख अर्थात ५६ प्रतिशत प्रस्ताव गरेको हो । प्रस्तुत बजेटमध्ये नेपाल सरकारको अनुदानबाट ३० करोड ४५ लाख, संघीय राजश्व बाँडफाँडबाट ८ करोड ५८ लाख ५८ हजार ३ सय १०, प्रदेश सरकारको अनुदानबाट ३ करोड ९९ लाख ३२ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४० लाख २६ हजार र आन्तरिक राजश्वबाट १ करोड ४० लाख आय अनुमान गरिएको छ ।

गढवा गाउँपालिकाले ५२ कारोड १८ लाख २४ हजारको बजेट प्रस्ताव गरेको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले बजेट प्रस्तुत गरेकी थिइन् । गाउँपालिकाले चालुतर्फ ९ करोड २९ लाख ७५ हजार र पँुजी तथा ४० करोड ७ लाख ९२ हजार ६ सय रुपैयाँ विनियोजन गरिएको छ ।

दंगीशरण गाउँपालिकाले ३९ करोड ९० लाख १४ हजार ४ सय रुपैयाँको बजेट प्रस्ताव गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष पिमा खड्काले बजेट प्रस्तुत गरेकी हुन् ।

राप्ती गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ का लागि ५२ करोड ६५ लाख ११ हजार ४ सय ८० रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष जगदम्बा चौधरीले बजेट प्रस्तुत गरेकी थिइन् ।

शान्तिनगर गाउँपालिकाले ४३ करोड ५४ लाख ९६ हजार ६ सय विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मिथिला शाहले बजेट प्रस्तुत गरेकी थिइन् । चालुतर्फ २७ करोड ८ लाख ९६ हजार ६ सय र पुँजीगततर्फ १६ करोड ४५ लाख ६० हजार विनियोजन गरिएको छ ।