चौरजहारी नगरपालिकाद्वारा ४९ करोड बढीको बजेट विनियोजन

ज्ञानु गौतम
चौरजहारी, १० असार । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागी ४९ करोड २० लाख ९२ हजार ४ सय ७० रकम विनियोजन गरेको छ । नगर उपप्रमुख राधा रोकाले ११ औं नगर सभामा आर्थिक वर्ष २०७७।०७८ का लागी उक्त बजेट सभामा प्रस्तुत गरेकी हुन ।

कुल विनियोजन मध्य चालुतर्फ ३२ करोड १७ लाख १० हजार ४ सय ७० अर्थात ६५.३८ प्रतिशत र पुँजीगततर्फ १७ करोड ३ लाख ८२ हजार अर्थात ३४.६२ प्रतिशत रकम रहेको छ । सभामा उपप्रमुख रोकाले आगामी आर्थिक वर्षका लागी खर्च व्यहोर्ने स्रोतहरु मध्य आन्तरिक राजश्ववाट २ करोड ४.०६ प्रतिशत, संघीय सरकार वित्तिय समानीकरण अनुदानवाट १० करोड ३७ लाख २१।०७ प्रतिशत, संघीय सरकार सशर्त अनुदानतर्फवाट २२ करोड ५० लाख अर्थात ४५.७२ प्रतिशत रकम प्राप्त हुने बताएकी थिइन ।

त्यसैगरी संघीय सरकार राजश्व वाँडफाँडवाट ७ करोड ९१ लाख ८९ हजार ४ सय ७० प्रतिसतमा १६.०९ संघीय सरकार समपूरक अनुदानवाट ६४ लाख १.३० प्रतिशत, संघीय सरकार विशेष अनुदान २ करोड प्रतिशतमा ४.०६ प्रतिशत प्रदेश सरकार वित्तिय समानीकरण अनुदानवाट १ करोड १ लाख ९३ हजार प्रतिशतमा २.०७ प्रतिशत रकम प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

बजेट वक्तव्यमा प्रदेश राजश्व वाँडफाँडवाट ६ लाख १० हजार ०.१२ प्रतिशत प्रदेश सरकार स सःशर्त अनुदानवाट ५० लाख १.०२ प्रतिशत प्रदेश सरकार समपूरक अनुदानवाट १ करोड ७० लाख ३.४५ प्रतिशत र प्रदेश विशेष अनुदानवाट ५० लाख १.०२ प्रतिशत रकम व्यहोर्ने अनुमान गरिएको छ ।

शिक्षा पहिलो प्राथामिकता

‘टिकाऔं विकाऔं र सिकाऔं’ भन्ने नारा अनुसार वालवालिकाहरुको भर्ना दर र विद्यालयमा टिकाउ दर वढाई शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिका भित्रका सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्ममा करिव ५ हजार वालवालिकाहरु लाई पोषाक न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरणलाई निरन्तरता दिईने भएको छ ।

विद्यालयका भौतिक सुधार गर्ने र भौतिक संरचनाको पुर्ण प्रयोग गर्ने नीति अवलम्वन गरीने नीति तथा कार्यक्रम अनुसार वजेट वक्तव्यमा उल्लेख गरिएको छ । चौरजहारी नगरपालिका भित्रका सवै सामुदायिक विद्यालयहरुमा प्रयोग गरीएका टिनका छाना विहिन भवन निर्माण गरीने भएको छ ।

स्वास्थ्यमा दोस्रो प्राथामिकता

नगर सभामा प्रस्तुत गरीएको वजेटमा दोस्रो प्राथामिकता स्वास्थ्य क्षेत्रलाई दिईएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र प्रतिस्थापनको लागी नगरपालिकाले विनियोजन गरेको वजेटमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकतामा राखेको छ ।

आईसोलेसन भवन निर्माण क्वारेनटाईन व्यवस्थापन प्रयोगशाल भवन निर्माण स्वास्थ्यकर्मी चिकित्सक तथा कर्मचारीको लागी व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्थाका साथै सेवामा उत्प्रेरित गर्न प्रोत्सहान भत्ताको व्यवस्था गरिने वजेट वक्तव्यमा उल्लेख गरिएको छ । गुणस्तरिय आधारभुत स्वास्थ्य सेवामा सवै नागरिकको पहुच सुनिश्चित गर्न नगर अस्पतालको भौतिक संरचना निर्माणको काम सम्पन्न गरी संचालन गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी निशुल्क घुम्ति स्वास्थ्य संचालनको लागी चौरजहारी सामुदायिक अस्पताल संग समन्वय गरिने भएको छ । गर्भवती महिला जेष्ठ नागरिक अपांगता भएका व्यक्ति विद्यार्थी डिप्रेसनमा भएका व्यक्तिहरुका लागी मनोसामाजिक परामर्श सेवा संचालन गर्ने पिपिई मास्क पन्जा सेनिटाईजरको अभाव हुन नदिने कुरा वजेटमा समेटिएको छ ।