नारायणप्रसाद श्रेष्ठ
कुनै पनि कर्मको सफलता वा असफलता मानव जीवनले गर्ने आचरण र व्यवहारमा निर्भर रहेको हुन्छ । मानिसले जति चाहन्छ त्यत्ति उसले प्राप्त गर्न सकेको हुँदैन पनि । उसको मनोकांक्षामा कहीँ न कतै अधुरो अवस्था खड्किरहेको हुन्छ । तर पनि मानिसले आफ्नो इच्छालाई सफलोन्मुख गराउन सधैं एकै किसिमले लागिपरेको हुन्छ । व्यवहार र कर्मलाई आफ्नो सगुन साकार इच्छा वमोजिम चलायमान बनाइरहेको हुन्छ । कहिले घाम कहिले छायाँ गर्दै दुःख र सुखको अनुभूतिसँगै आफूलाई परिस्कृत गरिरहेको हुन्छ । ऊ चाहन्छ उसको चाहनाले सार्थकता पाओस् । सफलता उसको कर्मको परिणाम होस् ।
मानवीय जीवन कर्कलोको पातमा रहेको पानीको फोकासरी हुन्छ । यो कुनै पनि बेला नष्ट हुनसक्छ अथवा अर्को अर्थमा जुन माटोमा जन्मियो हुर्कियो उही माटोमा विलय हुन सक्छ । त्यसैले जीवनको जति क्षण उसले आफूलाई चलायमान बनाएको हुन्छ त्यति समयसम्म उसले गरेका हरेक कर्मले अरुको भलाई गरेको हुनुपर्छ । क्षणिक जीवनको उत्कृष्ट आचरण भनेको उसको सकारात्मक कर्म नै हो । जहाँ स्वच्छ र पवित्र कर्म हुन्छ त्यहाँ उसले जीवनको उत्तरार्ध र त्यसपछिको इतिहासले उसलाई सम्झाइरहन्छ । हरेक घडी परीक्षामा उत्तीर्ण हुनु छ भने मानिसले सत्कर्म गर्न सक्नु पर्छ । यो कुरा उसले जानेको पनि हुन्छ । जीवन प्रकृतिको नियममा चल्ने सृष्टिको रचना हो तापनि उसले प्रत्येक घडी प्रकृतिले लिने परीक्षामा ऊ उत्तीर्ण हुँदै जानु पर्दछ ।
हिड्दा, घुम्दा, खेल्दा खाँदा अथवा कर्म र व्यवहार गर्दा उसले आफूलाई परीक्षामा उतार्दै जानु पर्छ । विहान उठेर गरिने नित्य कर्मबाट अलिकति चुक्यो भने पनि जिन्दगीको गोरेटोमा उसलाई असफलता मिल्न सक्छ । खानपिन, आहारविहारलगायत सबै कुरामा आफूलाई सफल बनाउनु छ भने प्रकृतिको नियमानुसार प्रस्तुत हुनु पर्छ । उत्तरतिर जाने मनले पूर्वतिर ताक्यो भने यो गलत गन्तव्य हुनसक्छ । त्यहाँ त उसले कठोर यातना भोग्नुपर्छ । जीवनले यातनाको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । तब त्यहाँ विचारमा स्खलन पैदा हुन्छ । गलत विचार जागृत हुने स्थिति हुन्छ । यो यस्तो बेला हो जुनबेला मायाको जालोले उसलाई विकृतितिर धकेल्न सहज हुनसक्छ ।
जहाँ विकृति हुन्छ त्यहाँ उसले न त आफूलाई, न त अरुलाई चिन्ने अवस्था रहन्छ । ऊ केवल नकारात्मक सोचतर्फ मात्र केन्द्रित हुन पुग्छ । यस्तो अवस्था आउनु भनेको प्रकृतिको परीक्षामा अनुत्तीर्ण हुँदै जानु हो । जहाँ असफलता त्यहाँ विकृति, जहाँ विकृति त्यहाँ स्वार्थ, जहाँ स्वार्थ त्यहाँ अहंकार, जहाँ अहंकार त्यहाँ घमण्ड र जहाँ घमण्ड त्यहाँ सर्वनाश । घमण्ड र अहंकारले मानिसलाई कहिल्यै सफलोन्मुख गराउँदैन । जब असफलताको सामना गर्नुपर्ने अवस्था रहन्छ त्यसबेला धैर्य र सहनशील भई प्रकृतिको नियमानुसार आशाको दीप जलाउन कोशिस गर्नु पर्छ ।
अँध्यारोलाई मेटाउने उज्यालोको खोजी गर्न सक्नुपर्छ । म आफू किन अल्मलिए ? कतै मलाई मायाले फसाएको त होइन ? म मेरै स्वार्थ र घमण्डले असफल भएको त होइन ? आदर, सम्मान, मित्रता र सहनशीलता मैले पालन गर्न नसकेको कारण त होइन ? यस कुरालाई त्यसबखत सम्झन सक्ने सामथ्र्य राख्न सक्नुपर्छ । कहिलेकाहीँ यस्तो पनि हुनसक्ला भनी धैर्य र सहनशील छु भनी आफ्नो प्रत्येक कर्मलाई सकारात्मक भाव जागृत हुने भावतर्फ केन्द्रिकृत गरिरहनु पर्छ ।
प्रकृतिले लिने प्रत्यके परीक्षामा म कतै अल्मलिँदैन, मेरो स्वभाव र कर्ममा नम्रता देखिनु मेरो आदर्शता हो । सूर्यको राँपिलो घाम होस् या चन्द्रको शीतलता होस् दुवै क्षण मेरा लागि उत्तिकै महत्व छन् भनी आफूले गर्ने प्रत्येक क्षणमा सुवास ल्याउन सक्नुपर्छ । मानिस गर्मीमा पञ्चाङ्गन तापेर र चीसोमा निर्वश्त्र भएर हिमशिखरमा बस्नसक्छन् भने म पनि कुनै कुरामा पछि पर्दैन । वर्षाको उर्लिँदो भेलले बाटो छेके पनि मेरो अविचलित पाइला गतिशील भइरहन्छ भने आफूलाई दृढ राख्न सक्नुपर्छ ।
जन्मेपछि मर्नु पर्छ, मेरो अस्तित्वले स्वीकारेको छ भन्ने कुरा सोची जीवन छोटो छ, यसबेला मैले नगरे कहिले गर्ने भनी आफूलाई समर्पण गर्नुपर्छ । र, संकल्परत त्याग र समर्पणमा आधारित कर्म गर्न सधैँ लागिरहनु पर्छ । जीवन क्षणिक हो ? आज नखाए कहिले खाने ? मोजमजा आज नगरे कहिले गर्ने जस्ता कुराहरु यदि सोच्दै जाने र जीवनलाई मनोरञ्जन प्रदान गराउने हो भने यो लामो समय टिक्न सक्दैन । यसले चाँडै मनको बाँध भत्काउन पुग्दछ । मनको बाँध भत्काउनु भनेको आफूले आफैलाई धोका दिनु हो । यस्तो प्रवृत्ति भनेको सुतेर खाने प्रवृत्ति हो । नरोए आमाले दूध खुवाउँदैन भन्ने सोच राखी सधैंँ यसैलाई सोचिराख्ने हो भने र आफूलाई आरामका साथ पसिना बगाउन नचाहने हो भने यस्तो व्यक्ति कहिल्यै सफल हुनसक्दैन । यस्तो व्यक्ति न त आफू सफल हुन्छ न त उसले समाजमा आदर्श चिन्तन दिनसक्छ ।
प्रकृति सधैँ एकैकिसिमले गतिशील हुन्छ भन्नु मूर्खता हो । प्रकृति त छ ऋतु गर्मी, ठण्डी आदि हुँदै गतिशील भइरहन्छ । कहिले चीसोमा कठ्याङ्ग्रिएर त कहिले उष्ण गर्मीको तापसँगै अघि बढेको हुन्छ । यो नियम हिजो पनि थियो आज पनि छ र भोलि पनि भइरहन्छ । हामीले केवल यत्ति कुरा बुझ्न सक्नुपर्छ, प्रकृतिको नियमझैँ मानिसको जीवन पनि यस्तै हो । कहिले खुशी, कहिले दुःखी, कहिले गर्मी कहिले चीसो यी सबै हाम्रा परीक्षाका घडी हुन् । त्यसलाई हामीले प्रकृतिको नियमानुसार सहँदै उत्तीर्ण गर्दै अघि बढ्नु पर्छ ।
हामीले मिहिनेत र पसिना नबगाएर परिस्थिति अनुकूल आफूलाई प्रस्तुत नगरेर कहीँ कतै सफलता हासिल गरेको देखेका र भोगेका छैनौँ । जुनसुकै कुरामा पनि हामीले आफूलाई उतार्न सक्नुपर्छ । सर्वजन हिताय सर्वजन सुखायको मान्यता राखी संघर्ष जीवन हो, जीवन छ त संघर्ष छ भनी प्रत्येक पाइला–पाइलामा परिस्थितिको सामना गर्दै आफूलाई प्रस्तुत गर्नु पर्छ । निरन्तर कर्म र व्यवहारलाई सकारात्मक गतिमा अग्रसर गराइरहनु पर्छ । परीक्षामा सबै अब्बल दर्जा प्राप्त गर्न चाहन्छन् तर हुँदैनन् किन ? किनकि उनीहरुको मिहिनेत र लगनशीलता कमजोर भयो ।
पढ्ने बेला गुच्चा खेल्ने, परीक्षाको घडीमा मनोरञ्जन रोज्ने अनि प्रथम हुन्छु पनि भन्ने यो कतै सम्भव छ र ? क्षणिक वासनामा अल्मलिई यसले पु¥याउने क्षतिको आँकलन गर्न नसक्नेले म प्रथम हुन सक्छु भन्ने कल्पना गर्न सक्लान् तर त्यो सत्य हुँदैन । जीवन छोटो छ भन्दैमा एकै दिनमा नाश हुने त होइन नि ? यसले पनि आफूलाई विधि, प्रक्रिया र गतिशीलतामा डो¥याएको हुन्छ । धैर्य र सहनशील भई आफ्नो भविष्यको तारा बनाउने दृढसंकल्प गरेको हुन्छ । आफू भलो त जगत भलो भनी सुनौलो इतिहास रच्न ऊ सधैँ लागिपरेको हुन्छ । अन्धकारलाई उज्यालोले हटाएझैँ जीवन उज्यालो मार्गमा गतिशील बनाइरहेको हुन्छ । त्यसैले परिस्थिति अनुकूल समयको गतिसँगै आफूलाई परिचालन गर्न सक्ने क्षमता राख्नु पर्छ । क्षमता कसरी बृद्धि गर्ने भन्ने चिन्ता लिनै पर्दैन । यो जीवनको सुरुवातीसँगै मानवीय गुण र शक्तिसँगै सिर्जना भएको हुन्छ ।
मानिसभित्रै प्रतिभाको खानी हुन्छ, केवल त्यो प्रतिभालाई प्रष्फुटन गर्न सक्ने विचार प्रादुर्भाव गर्न सक्नु पर्छ । जीवन खुशी, उमंग र कुशलताको भण्डार हो । मनचिन्ते झोलीबाट जे चितायो त्यही पाइन्छ भनेकै जीवन हो । जीवनको अन्तरनिहित दिव्यता बोध गर्न सकियो भने मात्र पनि त्यहाँ स्वच्छ र पवित्र विचार सल्बलाउँछ । प्रत्येक परीक्षामा उत्तीर्ण हुन सम्भव हुन्छ । तसर्थ आफूमा भए गरेको कमीकमजोरीलाई यो मेरो अज्ञानता हो भन्ने ठानी गुनको भण्डार रहेको जीवनको महत्वलाई बुझेर सर्वजनहितायको कर्ममा आफूलाई निरन्तर समर्पण गर्न जान्नु पर्छ ।
सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी भनेझैँ असफलता नै सफलताको सिँढी उक्लिनु हो भन्ने ठानी आफूलाई निरन्तर संघर्षमा उतारिरहनु पर्छ । तसर्थ, जीवनलाई सहज र इतिहासयोग्य बनाउन आफूले आफैलाई प्रश्न गरी उत्तर लिने प्रयत्न गर्नु पर्छ । जीवनमा आउने हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरी आफूलाई परिचालन गर्ने अभ्यास गर्नु पर्छ । निरन्तरता नै सफलता हो यस कुरालाई कदापि बिर्सनु हुँदैन ।