कन्ट्याक्ट ट्रेसिङमा ढिला नगर

तुलसीपुर उपमहानगरपालिका–२ बालापुरको एउटा क्वारेन्टाइनमा बसेका एक व्यक्तिलाई आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइयो । तर घर पठाएपछि मात्रै उनको पिसिआर परीक्षणको रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो । बालापुर क्वारेन्टाइनबाट निस्केका ती व्यक्ति तुलसीपुर उपमहानगरपालिका–१७ मा रहेको घरमा पुगेर केही दिन बिताए । उनी को–कोसँगको सम्पर्कमा आए, कहाँ–कहाँ घुमे भन्ने कुराको एकीन विवरण अझै जानकारी छैन । उनी सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई स्वाब परीक्षणको दायरामा ल्याउन पनि स्थानीय सरकारले सकिरहेको छैन ।

घोराही उपमहानगरपालिकाका पनि केही क्वारेन्टाइनबाट घर पठाइएका व्यक्तिहरुमा कोरोना पोजेटिभ आयो । उनीहरु घर पुगेपछि को–को व्यक्तिको सम्पर्कमा आए भन्ने जानकारी पनि सार्वजनिक भएको छैन । आन्तरिक रुपमा पनि कन्ट्याक्ट ट्रेसिङ अर्थपूर्ण रुपमा हुन नसकेको गुनासो स्थानीयबासीको छ । यस्ता धेरै उदाहरणहरु समुदायमा छन्, जुन घटनामा कन्ट्याक्ट ट्रेसिङ समयमा हुनसकेका छैनन् ।

संक्रमणको केही सातासम्म भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई मात्र लक्षित गरी पिसिआर परीक्षणलाई अघि बढाइयो । तर नेपाल सरकारको पछिल्लो निर्देशिकाले १४ दिनसम्म क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कुनै लक्षण नदेखिए घर पठाउने पनि बाटो खुल्ला ग¥यो । कतिपय व्यक्तिहरु परीक्षणबिनै वा परीक्षणमा रिपोर्ट पोजेटिभ आए पनि घर पठाइयो । जब संक्रमितहरु निको नभई घर फर्कन्छन् भने उनीहरुबाट समुदायमा संक्रमणको जोखिम पनि स्वतः रहन्छ । यदि उनीहरु सम्पर्कमा आएको समुदायमा परीक्षण गरियो भने धेरैमा कोरोनाको संक्रमणको पुष्टि हुने अवस्था पनि देखिन सक्छ ।

यसमा सबैभन्दा पहिले स्थानीय सरकार गम्भीर हुनु आवश्यक छ । यो अवस्थालाई समयमै सम्बोधन गर्न सकिएन भने कोरोनाको संक्रमण समुदाय स्तरमा फैलने व्यापक सम्भावना छ । यदि संक्रमितहरुको संख्या यो भन्दा अधिक भएको अवस्थामा नेपालको स्वास्थ्य प्रणालीले नै थेग्न सक्ने अवस्था रहँदैन । त्यसपछि नेपालले पनि भारत, इटली र अमेरिकाको जस्तो संक्रमणको भयावह अवस्थालाई सामना गर्नुपर्ने छ । त्यो भन्दा ठूलो दुर्भाग्य अरु केही हुने छैन ।

अझै पनि समय छ । क्वारेन्टाइनबाट आरडिटी परीक्षण मात्र गरी समुदायमा फर्केका वा परीक्षण रिपोर्ट पोजेटिभ आएरै पनि घर फर्केका छन् भने उनीहरुका सम्पर्क व्यक्तिलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्नु र राज्यको तर्फबाट कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाउनु पर्दछ । अर्को कुरा शंकास्प्रद संक्रमित वा संक्रमण पुष्टि भएकाहरुले पनि आफ्नो समुदायमा गएपछि थप एक महिना जनसम्पर्कमा आउनु उपयुक्त हुने छैन । त्यसका लागि घरमै बस्ने, अनिवार्य रुपमा मास्क र ग्लोव लगाउने तथा सेनिटाइजरको प्रयोग गर्नेजस्ता न्यूनतम सरसफाईका पाटाहरुमा विशेष ध्यान दिनु आवश्यक छ । कोरोनाको संक्रमण समुदायमा फैलन नदिनका लागि अहिलेको सबैभन्दा पहिलो आवश्यकता कन्ट्याक्ट ट्रेसिङ नै हो । अर्को कुरा भनेको सावधानी र सचेतना हो । कोरोनाको विश्वव्यापी महामारीबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।