खेमराज रिजाल
दाङ, १ असार । क्वारेन्टाइनमै जवर्जस्तरुपमा बसाइँदा धेरैको स्वास्थ्य जोखिममा रहेको छ । केहीले क्वारेन्टाइनमै ज्यान गुमाएका छन् । केहीलाई उपचारका क्रममा अस्पताल लैजाने क्रममा बाटोमै निधन भएका दुखद् समाचारहरु पनि आइरहेका छन् । तर सबैलाई स्वास्थ्यसेवा उपलव्ध गराउने राज्यका विभिन्न अस्पतालहरुले भने कोरोना र नन्कोरोनाका बिरामी भन्दै भेदभावपूर्ण व्यवहार गरिरहेका छन् । त्यसको शिकार हजारौं दीर्घरोगीहरुले रोगलाई छिप्पाइरहेको अवस्था देखिएको छ ।
कोरोनाका बिरामीको मात्रै उपचारमा राज्यका सबै स्वास्थ्य निकायहरु लागिरहेको अवस्थामा केही व्यक्तिहरुले कलेजोको संक्रमणको उपचार पाउन सकेका छैनन्, केही व्यक्तिले गल ब्लाडरको पत्थरीको शल्यक्रिया गर्न पाएका छैनन् भने एपेण्डिक्सको शल्यक्रियाको अभावमा केहीले संक्रमणको समेत अवस्था खेप्नुपरेको छ । घोराहीकै बुद्ध अस्पतालमा गरिएको शल्यक्रियामा प्यांक्रियाजको समस्या देखिएपछि काठमाडौंमा रिफर गरिएका एक बिरामीलाई समेत कोरोनाको परीक्षण गरेपछि मात्रै काठमाडौंमा उपचार हुने भनिएपछि निकै समस्या भएको थियो ।
बंगलाचुलीको क्वारेन्टइनमा बसेका बिरामी राजु कार्कीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उनलाई भर्ना लिएन । कोरोनाको लक्षण देखिएको भन्दै कोरोना विशेष अस्पताल बेलझुण्डीमा पठाइयो । बेलझुण्डीले कोरोनाका संक्रमितलाई मात्र उपचार गर्ने बताएपछि बुटवल लैजाने क्रममा ती युवकको बाटोमै निधन भयो । तर राज्यले उपचार सेवा दिन नसकेकोमा कुनै समवेदना व्यक्त गरेन । बिरामीहरुलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै आइसियु र भेन्टिलेटर सेवासमेत उपलव्ध गराएको जानकारी दिने अस्पतालले किन ती बिरामीलाई भर्ना गरेन ? त्यो नै अहिलेको मुख्य प्रश्न उठिरहेको छ । तर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले त्यसलाई सस्पेक्टेड केस भनेको छ ।
‘बिरामीको प्राथमिक उपचार भएको हो, उसको ट्राभल हिस्ट्री हेर्दा सस्पेक्टेड केश थियो, त्यसैले कोरोना विशेष अस्पतालमा पठाइएको हो’, अस्पतालका निर्देशक डा. सागर पन्थीले भने । प्रतिष्ठानले दीर्घरोगीहरुलाई उपचार सेवा दिन तथा आकस्मिक रोगीहरुलाई पनि सेवाविमुख नगराएको पनि उनको अभिव्यक्ति थियो । ‘हामीले कुइरेपानीको क्वारेन्टाइनमै बसेकी गर्भवतीलाई पनि शल्यक्रिया गरेर उपचार सेवा दिइरहेका छौं, डा. वसन्त लामिछानेले शल्यक्रिया गर्नुभएको छ’, डा. पन्थीले भने । प्रतिष्ठानमा फिवर क्लिनिक पनि सञ्चालनमा रहेको तथा दीर्घरोगीहरुको पनि उपचार भइरहेको उनको अभिव्यक्ति थियो ।
तर पनि स्थानीय तहका हेल्थपोष्ट, निजी क्लिनिक तथा अन्य निजी अस्पतालले पनि बिरामीहरुलाई सहजरुपमा उपचार सेवा दिन सकेका छैनन् । ‘मैले महिनौदेखि नियमित स्वास्थ्य परीक्षण गर्दै आएको एउटा क्लिनिकले मेरो प्रेसर नाप्नसमेत मानेन, किनकि सधै प्रेसर जाँच्ने उही भाइले डाक्टर हुनुहुन्न भन्यो’, घोराही बजारको एउटा क्लिनिकमा भेटिएकी महिलाले भनिन् । उनी त प्रतिनिधिपात्र मात्रै हुन् । अहिले बजारमा रहेका निजी क्लिनिक र मेडिकलहरु बिरामी जाँच्न र रोग पहिचान गर्न भन्दा पनि औषधिमात्रै बेच्ने अभ्यासमा छन् । जसका कारण दीर्घरोगीहरुले नियमित उपचार सेवा पाएका छैनन् ।
‘कोरोनाका नाममा धेरैलाई बजेट दुरुपयोग गर्ने अवस्था मिलेको छ, तर खासमा दीर्घरोगीहरु तथा आकस्मिक बिरामीले स्वास्थ्य संस्थाहरुबाट नियमित स्वास्थ्य सेवा पाएको अवस्था छैन’, नेकपा मालेका केन्द्रीय सल्लाहकार तथा घोराही निवासी गोविन्द केकेले भने । कोरोनाको त्रास देखाएर अन्य रोगका बिरामीलाई उपचारविहीन अवस्थामा राख्नु अर्को दुर्भाग्य हुने पनि उनको अभिव्यक्ति थियो । बिरामीहरुले नियमित स्वास्थ्य उपचार सेवा नपाएको अवस्थामा रोग बल्झिएर क्यान्सरसम्मका घातक रोगहरु लाग्न सक्ने पनि उनको अभिव्यक्ति थियो
अलपत्र सिटीस्क्यान, विशेषज्ञ चिकित्सक केराबारीमा
तुलसीपुरको प्रादेशिक अस्पतालमा पनि सार्वसाधारणलाई स्वास्थ्य उपचारको अवस्था सहज छैन । आकस्मिक कक्षमा बिरामीहरुलाई उपचार सेवा प्रदान गरिँदै आएको छ । गर्भवतीहरुलाई पनि सहजै शल्यक्रिया गर्ने र बच्चा जन्माउने सवालमा प्रादेशिक अस्पताल गम्भीर छैन । विशेषज्ञ चिकित्सक या त निजी क्लिनिकमा भेटिन्छन् या अस्पताल परिसरमा रहेको केराबारीमा । प्रादेशिक अस्पतालमा सहज स्वास्थ्य उपचार सेवासँगै करिब तीन महिनाअघि सिटीस्क्यान मेसिन ल्याइएको थियो । तर लकडाउनको कारण देखाउँदै सो सिटीस्क्यान मेसिन जडान गर्न सकिएको छैन । यसअघि नै आइसियू सेवा सञ्चालन गर्ने योजनाअनुरुप केही मेसिन र मोनिटर पनि खरिद गरी अस्पतालमा ल्याइएको थियो । तर ती सामानहरु पनि कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको छ । अस्पताल श्रोतले ती मेसिनहरु प्रादेशिक अस्पताल बेलझुण्डीमै लगिएको बताएको छ । तर अस्पतालमा खचाखच विशेषज्ञ चिकित्सकहरु भए पनि उपचार सेवामा उनीहरु लागेको देखिएको छैन । विशेषज्ञ चिकित्सकहरु केराबारीको शितल छहारीमा बसिरहेका हुन्छन् । अस्पतालका मेसु कोरोना अस्पताल बेलझुण्डीमा व्यस्त छन् । सिटीस्क्यान किन जोडिएन भन्ने सवालमा अस्पताल प्रशासनले आधिकारिक अभिव्यक्ति दिएको छैन ।
तर अस्पतालका विशेषज्ञ चिकित्सकहरुले भने आवश्यकताअनुसार सम्बन्धित रोगका बिरामीहरुलाई नियमित स्वास्थ्य उपचार सेवा दिइरहेको बताएका छन् । ‘मैले नियमितरुपमा बिरामीको चेकजाँच गरिरहेको छु, सामान्य बिरामीलाई फिवर क्लिनिकमा चेकजाँच हुन्छ, गम्भीर यौन रोग भएको आशंका लागे नजिकैको सेप्रेट कोठामा लगेर चेकजाँच गर्छु’, अस्पतालका यौन तथा छाला रोग विशेषज्ञ डा. प्रताप पोख्रेलले भने । अस्पताल स्रोतका अनुसार तुलसीपुर प्रादेशिक अस्पताल अहिले पारामेडिक्स र मेडिकल अफिसरका भरमा मात्रै चलेको छ । विशेषज्ञ चिकित्सकले कुनै पनि बिरामीलाई नियमित स्वास्थ्य परीक्षण गरिरहेको अवस्था छैन । तर पनि मेडिकल अफिसरकै सल्लाह र सुझावमा बिरामी भर्ना भने गरिएको छ । अस्पतालको मेडिकल वार्ड पूरै भरिएको अस्पताल प्रशासनले जनाएको छ ।