ब्रह्माकुमार माधव तिमिल्सेना
यस संसारमा धेरै पाठहरू छन्, हरेक पुस्तक आफैंमा महान् छन् । प्रत्येक शास्त्रको प्रस्तुतीकरणको आफ्नै विशेषता हुन्छ,तर प्रसङ्ग सबैमा एक हो। महान ग्रन्थहरु मध्ये एक “श्रीमद् भागवत गीता“ हो । गीता कर्म र कर्मको सिद्धान्तको बारेमा हाम्रो ज्ञान नेत्र खोल्नको लागि एक महान् कुञ्जीपनि हो ।गीताले हामीलाई प्रचलन,परम्परा वा कर्मकाण्ड सिकाउँदैन वरु कसरी मार्ग तय गर्ने र त्यसमा कसरी हिड्ने भनेर सिकाउँछ। भौगोलिक संरचना,जलवायू एवं सांस्कृतिक भिन्नतामा परिपाटी,प्रचलन फरक हुन सक्छन र तिनीहरुको पालना गर्न हरेक परिस्थितिमा संभव नहुनपनि सक्दछ ।
भगवद् गीताले कर्मलाई प्रधान मान्दछ र यो सत्य हो कि संसारमा कर्म भनेको सबै थोक हो।प्रत्येक सभ्यता र समाजमा समय अनुसार कर्मको सानो र ठूलो र राम्रो वा नराम्रोको परिभाषा होला परन्तु हाम्रो सोच नै हाम्रो कर्मको पहिलो सिंढी हो । संसारमा हरेक मानिसहरु सँधै कर्ममा लीन हुन्छन र त्यसै बमोजिमको फल पनि पाउँछन।न हि कश्चित्क्षणमपि जातु तिष्ठत्यकर्मकृत् ।कार्यते ह्यवशः कर्म सर्वः प्रकृतिजैर्गुणैः ॥अर्थ– “निःसन्देह कुनै पनि कालमा कर्म विना मानिस एकक्षण पनि पनि बाँच्दैन ।

श्रीमद्भागवत गीता शास्त्रमा एक पटक पनि हिन्दु शब्दको प्रयोग भएको पाइदैन । भावार्थ यो धर्मशास्त्र सम्पुर्ण मानव जातिको कल्याण वा मानवताका लागि हो । त्यसैले होला आज सन्सारको सबैभन्दा बढी भाषामा अनुवाद गरिएको पवित्र पुस्तक हो– गीता । गीता कुनै स्थुल हिंसा गर्न दिएको शास्त्र होइन । गीताज्ञान जीवन सङघर्षको समयमा विजयी हुनको लागि प्रेरणा दिने शास्त्र हो । श्रीमद्भागवत गीता भन्नू नै जीवन सङग्राममा शाश्वत बिजयी बन्ने कृयात्मक प्रशिक्षण हो …..विडम्वना ! सवैभन्दा वढी भाषामा अनुवादित शाश्वत भगवद् गीता वचन भएरपनि शाव्दिक अर्थको भरमा शास्त्री वन्नेहरुको अनर्थ व्याख्याले यसको गरिमा र ओजसलाई ओझेल पारेको देखिन्छ ।
यो कति आश्चर्यको कुरा छ भने आज मानिसलाई यो पनि थाहा छैन परमप्रिय परमात्मा शिव, जसलाई ‘ज्ञानको सागर’ तथा ‘कल्याणकारी’ मानिन्छ, उहाँले मानिसहरूको कल्याणको लागि जो ज्ञान दिनुभयो उक्त शास्त्र कुन हो? यद्यपि गीताज्ञानलाई भगवानद्वारा दिइएको ज्ञान मानिन्छ, तर पनि आज सबै मानिसहरू यही मान्दछन् कि गीता–ज्ञान श्रीकृष्णले द्वापरयुगको अन्त्यमा युद्धको मैदानमा अर्जुनको रथमा चढेर दिनुभएको थियो । वास्तवमा गीताज्ञान निराकार परमपिता परमात्मा शिवले दिनुभएको थियो र फेरि गीताज्ञानद्वारा सत्ययुगमा श्रीकृष्णको जन्म भएको थियो। अतः गोपेश्वर परमपिता शिव श्रीकृष्णको पनि पारलौकिक पिता हुनुहुन्छ र गीता श्रीकृष्णकी पनि माता हुन्।
यो कुरा सबै जान्दछन् कि गीताज्ञान दिनुको उद्देश्य पृथ्वीमा पुनः धर्मको स्थापना गर्नु नै थियो। गीतामा भगवानले स्पष्ट भन्नु भएको छ कि “म अधर्मको विनाश तथा सत्यधर्मको स्थापनार्थ नै अवतरण हुन्छु” अतः भगवानको अवतरण भएपछि तथा गीताज्ञान दिएपछि धर्मको तथा दैवी स्वभाव भएको सम्प्रदायको पुनः स्थापना हुनुपर्ने हो। हामी जानकारी छौ कि द्वापरयुगको पछि त कलियुग शुरू भयो जसमा झन् धर्मको ग्लानी एवं धर्म भ्रष्टता झन मौलाउँदै गयो । मानिसको स्वभाव तमोप्रधान तथा आसुरी नै भयो। अतः जो व्यक्तिहरू यो मान्दछन् कि भगवानले गीताज्ञान द्वापरको अन्त्यमा दिनुभयो उनीहरूले विचार गर्नु पर्दछ कि के गीताज्ञान दिनु र भगवानको अवतरण हुनुको यही फल भयो त? के गीताज्ञान दिइसकेपछि अधर्मको युग प्रारम्भ भयो? स्पष्ट छ कि उनीहरूको विवेकले यस प्रश्नको उत्तर ‘होइन’ शब्दद्वारा नै दिन्छन्।
भगवानको अवतरणपछि कलियुगको प्रारम्भ मान्नु भगवानको ग्लानि गर्नु हो किनकि भगवानको यथार्थ परिचय हो कि उहाँ अवतरित भएर पृथ्वीलाई असुरबाट खाली गर्नुहुन्छ र धर्मलाई पूर्ण कलाहरू सहित स्थापन गरेर तथा नरलाई श्री नारायण बनाएर मानिसको सद्गति गर्नुहुन्छ। भगवान सृष्टिको ‘बीज रूप’ हुनुहुन्छ, अतः यस धरतीमा उहाँ आएपछि नयाँ सृष्टिवृक्ष अर्थात् नयाँ सत्ययुगी सृष्टिको प्रादुर्भाव हुन्छ। यसको अतिरिक्त यदि द्वापरको अन्त्यमा गीताज्ञान दिईएको हुन्थ्यो भने कलियुगको तमोप्रधान कालमा त्यसको प्रारब्ध नै भोग्न सकिँदैन। आज पनि तपाइँहरू देख्नुहुन्छ कि दीपावलीको दिनमा श्री लक्ष्मीलाई आह्वान गर्नकोलागि हिन्दू संस्कार पद्धतीमामानिसहरु आफ्ना घरहरूलाई सरसफाई गर्दछन् तथा दियो आदि जलाउँछन्। यसबाट स्पष्ट छ कि अपवित्रता र अन्धकार भएको स्थानमा देवताहरू आफ्नो पाइला पनि टेक्दैनन्।
अतःश्रीकृष्ण अर्थात् लक्ष्मीपति श्रीनारायणको जन्म द्वापरयुगमा मान्नु महान् भुल हो। उहाँको जन्म सत्ययुगमा भयो जबकि सबै मित्रसम्बन्धी तथा प्राकृतिक पदार्थहरू सतोप्रधान र दिव्य थिए। सबैको आत्मारूपी दीपक जलेको थियो र सृष्टिमा कुनै पनि म्लेच्छ तथा क्लेश थिएन।अतः उपर्युक्त भनाइबाट स्पष्ट छ कि न त श्रीकृष्ण नै द्वापरयुगमा भएर जानुभयो न त गीताज्ञान द्वापरयुगको अन्त्यमा दिइएको थियो बरू निराकार पतितपावन परमात्मा शिवले कलियुगको अन्त्य र सतयुगको शुरूको संगमको समय,धर्मग्लानिको समयमा ब्रह्माको मानवीय साकार शरीरमा दिव्य जन्म लिएर गीताज्ञान दिई सत्ययुगको तथा श्रीकृष्ण (स्वंयम्वर पश्चात श्रीनारायण) को स्वराज्यको स्थापना गर्नुभएको थियो। श्रीकृष्णका त आफ्ना आमाबुबा, शिक्षक हुनुहुन्थ्यो तर गीताज्ञान सबै आत्माहरूका मातापिता शिवले दिनुभयो ।
आज परमात्माको दिव्य जन्म र ‘रथ’ को स्वरूपलाई नजानेको कारण, मानिसहरूको यो मान्यता दृढ भइसकेको छ कि गीताज्ञान श्रीकृष्णले अर्जुनको रथमा चढेर लडाइँको मैदानमा दिनुभएको थियो । तपाईहरू नै विचार गर्नुहोस् जबकी अहिंसालाई धर्मको परमलक्षण मानिएको छ र धर्मात्मा अथवा महात्माहरू पनि अहिंसालाई पालन गर्दछन् तथा अहिंसाको शिक्षा दिन्छन् भने के भगवानले कुनै हिंसक युद्धको लागि कसैलाई शिक्षा दिएको होला त ? लौकिक पिता पनि आफ्ना बच्चाहरूलाई यो शिक्षा दिन्छन् कि परस्पर न लड्नू। के सृष्टिका परमपिता शान्तिका सागर परमात्माले मानिसलाई परस्पर लडाएर रमिता हेर्नु भयो होला? यो त कदापी हुनै सक्दैन।
भगवानले दैवी स्वभाव भएको सम्प्रदायको तथा सर्वोत्तम धर्मको स्थापनाको लागि नै गीताज्ञान दिनुहुन्छ र त्यसबाट मानिसले रागद्वेष, हिंसा, क्रोध इत्यादि माथि विजय प्राप्त गर्दछन्। अतः वास्तविकता यो हो कि निराकार परमपिता परमात्मा शिवले यस सृष्टि रूपी कर्मक्षेत्र,धर्मक्षेत्र अथवा कुरुक्षेत्रमा अर्जुन अर्थात प्रजापिता ब्रह्माको शरीररूपी रथमा प्रवेश भएर माया अर्थात् विकारहरूसँग युद्ध गर्ने शिक्षा दिनुभएको कुरालाई लेखकले पछि आलंकारिक भाषामा यसको वर्णन गरे तथा चित्रकारहरूले पछि शरीरलाई रथको रूपमा अंकित गरेर प्रजापिता ब्रह्माको आत्मालाई पनि त्यसै रथमा एक मानिसको रूपमा चित्रित गरे । संगमयुगमा भगवान शिवले जब प्रजापिता ब्रह्माको शरीर रूपी रथमा अवतरित भएर ज्ञान दिनुभयो र धर्मको स्थापना गर्नुभयो ।
त्यसपछि कलियुगी सृष्टिको महाविनाश भयो र सत्ययुगको स्थापना भयो। अतः यस सर्वमहान् परिवर्तनको कारण पछि यो वास्तविक रहस्य प्रायः लोप भई हाल्यो। फेरि द्वापर युगको भक्ति कालमा गीता लेखियो । धेरै पहिले संगमयुगमा भएको यस वृत्तान्तको जो रूपान्तर व्यासले वर्तमान कालको प्रयोग गरेर गर्नुभयो समयान्तरमा मानिसहरूले गीताज्ञानलाई पनि व्यासको जीवन कालमा अर्थात् ‘द्वापर युगमा’ दिइएको ज्ञान मान्न लागे। तर यस भूलले संसारमा धेरै ठूलो हानि हुन गयो ।
यदि मानिसहरूलाई यो रहस्य ठीकसँग थाहा हुन्थ्यो कि गीताज्ञान निराकार परमपिता परमात्मा शिवले दिनुभएको थियो जो कि श्रीकृष्णका पनि पारलौकिक पिता हुनुहुन्छ र सबै धर्मका अनुयायीहरूका परमपूज्य तथा सबैका एकमात्र सद्गतिदाता तथा राज्यभाग्य दिने हुनुहुन्छ। सबै धर्मका अनुयायीहरू गीतालाई नै संसारको सर्वोत्तम शास्त्र मान्ने थिए र ती महावाक्यहरूलाई परमपिताका महावाक्य मानेर तिनीहरूलाई शिरोधार्य गर्ने थिए र उनीहरू अविनाशी भरतखण्डलाई नै आफ्नो सर्वोत्तम तीर्थ मान्ने थिए तथा शिवजयन्तीलाई गीताजयन्ती तथा गीताजयन्तीलाई शिवजयन्तीको रूपमा स्वीकार्ने थिएउनीहरू एक ज्योतिस्वरूप, निराकार, परमपिता परमात्मा शिवसँग नै योगयुक्त भएर पावन बन्ने थिए तथा त्यसबाट सुख, शान्तिको जन्मसिद्ध अधिकार प्राप्त गर्ने थिए ।
तर आज उपर्युक्त सर्वोत्तम रहस्यलाई नजानेको कारण र गीता माताका पति सर्वमान्य निराकार परमात्मा शिवको ठाउँमा गीतापुत्र श्रीकृष्ण देवताको नाउँ लेखिदिएको कारणले गीता नै खण्डन हुन गयो र संसारमा घोर अनर्थ, हाहाकार तथा पापाचार हुन गयो र मानिसहरू एक निराकार परमपिता परमात्माको आज्ञा ‘मन्मनाभव’ अर्थात् ‘एक मलाई मात्र यादगर’ लाई भुलेर व्यभिचारी अर्थात अनेकको भक्ति गर्ने बुद्धि भएका हुनगए !! आज फेरि उपर्युक्त रहस्यलाई जानेर परमपिता परमात्मा शिवसँग योगयुक्त भएमा पुनः यस विश्वमा श्रीकृष्ण अथवा श्रीनारायणको सुखदायी स्वराज्य स्थापना हुन सक्दछ र भइरहेको छ।
परमपिता परमात्मा समस्त मानव मध्येको एउटा वर्ण— क्षेत्री, त्यसमध्ये पनि पाण्डवका एकजना अर्जुनको मात्र कल्याण चाहने होइन । उहाँ त समस्त मानव लगायत पञ्च महाभूत र ब्रÞमाण्डकै कल्याण गर्ने र गराउने परमआत्मा हुनुहुन्छ । आजसम्म पनि हामीमाझ उपलब्ध हरेक गीता एकै अर्जुनको हित चाहेको र चाहने श्री कृष्णको वचन र श्लोक भएको देखाइन्छ । जब कि परमपिता परमात्मा समस्त विश्वको कल्याण कारक भएकोले नै उहाँलाई शिवको नामले पुकारिन्छ । यसरी नै श्रीमद्भगवद् गीता पनि कुनै एक वर्ग, वर्ण वा सम्प्रदायको मात्र कल्याणको निमित्त होइन ।
आत्मिक दृष्टिले हरेक शरीरधारी क्षेत्रीले कर्तव्य कर्मरूपी युद्ध नगरेमा हुने परिणामलाई उजागर गर्दै सवै प्राणीहरूद्वारा अकीर्ति गरिने र अकीर्तिका कारण देह अभिमानी मानवको लागि मरणसमानको दुःखदायी बन्दछ भनिएको छ । समग्रमा आपूm शरीर होइन आत्मा हो भनी थाहा हुनेहरूलाई पनि निरन्तर युद्ध,कोलाहल वातावरण, वैमनष्यता, झगडा गर्नु वा अशान्तिमा आउनु कसैलाई राम्रो लाग्दैन । समाजमा टोलमा वा छिमेकमा अशान्ति फैलाउने क्रोधीको तुलनामा शान्त वा भलाद्मी व्यक्तिलाई उच्च स्थान दिइन्छ भने सर्व शास्त्रमयी शिरोमणि गीतामा मानवको संहार हुनेगरी १८ अक्षौहीणी सेनाको उल्लेख गरी कुनै एक आत्मालाई ज्ञान प्रक्षेप गर्दा गीता सर्वशास्त्रमयी शिरोमणि भनी संबोधन कत्तिको सान्दर्भिक हुन्छ? आत्मा ज्ञानयुक्त अवस्थामा रहनेलाई युद्धमा लाग्ने कुनै संकल्प पनि हँदैन जो जय पराजय, लाभ हानि र सुख दुःखमा समान रही कर्तव्य कर्मरूपी युद्धमा लाग्नेलाई पाप प्राप्त हुँदैन । यस कारण गीता कुनै एक वर्ण क्षेत्रीको मात्र कल्याण अर्थको नभई समग्र जीव, प्रकृति वा पञ्च महाभूतको कल्याण समेत निहित भएको ज्ञान सहितको शास्त्र हो ।
शरीररूपी आत्माको रथलाई परमार्थ कर्ममा कुशलता एवम् निपूर्णतापूर्वक सञ्चालन गर्ने वा हाँक्ने आत्मा रथीलाई सम्बोधन हुने उपाधि हो । महारथी जो पूर्ण वा मनसा, वाचा र कर्मणामा अहिंसक तबमात्र पद र नाम यथार्थमा सफल हुन्छ । । कोही कसैसँग शारीरिक युद्धरूपी मल्लयुद्ध वा हतियार सहितको हिंसक युद्धमा निपुणता प्राप्त भएकोलाई होइन । शारीरिक बल र हतियारको बलले पदासीन महारथी र आत्मिक शक्ति भएकाहरूको तुलानामा शिथिल र निम्न कोटीमा पर्दछन् । जीवनको यात्रामा आइरहने स्थिति परिस्थिति र आँधी व्याधीमा जय जराजय, लाभ हानी र सुख होस् वा दुःख हरेक समय कर्तव्यमा समान रही स्थितप्रज्ञ जीवन बनाउनेलाई नै हो श्रीमत ।
हिंसा सहितको युद्धमा स्थितप्रज्ञ वा सांख्य योगीको अवस्था कल्पना पनि गर्न सकिन्न । योगी आत्मा सदा शान्त, स्वधर्ममा रहने, सदा धर्ममय पूर्ण–अहिंसक र देही अभिमानीको हो र उक्त वचन परमपिता परमात्मा शिव भगवानुवाच हो भने कसैलाई मार्ने र मर्ने हिंसायुक्त देह अभिमानको कारण अशान्त रहने शत्रु बढाउने र अनगिन्ती मानवलाई मृत्यु शैयामा पु¥याउने गरी ज्ञान दिने भनी श्री कृष्णलाई देखाइयो ।
आजभोलि प्रतिदिन समाचारपत्रहरूमा अकाल,बाढी, भष्ट्राचार वा लडाइँ झगडाका खवरहरू पढ्न पाइन्छ । प्रकृतिका पाँच तत्वहरू पनि मानिसलाई दुःख दिइरहेका छन् र सारा वातावरण नै दूषित भइसकेको छ । अत्याचार, विषयविकार तथा अधर्मको नै बढी आवाज छ र यो विश्व नै काँटाहरूको जंगल बनिसकेको छ। एक समय थियो जबकि विश्वमा सम्पूर्ण सुखशान्तिको साम्राज्य थियो र त्यो सृष्टि ‘फूलहरूको बगैंचा’ थियो। प्रकृति पनि सतोप्रधान थियो। कुनै पनि प्रकारका प्राकृतिक आपदहरू थिएनन्। मानिस पनि सतोप्रधान दैवीगुण सम्पन्न थिए र आनन्दखुशीमा जीवन व्यतीत गर्दथे। त्यस समयमा यो पूरा संसार स्वर्ग थियो,जसलाई सत्ययुग पनि भन्दछन्।
यस विश्वमा समृद्धि, सुख र शान्तिको मुख्य कारण यही थियो कि त्यस समयका राजा र प्रजा सबै पवित्र र श्रेष्ठाचारी थिए। त्यसैले उनीहरूको शिरमा सुनको रत्न जडित ताज र अतिरिक्त पवित्रताको ताज पनि देखाइन्छ। श्री कृष्ण तथा श्री राधा सत्ययुगको प्रथम महाराजकुमार र महाराजकुमारी जसको स्वयम्बरको पश्चात् श्री नारायण र श्री लक्ष्मी नाउँ हुन्छ। उहाँहरुको राज्यमा पशुपंक्षीहरु समेत पूर्ण अहिंसक थिए। त्यस समय सबै श्रेष्ठाचारी, निर्विकारी, अहिंसक र मर्यादापुरुषोत्तम थिए । ‘देवता’ को रुपमा मानिन्थ्यो जबकि त्यस समयको दाँजोमा आजको मानिस विकारी,दुःखी र अशान्त भईसकेको छ। यो संसार पनि रौरव नरक बनिसकेको छ ।
सबै नर–नारी काम क्रोधादि विषय विकारमा डुबुल्की लगाईरहेका छन्। सबैको काँधमा मायाको बोझ छ आजको मानव विकार र दुःखबाट मुक्त छैन। अव यूग परिवर्तनको समय आईसकेको छ । गीतामा दिनुभएको वचन अनुसार परमात्मा शिव यस धरतीमा अवतरण भैसक्नु भएको छ । हामीलाई मनोविकारसँग ज्ञान योगको शस्त्रले युद्ध गरी सम्पूर्ण अवस्था प्राप्त गरी स्वर्गीय आनन्द लिन प्रेरित गर्दे हुनुहुन्छ ।
श्रीमद्भगवद गीताले हामीलाई ’हाम्रो जीवन कस्तो हुनुपर्दछ’ भन्ने कला सिकाउँछ । “जब मानिसको दिमाग धेरै जटिलताले भरिन्छ,ऊ सहि मार्ग रोज्न चाहन्छ ! धेरै महान आत्माहरूको अनुभव छ कि जब उनीहरूले श्रीमद्भगवद् गीता पढ्न थाल्छन्,उनीहरुको दिमागका धेरै प्रश्नहरूको जवाफ स्वतः दिन्छन् । यो गीता ज्ञान दिमागलाई बल दिनको लागि एक शक्तिशाली टनिक हो, जहाँबाट एक व्यक्तिले आफ्नो शक्ति पुनः प्राप्त गर्दछ । धेरै प्रकारका कमजोरीहरूमाथि विजय प्राप्त गर्ने शक्ति मानिसमा यो ज्ञानबाट आउँदछ । सबै वेद र उपनिषदको सार गीता ज्ञानमा गाँभिएको छ । पारिवारिक अवस्थाको समस्याको समाधान सामाजिक परिस्थितिको समाधान पनि यसमा पाईन्छ । यसमा धेरै गोप्य रहस्यहरू छन् जुन हामी आध्यात्मिकताका आधारमा गहिरा रहस्यहरू बुझ्छौ । यसरी हेर्दा गीता कुनै धर्म विशेषको ग्रन्थ नभै जीवन जिउने पद्धतीको ज्ञान दिने शिक्षा हो ।
यो ज्ञानले हिंसा हैन अहिंसा शान्ति र समाज रुपान्तरणको मार्ग देखाउँछ जुन समस्त मानवका लागि अपरिहार्य छ । जीवन सुन्दर छ र अनुपम पनि छ । ओम शान्ति ।
लेखक डिभिजन वन कार्यालय,दाङका अधिकृत एवं ब्रह्माकुमारीज संस्थासँग आवद्ध एक आद्यात्मिक अभियन्ता पनि हुन् ।