दाङ,३२ जेठ । दाङमा एकैदिन ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। आइतवार घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञन प्रतिष्ठानमा गरिएको कोरोना भाइरस परिक्षणका क्रममा बंगलाचुली गाउँपालिकामा मात्रै आइतबार एकैदिन ४४ संक्रमित फेला परेका हुन ।
उनीहरु बंगलाचुली गाउँपालिका वडा नं. ६ को भुटनेटामा रहेको वडा कार्यालयर्का नवनिर्मित भवन र स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए ।
योसँगै दाङको बंगलाचुलीमा मात्रै ६९ जनामा संक्रमण पुष्टि भएको छ। शनिवार सोही क्वारेन्टाइनमा बसेका प्युठान जिल्ला माण्डवी गाउँपालिका–४ निवासी एक युवाको मृत्यु भएको थियो । तर उनको पिसिआर परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको थियो ।
आइतवार गरिएको परीक्षणअनुसार तुलसीपुर उपमहानगरपालिकामा–१७ का १ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ ।
प्रतिष्ठानले आधिकारीक रुपमा चार बजेपछि जानकारी गराउने भएको छ । योसंगै दाङमा कोरोना भाइरसका संक्रमितको संख्या १५२ पुगेको छ।