राधेश्याम उपाध्याय
केही समय पहिले एउटी राम्री ऋषिपुत्री थिइन् । उनले स्वमी नपाएर शङ्करजीको आराधना गर्दी भइन् । महादेव खुशी भएर वरदान माग भने । उनले पनि राम्रो सुयोग्य वर पाउँ भनिन् । तर हतारमा भन्दा पति, पति, पति, पति, पति पाउँ भनि पाँच पटक पति मागिन् र भगवान शिवले पनि तथास्तु तिमीले पाँच पति पउने छौ तर यो जन्ममा होइन अर्को जन्ममा तिम्रो इच्छानुसारका वर पाउने छौ भनि वरदान दिए र अन्तरध्यान भए ।
अर्कोतर्फ राजा द्रुपदका एकमात्र छोरी शिखण्डीनी थिइन । सिखण्डीनी सेना प्रमुख पनि थिइन । सिखण्डीनी पूर्व जन्ममा काँशीराज राजाकी जेठी छोरी अम्बा थिइन् । जो भीष्मलाई मार्नका लागि यो जन्ममा सिखण्डीनी भएर जन्मेकी थिइन् । जब पाण्डवहरुले गुरु द्रोणको आज्ञानुसार द्रुपदलाई बाँधेर गुरु द्रोणलाई बुझाए र द्रोणले आधा राज्य लिएर छोरा अस्वस्थामालाई राजा बनाएका थिए । यो युद्घमा सेना प्रमुखको नाताले सेनापति सिखण्डीनीले राजालाई बचाउन सकिनन् ।
यसबाट सिखण्डीनीप्रति राजा क्रुध भए । द्रुपदलाई गुरु द्रोणलाई मार्नसक्ने छोरा चाहिएको थियो । उनले सुयोग्य ब्राह्मणलाई बोलाए र आफ्नो इच्छा जाहेर गरे र ब्राह्मणको सल्लाहमा छोरो प्राप्तिका लागि ठूलो पुत्रेष्ठी यज्ञ गर्न लगाए । यज्ञबाट छोरा धृष्टदुधम्न र छोरी द्रौपदीको उत्पत्ति भयो भन्ने कथा सुनाएर तिमीहरुको मनोकामना पूरा हुनेछ । ब्राह्मणको भेषमा केही डर नमानी पाञ्चाल (बिदर्भ) देश जाऊ भनि सल्लाह दिए र व्यासमुनि हिँडे ।
स्वयम्बरमा पाँच पाण्डवहरु मुनिभेषमा पाण्चाल गए । स्वयम्बरमा दुर्योधन, शल्य, शाल्व, शकुनी, कर्णहरु पनि आएका थिए । स्वयम्बरको शर्त ‘तल पोखरीमा भएको पानीमा हेरेर माथि चक्रमा घुमिरहेको माछाको आँखा भेद्न गर्नुपर्ने थियो । कसैले पनि लक्ष्य भेदन गर्न सकेनन् । कर्ण लक्ष्य भेदन गर्न उठे । कृष्णको भनाईअनुसार कर्णले लक्ष्य भेदन गर्नसक्थे तर द्रौपदीले म सुतपुत्रसँग विवाह गर्दैन भनेर कर्णलाई लक्ष्य भेदन गर्नबाट रोकिदिइन् । कर्ण लज्जित भएर आफ्नो आशनमा गई बसे ।
कृष्णको सल्लाहमा राजा द्रुपदले ब्राह्मणहरुलाई पनि लक्ष्य भेदन गरी द्रौपदीको स्वयमबरमा भाग लिन आह्वान गरे । अर्जुनले लक्ष्य भेदन गरे र द्रौपदीलाई लगे । यो सबै त्यहाँ रहेका राजा तथा राजकुमारहरुलाई सह्य भएन । कौरवहरुले पाण्डवहरुलाई चिने र झस्किए । सकुनीको उक्साहटमा पाण्डवहरुलाई त्यहीँ मारिदिन चाहन्थे । केहीबेर युद्घ नै चल्यो, कर्णले यो युद्धमा भाग लिएनन् ।
धृष्टब्द्धुन र पाण्डवहरुले सबैलाई हराए । उता श्रीकृष्णले सबै राजाहरुलाई नम्रताका साथा सम्झाउनुभयो । कृष्णले पाहुनाहरुसँग युद्ध गर्न हँुदैन भनेर धृष्टब्द्ध्युनलाई रोके ठूलो युद्ध भएन । सकुनी र दुर्योधनको चाहना पूरा हुन सकेन । सबै आ–आफ्ना निवासतर्फ लागे । पाञ्चालीलाई लिएर पाण्डवहरु पनि आफ्ना वासस्थानतर्फ गए । त्यस समयमा कुन्ती सन्ध्याकालीन पूजामा लागेकी थिइन् । ढोकामा पुगेर पाण्डवहरुले आमा केही वस्तु ल्याएर आएका छौँ ढोका खोल्नुस् भन्दा ‘म पूजामा छु, पाँचै भाइ आपसमा मिलेर बाँडेर खुशी साथ ग्रहण गर’ भनिन् । छोराहरु अक्क न बक्क भए । आमा पूजा सकेर बाहिर आइन् ।
द्रौपदीलाई देखिन् र उनी पनि अक्मकाइन् । म दोषी हुन्छु कि भनि आत्तिन थालिन्, निकै विचार विमर्श भयो । अन्त्यमा पाँचै भइले आमाको आज्ञानुसार पत्नी बनाउने भए । अर्को दिन अर्जुनलाई कन्यादान दिन्छु भनेर द्रुपदलेभन्दा युधिष्ठिरले पाँचै भइले विवाह गर्ने आमाको आदेश छ भने । त्यहाँ पनि विचार विमर्श भयो । युधिष्ठिरले पहिलेका केही उदाहरणहरु प्रस्तुत गरे । गौतम गोत्रकी कुनै जटिला नाम गरेकी कन्या थिइन्, उनका सात पति थिए । कण्डु मुनिकी छोरी कक्षिकाका दश भाइ पति थिए ।
जसबाट दक्ष प्रजापतिको जन्म भएको थियो । त्यसैले पाँच भइसँग विवाह गर्न मिल्छ भने । वादविवाद चल्दै थियो, व्यास मुनि आए र द्रौपदीले शिवबाट पाँच पतिको वरदान पाएको रहस्य द्रुपदलाई सुनाए र द्रौपदीको विवाह पाँच पाण्डवसँग गर्न मिल्छ भने र द्रौपदीको विवाह पाँच पाण्डवसँग सम्पन्न भयो । द्रौपदीसँग विवाह गरेका पाण्डवहरु दु्रपदकहाँ खुशी साथ रहँने भए ।
हस्तिनापुरमा खैलाबैला भयो । कसैले पाण्डवहरुलाई अब मतलव नै नगर्ने भने कसैले लडेर मारिदिनु पर्दछ भने, कसैले बोलाएर कारागारमा हालिदिनु पर्दछ भने । भीष्म गुरु द्रोण महामन्त्री विदुरले सल्लाह गरेर ‘अब अति भयो, अब पानी र तेल एउटै भाँडोमा रहन सक्दैन, त्यसैगरी पापी कौरव र धर्मात्मा पाण्डव एउटै राज्यमा बस्न सक्दैनन् । त्यसैकारणले पाण्डवहरुलाई आधा राज्य दिएर उनीहरुलाई आफ्नो अधिकारका साथ अलग बसाउनु पर्दछ । नत्र कुलको नाश हुन सक्दछ’ भन्ने सल्लाह राजा धृतराष्ट्रलाई दिए । धेरैले ठूला–ठूला कुरा गरे, दुष्ट शकुनीले मारिदिनु पर्दछ । शत्रुलाई सदैव बसमा राख्नु पर्दछ भने ।
भुरीश्रवाले हामीले उनीहरुलाई अहिले वास्ता नै गर्न हुँदैन भने । पहिला भीमलाई यत्न गरेर मार्नु पर्दछ र अरु भाइलाई कर्णले मारिहाल्छन् भन्ने दुर्योधनको मत थियो । यसरी सबैले आ–आफ्नो कुविचार राख्दै गए । भीष्मले राजा धृतराष्ट्रलाई सम्झाउनुभयो । धृतराष्ट्रले भीष्मलाई वाचा गराए । धृतराष्ट्र राजा रहुञ्जेलसम्म हस्तिनापुर राज्यको रक्षा गर्ने राजाले जहिले जे भने पनि मान्ने, विरोध नगर्ने वाचा गराएर आधा राज्य दिन मञ्जुर भए । विदुर कुन्ती पाँच भाई पाण्डव र द्रौपदीलाई लिन पाञ्चाल गए । सारा कुराहरु सम्झाएर पाण्डवहरुलाई ल्याई विदुर हस्तिनापुर आए । सञ्चोविसन्चको कुरा भयो । धृतराष्ट्रले पाण्डवहरुलाई हस्तिनापुर बाहेक यही बराबरको भू–भाग राज्य कहाँ लिन्छौ रोज ? भने । युधिष्ठिरले पनि सल्लाह गरेर अन्य विकसित राज्य लिँदा भाइ दुर्योधनको चित्त दुख्नसक्छ, त्यसैले अविकसित वस्ती नभएको पिछडिएको राज्य इन्द्रप्रस्थपुरी मागे । जहाँ जंगल मात्र, राक्षसको वस्ती, विषालु नागहरु मत्र रहन्थे । के खोज्थिस काना आँखा भनेझैँ दुर्योधनहरु खुशी भए । राजा धृताराष्ट्रले युधिष्ठिरको राज्याभिषेक गरिदिए । पाण्डवहरुले इन्द्रप्रस्थपुरी मा ईन्द्रलाइ खुशी बनाएर विश्वकर्माबाट सुन्दर नगर बनाएर बस्ने भए ।
यसरी पाण्डवहरु खुशीसाथ बसिरहेका थिए । एक दिन नारद मुनि आउनुभयो । पाँच भाइकी एक पत्नी हुँदा पछि केही विपत्ति आउनसक्छ, त्यसैले एक नियम बनाउन सल्लाह दिए र नियम बनाउनमा सहयोग गरे । एक वर्ष एक भाइसँग रहने र उक्त वर्षमा अरु जो भाइले गएर द्रौपदीलाई हेर्छ त्यसलाई पाप लाग्ने । उक्त पाप मोक्ष गर्न वाह्र वर्ष वनमा बस्नुपर्ने नियम बनाए । त्यसपछि पाण्डवहरुले थुप्रै राज्यहरु जिते र खुशी साथ रहन लागे ।
एक दिन कुनै एक ब्राह्मणको गोधन चोरले चोरी लगिदियो र ब्राह्मण पाण्डवहरुसँग खास गरी अर्जुनसँग गोधन धन फिर्ता गराइदिन विन्ति गर्न आए । चोरबाट गाई फिर्ता गराइदिनुपर्ने पाण्डवहरुको धर्म हुन जान्छ । अर्जुनका हातहतियार सबै दाजु युधिष्ठिरका घरमा सुरक्षित राखिएका थिए । अहिले उनीसँग कुनै हतियार थिएन । द्रौपदीसँग बस्ने पालो पनि युधिष्ठिरको थियो । त्यो समयमा युधिष्ठिर आफ्नो घरमा द्रौपदीसँग बसिरहेका थिए । अर्जुनलाई आतहतियार लिएर चोरको पिछा गर्ने समय कम थियो ।
ब्राह्मणको उद्धार गर्नु नै उनले पहिलो कर्तव्य ठाने र केही नबोली दाजुको घरमा गए र हतियार लिएर चोरहरुको पिछा गरी चोर समाएर गाई फिर्ता ल्याइदिए । ब्राह्मण खुशी भएर अर्जुनलाई धेरै आशीर्वाद दिए र घर फर्किए । अर्जुनले आफूले नियम उल्लंघन गरेकाले नियमानुसार वन जान तयार भए । युधिष्ठिरले तिमी वन जानु पर्दैन मैले तिमीलाई माफी दिएँ, दाजुको घरमा भाइ जान हुन्छ, हामीलाई त्यागेर वनमा नजाऊ भने तर अर्जुनले मानेनन् । नियम पालन गर्नु मेरो कर्तव्य हो भनेर वनतिर हिँडे ।
त्यहाँबाट उनी गंगा तिरमा पुगी गंगा स्नानका लागि जलमा पसे । गंगा जलमा नागकन्या उलुपी बस्थिन् । अर्जुनलाई नागकन्या उलुपीले तानेर पाताल लगिन् । नाग कन्या तिमीले मलाई किन पाताल ल्यायौ ? मैले बुझ्न सकिन भन्दा मैले एकआपसमा प्रेम गर्न चाहन्छु । तपाईबिना मेरो अर्को गति छैन, हजुरले मेरो इच्छा पूर्ण गराइदिनुहोस् । मलाई पत्नीका रुपमा स्वीकार गर्नुहोस् भन्दा अर्जुनले भने हे देवी ! धर्मराज युधिष्ठिरको आज्ञानुसार बाह्र वर्षका लागि बुद्धमार्ग व्रत पालन गर्दै छु । म स्वाधीन छैन भनेपछि उलुपीले कसैको प्राण रक्षा गर्दा धर्मको लोप हुँदैन भनेपछि धर्मको रक्षाका खातिर उलुपीको इच्छा पूर्ण गरिदिए । उनबाट इरावन नामको पुत्र जन्मियो । अर्जुन पातालबाट गंगा तटमा फर्किए र पूर्वतर्फ लागे ।
धेरै तीर्थहरु डुले सत्कर्म गरे । त्यहाँबाट घुम्दै मणिपुरमा पुगे र त्यहाँका राजा चित्रवाहनकी छोरी चित्राङ्घदासँग मागीविवाह गरे । तिनबाट एक पुत्र बभ्रुवाहनको जन्म भयो । त्यहाँबाट पनि अहिले म जान्छु भनि राजासँग बिदा भएर तीर्थादी यात्राका लागि हिंडे । हिंड्दै जाँदा सुभद्र नामको नदीमा स्नान गर्न पसे । त्यहाँ उनलाई कुनै गोही आएर खुट्टामा समायो । अर्जुनले त्यसलाई घिसार्दै नदी तटमा ल्याए । नदी तटमा आउनेवित्तिकै त्यो गोही सुन्दर स्त्रीको रुप लिई र म अप्सरा हुँ, स्रापले गर्दा यो गति भयो । अब म मुक्त भए । मेरा चार सखीहरु पनि त्यहाँ छन्, उनीहरुलाई पनि उद्धार गराईदिनुहोस् भन्दा अर्जुनले सबैको उद्धार गरिदिए र पाँचै जना अप्सराहरु स्वर्ग गए । अर्जुन पुनः चित्राङ्गदासँग गए र केही दिन बसी छोरालाई शर्त वमोजिम छोडी म केही समयपछि मौका पारेर लिन पठाउँला, आउनु भनी त्यहाँबाट प्रभास गए ।
त्यहाँ कृष्णसँग भेट भयो । कृष्णले द्वारीका लग्नुभयो र आफ्नो निजी मन्दिरमा बसाउनुभयो । आफ्नी बहिनी शुभद्रासँग दुर्याेधनको विवाह निश्चित भएको अवस्थामा पनि शुभद्राबाट अर्जुनको अपहरण गर्न लगाएर शुभद्राको विवाह गरिदिनुभयो । त्यहाँबाट प्रभास फर्किए र बाह्र वर्ष बिताएपछि अर्जुन शुभद्रालाई लिएर घर फर्किए । शुभद्राबाट अर्जुनका छोरा अभिमन्युको जन्म भयो भने द्रौपदीबाट पनि पाँचै भाई पाण्डवका एक एक छोराहरु जन्मिए । –क्रमशः