Goraksha

National Daily

‘निको भएका समाचार सुन्दा आत्मबल बढ्थ्यो’

कोरोना जितेर अस्पतालबाट फर्किएकी दिब्या भन्छिन्

लिलाधर वली
दाङ, २४ जेठ । लमही निवासी २० बर्षीय दिव्या शाही अहिले होम क्वारेन्टाइनमा छिन् । कोरोना संक्रमण देखिएकी उनी १४ दिनपछि गत बुधवार कोरोना विशेष अस्पताल बेलझुण्डीबाट घर फर्किएकी हुन् । कोरोना भाइरसलाई जितेर घर फर्किदा पनि घर–परिवार तथा आफन्त सँगसँगै बसेर सुख–दुःखका कुरा गर्न नपाउँदा भने दुःखी छिन् । उनी भन्छिन्–‘कोरोना संक्रमित भएर अस्पताल भर्ना भएकी म पहिलोपटक रिपोर्ट नेगेटिभ आएपछि निकै खुशी भएको थिए, त्यो खुशी मैले घरमा फोन गरेर आमाबुबासँग साटे ।’

गएको माघ महिनामा कामका लागि दार्जिलिङ पुगेकी उनी कोरोना महामारीका कारण कम्पनी बन्द भएपछि करिब तीन साता पहिले घर फर्किएकी थिइन् । फर्किएसँगै उनी लमहीको क्वारेन्टाइनमा बसिन् । त्यहाँ जेठ १४ गते उनमा कोरोनाको संक्रमण देखिएको थियो । दार्जिलिङबाट एउटै गाडीमा ३० जना फर्किए पनि उनलाई मात्र कोरोनाको संक्रमण देखिएको थियो । ‘क्वारेन्टाइनमा बसे पनि मेरो स्वास्थ्यमा कुनै समस्या थिएन, तर पिसिआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आयो’, उनले भनिन्– ‘रिपोर्ट पोजेटिभ आउँदा म निकै निराश भएको थिए, तर आमाबुबा र साथीहरु सबैको हौसल्लाले सम्हालिए ।’

उनले आफ्नो मनलाई आफै सान्त्वना दिँदै आफूसँगै फर्किएका भालुवाङदेखि घोराही हुँदै तुलसीपुरसम्मका साथीहरुलाई फोन गरिन् । ‘तर उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको रहेछ’, उनी भन्छिन्– ‘मेरो रिपोर्ट पोजेटिभ आएको थाहा पाएपछि उनीहरुले पनि मलाई नआत्तिन आग्रह गरेका थिए ।’ संक्रमण देखिएको पत्ता लागेपछि उनलाई सोही दिन लमहीबाट एम्बुलेन्समा कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । ‘त्यहाँ मैले चिनेका कोही थिएनन् । कोरोना परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आउला र घरमा गएर बसूँला भन्ने बेला रिपोर्ट पोजेटिभ आएर कोरोना अस्पताल बेलझुण्डी पुग्दा केही दिन त आशुमा बिते’, उनले त्यतिबेलाको आफ्नो मनोदशा स्मरण गर्दै भनिन्– ‘बेलझुण्डीस्थित अस्पताल पुग्दा त्यहाँ सबै पुरुष संक्रमित मात्र थिए, २–३ दिन त कुरा गर्नलाई समेत कोही थिएनन्, त्यो बेला एक्लै बसेर रुन मन लाग्थ्यो ।

मेरो साथी भन्ने मोबाइल थियो । मोवाइलमा फेसबुक खोल्थे । फेसबुकमा कोरोना संक्रमित थपिए भन्ने समाचारसँगै कोरोना जितेर फर्किएका खबर आउने गर्थे । त्यो समाचार पढ्दा मलाई म पनि कोरोना जितेर फर्कन्छु भन्ने आँट आउथ्यो मनमा । त्यसैमा अस्पतालका डाक्टर, नर्ससँगै घरबाट आमाबुबाले दिने हौसल्लाले मलाई आत्मबल बढाउने काम गरेको थियो ।’

अस्पतालमा डाक्टर र नर्सहरुले औषधिसँगै मनोबल बढाउने काम गरेपछि उनलाई साँच्चिकै केही भएको छैन भन्ने लागेको थियो । उनी बेलझुण्डी गएको ३ दिनपछि रुकुमकी एकजना महिलासमेत आएपछि उनलाई साथी भेटेझैँ भयो । ‘म मात्र एक्लै महिला होइन रहेछु अरु महिलालाई पनि संक्रमण लाग्ने रहछ भन्ने सोच आयो, अस्पतालमा एक जना कुरा गर्ने महिला थपिएकोमा मलाई खुशी लागेको थियो’, उनी भन्छिन्– ‘अनि टाढैबाट भए पनि उनीसँग कुरा हुन थाल्यो ।’

‘अस्पतालमा उपचारसँगै डाक्टर र नर्सहरुले काउन्सिलिङको काम गर्नुहुन्थ्यो । त्यसले मेरो आत्मबल बढाउने काम गरेको थियो । त्यसरी नै दिनहरु बित्दै थिए । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको आठौं दिनमा पहिलो रिपोर्ट नेगेटिभ आएको मलाई अस्पतालका डाक्टरले सुनाउनुभयो, त्यो मेरा लागि निकै खुशीको क्षण थियो’, दिव्याले भनिन्– ‘रिपोर्ट पोजेटिभ आएको डाक्टरले सुनाएपछि मैले घरमा बुबाआमालाई फोन गरेर खुशी साटेको थिए, त्यो क्षण बुबाआमा पनि खुशी हुनुभएको थियो ।’

रिपोर्ट नेगेटिभ आएपछि दिव्याको बेड परिवर्तन गरियो । दोस्रो र तेस्रो पटकसम्म कोरोना भए/नभएको परीक्षण गर्ने काम पनि गरियो । तेस्रो पटक पनि रिपोर्ट नेगेटिभ आएपछि उनलाई बुधवार अस्पतालबाट घर पठाइएको हो । अस्पतालबाट निस्किँदै गर्दा कतिबेला घरमा पुगेर आमाबुबालाई अंगालो हालेर आत्मीयता साटुझैँ लागेको थियो उनलाई । तर डाक्टरले घरमा करिब १५ दिन कोहीसँग नजिक नहुन आग्रह गरेका कारण उनको त्यो चाहना अझै पूरा हुन भने सकेको छैन । ‘स्वास्थ्यकर्मीको सल्लाहबमोजिम अहिले पनि होम क्वारेन्टाइनमा बसेको छु ।

घरमा भए पनि बुबाआमा र बहिनी सँगसँगै बसेर खाना खान पाएकी छैन । साथीहरुसँग भेट्न पाएकी छैन । निकै खल्लो लाग्ने गरेको छ ।’ उनले दोहो¥याई–तेह¥याई भनिन्– ‘अब छिट्टै बाबाआमालाई अंगालो हालेर माया साट्ने दिन आउने छ, त्यो दिनको प्रतीक्षामा होम क्वारेन्टाइनमा बसेको छु ।’ उनीसँगै दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट बिहीवारसम्म ४० जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।