दाङ, २९ जेठ । दाङ तुलसीपुरमा रहेको एक क्वारेन्टाईनमा बस्दै आएकी महिला गएराती भागेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ मा रहेको अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएकी महिला क्वारेन्टाइनबाट भागेको वडा अध्यक्ष वेदु केसीले जानकारी दिएका छन् ।
२८ बर्षीय महिला बुधवार राती क्वारेन्टाईनबाट भागेकी थिइन । १० दिन पहिले भारतको चण्डीगढबाट फर्किएकी महिला श्रीमानसँगै क्वारेन्टाइनमा बस्दै आएकी थिइन । स्थायी घर सल्यान भएपनि उनीहरु केही बर्षदेखि तुलसीपुर–५ मा बस्दै आएका थिए ।
क्वारेन्टाइनबाट भागेकी महिलाको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरी परिचालन गरेर हराएकी महिलाको खोजी कार्य भैरहेपनि नभटिएको वडा अध्यक्ष केसीले जानकारी दिए ।
‘क्वारेन्टाइनबाट महिला भागेको जानकारी पाएपछि प्रहरी परिचालन गरेर महिलाको खोजी कार्यमा जुटेका छौं’–वडा अध्यक्ष केसीले भने–‘तर अहिलेसम्म उनी भेटिएकी छैनन् ।’ उनीहरु बस्नेत तुलसीपुर घरदेखि स्थायी घर सल्यान, माइतीघरमा सम्पर्क गरेर महिलाको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।
ती महिला ५ दिन पहिले पनि क्वारेन्टाइनबाट भागेकी थिइन । वडा अध्यक्ष केसीका अनुसार क्वारेन्टाइनबाट भागेकी महिलालाई नजिकैको जंगलमा फेला परेकी थिइन । जंगलबार फर्काएर ल्यार पुन क्वारेन्टाइनमा राखेकी महिला पुन भागेको उनले बताए । उक्त क्वारेन्टाइनको गेटमा दिउँसोमा प्रहरीले सुरक्षा दिने गरेपनि रातमा खाली हुने गरेको क्वारेन्टाइनमा बस्नेहरुले बताएका छन ।
जिल्लाका क्वारेन्टाइनमा सुरक्षा व्यवस्था नहुदा यहि जेठ २५ गते घोराही उपमहानगरपालिका–५ मा रहेको श्रीहरिओम प्राथमिक विद्यालय भैसापथ्रा नैनवारमा रहेको क्वारेन्टाइनमा बसेका दुई जना व्यक्तिहरु बाहिर निस्किएर गाउँका एक जना युवालाई कुटपिट गरेका थिए भने घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको माध्यामिक विद्यालयको क्वारेन्टाइन निस्किएर रक्सी खाएर हल्ला गर्न थालेपछि गाउँलेले ३ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा बुझाएका थिए ।