प्रतिष्ठानको विकासका लागि पहल गर्नेछु : शाक्य

दाङ,२३ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासका लागि पहल गर्ने प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले बताएकी छिन । शुक्रवार घोराहीमा रहेको राप्ती स्वास्थ्य प्रतिष्ठानको निरीरक्षणका क्रममा प्रतिनिधिसभा सदस्य शाक्यले यस्तो बताएकी हुन । निरीक्षणका क्रममा उनले प्रतिष्ठानको विकासका लागि आफुले पहल गर्ने आश्वासन समेत दिएकी हुन ।

उनले प्रतिष्ठानको विकासका लागि भवन, जनशक्तिसहित उपकरणका लागि बजेट मिलाउन पहल गर्ने बताएकी छिन । ‘प्रष्ठिानको विकासका लागि स्वास्थ्यकर्मीहरुले उत्साहीत भएर काम गर्नुस’–नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी शाक्यले भनिन्–‘प्रतिष्ठानको भौतिक तथा जनशक्ति विकासका लागि बजेट बिनियोजन गर्न पहल गर्नेछु ।’

प्रतिनिधिसभा सदस्य शाक्यसहित अनुगमन तथा निरिक्षणका क्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी, नेपाल निर्माण व्यवसायी महासघ प्रदेश नं.५ का अध्यक्ष बलिभद्र राना, प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल, दाङ जिल्ला प्रहरी प्रमुख गणेश चन्द, नेपाल उद्योग बाणिज्य महासघका केन्द्रिय सदस्य धुर्वराज श्रेष्ठ ‘भारी’लगायतको सहभागिता रहेको थियो ।

उनीहरुले प्रतिष्ठानको ल्याब, निर्माणाधिन अबस्थामा रहेको अस्पतालको भौतिक पूर्वाधार, पिसिआर मेसिन, आइसियुको निरीक्षण गरेका थिए । प्रतिष्ठानको बारेमा कामु रजिस्ट्रार कैलाशप्रसाद देब र डिन डा. बसन्त लामिछानेले प्रतिष्ठानको भौतिक पूर्वाधारको अवस्था बारेमा जानकारी गराएका थिए । उनीहरुले प्रतिष्ठानमा बजेट अभावका कारण काम गर्न समस्या भएको समेत बताएका थिए ।