सिल गरेको १६ दिनपछि चामलको स्याम्पल लगियो

शिवराज खनाल

दाङ ,२२ जेठ । राहत वितरणका लागि खरिद गरिएको चामल गुणस्तरहिन भेटिएपछि लमहीमा सिल गरिएको एक खाद्यान्न पसलबाट १६ दिनपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले चामलको स्याप्ल लिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य अनुसन्धान अधिकृत विबेक बन्जाराको नेतृत्वमा गएको टोलीले लमहीस्थीत आरके सप्लायर्सको गोदामबाट चामलको स्याम्पल लिएको हो । यहि जेठ ६ गते राजपुर गाउँपालिका–७ वनकट्टीस्थित भयरथान सामुदायिक वनले उपभोत्तालाई राहत वितरण गर्नका लागि आरके सप्लायर्सबाट किनेको चन्दन ब्रान्डको १ सय ६६ बोरा चामल मध्य १ सय ३२ बोरा चामल कुहिएको भेटिएपछि उक्त पसललाई सिल गरिएको थियो ।

१ हजार १ सय २५ रुपयाँ प्रतिबोरा मूल्य परेको उक्त चामल कालो, सडेको, धुलैधुलो देखिने र खानै नमिल्ने भएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपरले आज लिएको चामलको स्याम्पल परिक्षणका लागि नेपालगंजस्थीत खाद्य प्रविधि तथा गण नियन्त्रण कार्यालयको प्रयोगाशालामा पठाउने खाद्य अनुसन्धान अधिकृत बन्जाराले जानकारी दिएका छन ।

उनले करिव एक सातापछि चामलको रिपोर्ट आउने समेत जानकारी दिए । लमही नगरपालिकाकी उपप्रमुख देवका बेल्वासे, देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ,जनप्रतिनिधि,सुरक्षाकर्मीलगायतको सहभागितामा सिल गरिएको पसलबाट स्याम्पल लिइएको थियो ।