वडाध्यक्षको अभिव्यक्तिप्रति सामुदायिक बनको आपत्ति

तुलसीपुर, १९ जेठ । सडक स्तरोन्नतिका लागि आएको पाँच करोड बजेट गादीवरा सामुदायिक बन समूह बाधक भन्ने भनाइप्रति समूहले आपत्ति प्रकट गरको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण रानाले गादीवरा सामुदायिक बन समूहलाई विकासविरोधी भनेर दिएको अभिव्यक्तिप्रति बन समूहले आपत्ति जनाएको हो । घारोही–हापुर हुँदै रक्षाचौर जोड्ने सडक स्तरोन्नतिका लागि बन समूहले रुख काट्न नदिएको र बाटोको बजेट फिर्ता भएको भन्दै वडाध्यक्षले सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै गादीवरा सामुदायिक वन समूहले आपत्ति जनाएको छ ।

वन समूहका अध्यक्ष ठाकुरप्रसाद बञ्जाडेले आइतबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नै वडाका नागरिकलाई अपमानित हुने गरी दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । सडकको दायाँ–बायाँ १२ मिटर सीमानाभित्र पर्ने १ सय १५ वटा रुख काटेर सडक कालोपत्रे गर्नका लागि वडाध्यक्षसँग पटक–पटक छलफल भएको वन समूहले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

वडाध्यक्षले डिभिजन वन कार्यालय घोराही, सव–डिभिजन कार्यालय तुलसीपुरसँग समन्वय गरी कटान पुर्जी लिनुपर्ने भए पनि त्यसो नगरी वनलाई नै विकास विरोधी भन्नु अत्यन्तै दुखद् भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ‘गादीबरा सामुदायिक वन विकासविरोधी नभएको र वडाध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट हामी सधै सकारात्मक कामको अपेक्षा गर्दछौं’ उल्लेख गरिएको छ ।