अमरराज आचार्य
दाङ, १९ जेठ । घोराहीका माहुरीपालक कृषक दिनेश वलीले यस सिजनमा एकपटक पनि मह काढ्न पाएनन् । अघिल्लो वर्षको यसै सिजनमा उनले २ पटकसम्म मह काढेका थिए ।
‘अघिल्लो वर्ष फागुनदेखि बैशाखसम्ममा दुईपटक मह काढिएको थियो’, वली भने । माहुरी चराउन भन्दै घरभन्दा टाढा लगेर राख्ने गर्दछन् माहुरी पालकहरु ।
कतिपयले त जिल्ला बाहिरसमेत चराउन लैजाने गर्दछन् । घार नै त्यहाँ लगेर राख्दा माहुरीले मह बनाउनका लागि आवश्यक फूलको रस सहजै पाउने गर्दछ ।
‘लकडाउनको कारण माहुरी चराउन राखेको स्थानसम्म पनि जान पाइएन’, उनले भने– ‘समयमा माहुरीको ख्याल राख्न नसक्दा माहुरीले आफैले बनाएको मह खाइदिएकाले समस्या परेको हो ।’ त्यसैगरेर माहुरीको गोलाको वृद्धि हुने समय पनि यही भएकाले बिशेष हेरचाह गर्नुपर्ने भए पनि हेरचाह समेत गर्ने नपाएको उनी बताउँछन् ।
अर्का माहुरीपालक कृषक रामहरि शर्माले लकडाउनले माहुरीपालक कृषकहरुलाई धेरै क्षति पु¥याएको बताए । लकडाउनको कारण कृषकहरुले माहुरीको हेरचाह गर्ने, मह काढ्न नपाएको उनको भनाइ छ ।
माहुरीको हेरचान नहँुदा माहुरीले जम्मा गरेको महसमेत खाइसकेको उनी बताउँछन् । त्यसैगरेर माहुरीको गोला बृद्धिका लागि रानी उत्पादन गर्न समेत समस्या परेको उनको भनाइ छ । रानी उत्पादन गर्न नसक्दा गोला पनि वृद्धि गर्न सकिँदैन ।
जिल्लाभित्रभन्दा पनि जिल्ला बाहिर माहुरी चरणमा लगेकाहरुले यस प्रकारको समस्या भोग्न परेको देखिएको छ । लकडाउनका लागि बाहिरी जिल्लामा जानका लागि पाससमेत नपाउँदा माहुरीको हेरचाह गर्न जान नसकेका कारण यो पालीको मह उत्पादनमा र गोला बृद्धि गर्ने काममा समस्या आएको उनीहरु बताउँछन् ।
जिल्लामा अहिले करिब ७० प्रतिशत मह उत्पादनमा कमी भएको माहुरीपालन महासंघ दाङका अध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । फागुनदेखि बैशाखसम्ममा करिब ३ सय टन मह उत्पादन हुने गरेको उनको भनाइ रहेको छ ।
तर यस वर्ष १ सय टन पनि मह उत्पादन हुन नसकेको श्रेष्ठ बताउँछन् । ‘कृषकहरु समयमा मौरीको निरीक्षण गर्न जान नपाउनु, समयमा मह काढ्न जान नपाउनुजस्ता कारणले उत्पादन घटेको हो’, श्रेष्ठले भने । त्यसैगरेर माहुरीको गोला वृद्धिको लागि रानी उत्पादन गर्न नसक्नु तथा आधार चाका राख्नसमेत नपाएको उनको भनाइ रहेको छ । ‘यस समयमा माहुरीको घार वृद्धि पनि ५० प्रतिशतले घटेको छ’, अध्यक्ष श्रेष्ठले भने ।
जिल्लामा अहिले १५ हजार माहुरीको गोला रहेको माहुरीपालन महासंघ दाङले जनाएको छ । जिल्लामा वार्षिक ६ सय टनभन्दा बढी मह उत्पादन हुने गरेको उनको भनाइ रहेको छ । जिल्लाका करिब १ हजार माहुरीपालक कृषकहरु रहेको बताइएको छ ।
साढे ६ सय जना त माहुरीपालन महासंघमा आवद्ध नै रहेका छन् । दाङ जिल्ला माहुरीपालनको लागि उर्भर जिल्ला मानिन्छ । जिल्लामा उत्पादन भएको मह विदेशमा समेत माग रहेको माहुरीपालक कृषकहरु बताउँछन् ।