तुलसीपुर, १८ जेठ । एक पछि अर्को नसा तान्दै गएका सहभागी युवाहरुबीच विवाद हुंदा एक जनाको उनीहरुकै साथीहरुबाट हत्या भएको छ । तुलसीपुरमा शनिवार विहान मृत फेला परेका युवालाई उनकै साथीहरुले हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले आइतवार पत्रकार सम्मेलन गरि २९ बर्षीय मन्दिप भूजको हत्यासंगै मदिरा सेवन गरेका उनकै साथीहरुले गरेको जानकारी दिएको हो । इप्रका प्रमुख डिएसपी हरिहरनाथ योगीले मदिरा सेवन गर्दा भूजले गाँजा खान थालेपछि भएको विवादका कारण चारजनाले मिलेर बाटोमा भूजको ढुँगाले हानेर हत्या भएको जानकारी दिएका छन् ।
तुलसीपुरको अटोभिलेज नजिकै रहेको तुलसीपुर–९ को चौधरी होटेलमासंगै बसेर घरेलु मदिरा सेवन गर्ने क्रममा भूजले मदिरा सेवनपछि गाँजा खान थालेपछि अर्घाआँची जिल्लालको ढिकपुरा वडा नं. ४ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी सौरभ पोख्रेलले किन गाँजा खाएको हामीलाई डिस्टर्व गर्ने भन्दै हकारे । हत्या गरिएका भूजले तैलेपनि त पहिला खान्थिस, मलाई मात्रै गाँजा खान्छस भन्ने भनेर जवाफ फर्काए । त्यही विषयमा दुबै पक्षका बीचमा बादविवाद भयो ।
यद्यपी पोख्रेल छुट्टै टेवुलमा बसेर साथीहरुसंगै मदिरा सेवन गरिरहेका थिए । त्यसपछि उनीहरु रातको दश बजेतिर घरजान भनि होेटेलवाट निस्किए । साथमा तुलसीपुर–५ निवासी अजय बुढाथोकी, आशिष नेपाली, तुलसीपुर १८ का ओमबहादुर सार्कीपनि थिए । विवाद गर्दै जाने क्रममा तुलसीपुर ५ स्थित ज्ञानज्योति आधरभूत विद्यालय नजिकै पोख्रेलले भूजको टाउकोमा ढुँगाले हिर्काए । अनि पोख्रेलले नै उल्टै भूजले आफुलाई हान्यो भन्ने दोषारोपण गरे । त्यसपछिसंगै रहेका बुढाथोकी, नेपाली र सार्कीले पनि भूजमाथि हात र मुक्काले हिर्काए । भूज ढले । पुनः पोख्रेलले पहिले हानेकै ढुँगाले कञ्चट र अनुहारमा ढुँगाले हाने ।
उनैले ढुँगाले टाउकोमा प्रहार गरेपछि भूजको मृत्यु भयो । त्यसपछि उनको हत्यमा प्रयोग भएको ढुँगा चारै जनाले सल्लाह गरि घटनास्थल भन्दा ४० मिटर उत्तर पश्चिमको पातुखोलामा बालुवाले छोपेर लुकाए । घटनावारे कसैलाई नभन्ने भनी चारै जनाले सल्लाह गरि त्यसपछि घर–घर गएको कुरा अनुसन्धान वाट खुलेको प्रहरीले बताएको छ ।
प्रहरीले शनिवार नै अभियुक्त चारैजनालाई पक्राउ गरेको थियो । उनीहरुका विरुद्ध कतव्र्य ज्यान शिर्षकमा मुद्दा चलाउने भएको छ । तुलसीपुर ९ मा डेरागरी बस्दै आएका भुज शनिवार विहान तुलसीपुर ५ बसपार्कस्थित एउटा विद्यालय नजिकै मृत अवस्थामा फेला परेका थिए ।
उनको टाउकोमा गहिरो घाउ थियो । प्रहरीले त्यसैको आधारमा अनुसन्धान गर्न संगै मदिरा सेवन गरेका ७ जनासहित होटेल साहुनीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । भूजको हत्यामा अन्य चारजानको भने कुनैपनि संलग्नता नदिएपछि प्रहरीले उनीहरुलाई शनिवार नै छोडेको हो ।
हत्यामा प्रयोग भएको ढुँगा समेत बरामद गरि प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले हत्या भएको केही घन्टा मै सबै आरोपितलाई पक्राउ गर्न सफल भएकोमा खुसी व्यक्त गरेका थिए । उनले प्रहरी अधिकारीहरुलाई उच्च मनोवलका साथ कामगर्न आग्रहपनि गरेका छन् । पत्रकार सम्मेलनको सहजीकरण इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालले गरेका थिए ।