नयाँ नक्सा सहितको निशान छापलाई संबिधानको अनुसूचीमा राख्ने पक्षमा उभियो कांग्रेस

काठमाडौं १८ जेठ । नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । साथै तराई मधेसकेन्द्रित दलहरुको सहमतिमा केही समयपछि अर्को संसोधन प्रस्ताव पनि दर्ता गराउने भएको छ ।

शनिबार राती अबेलासम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमितिले भनेको छ, सुगौली सन्धिले कालीपूर्वको भूभाग हाम्रो भएको प्रष्ट भएको छ । यसलाई अंग बनाउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव उचित छ । यसको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’

नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको छ ।

त्यसैगरी कांग्रेसले केही समयपछि छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्ने निर्णय पनि गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला मधेस केन्द्रीय दलहरुको माग सम्बोधन गर्न दर्ता गरेको तर संसदबाट अस्वीकृत भएको विधेयकलाई नै फेरि दर्ता गर्ने निर्णय भएको हो ।