Goraksha

National Daily

विद्यार्थी भर्ना गर्न पाउने मागप्रति नेविसंघको ध्यानाकर्षण

दाङ,१७ जेठ । जेठ २१ गतेदेखि विद्यार्थी भर्ना गर्न पाउने मागप्रति नेपाल विद्यार्थी संघ घोराही नगर समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सघले शनिबार एक प्रेस विज्ञप्ति जारी अहिलेको महामारीको समयमा विद्यालय सञ्चालनको माग नगर्न आग्रह गरेको हो । जेठ १५ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ नेपाल, संस्थागत विद्यालय अभिभावक संघ र संस्थागत विद्यालय शिक्षक युनियनले गरेको विद्यालय सञ्चालन गर्न पाउने मागप्रति संघले विरोध जनाएको हो ।

संघको घोराही नगर समितिद्धारा प्रकाशित विज्ञप्तिमा कोभिड १९ को महामारी र सङ्क्रमणको भयावह अवस्थाबाट बच्नका लागि बन्दाबन्दीको पूर्ण पालना र प्रभावकारी कार्यान्वयनको विकल्प नभएको समेत बताइएको छ । यस्तो विषम अवस्थामा विद्यालयममा भर्ना अभियान चलाउनु भनेको सङ्क्रमण बढाउनु हो । तसर्थ सम्बन्धित निकायले यस्तो माग पूरा गर्नुपूर्व मनन गर्न जरुरी छ । साथै ध्यानाकर्षणलाई बेवास्ता गरी भर्ना अभियान सञ्चालन गरिएमा नेविसंघ घोराही समितिले कडा विरोधमा उत्रने चेतावनीसमेत दिएको छ ।