बालाराम खड्का
देउखुरी, १२ जेठ । गत बर्ष तरकारी खेतीबाट मनग्य आम्दानी गरेकी देउखुरीकी रमिला चौधरीले यस बर्ष भने सस्तोमा तरकारी बिक्री गर्न बाध्य भएको बताउँछिन् । उनीजस्तै यहाँका धेरैजसो किसानहरुले लकडाउनका कारण तरकारीले बजार नपाउँदा घरमा नै सस्तो मूल्यमा तरकारी बिक्री गर्ने गरेको बताउँछन् ।
यस बर्ष राम्रो तरकारी उत्पादन भए पनि बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा उत्पादन गरेको तरकारी खेतबारीमै कुहिने अवस्था आएको किसान गीता चौधरी बताउँछिन् । केही तरकारीहरु घरबाटै सस्तोमा बिक्री गर्ने गरेको र आफूहरुको मेहनत समेत खेर जाने अवस्था रहेको उनको भनाइ छ । ‘श्रमको लागत मात्र होइन, औषधि र मलको खर्च उठाउन पनि मुस्किल छ’, चौधरीले भनिन् । स्थानीय सरकारले तरकारीलाई सहजरुपमा बजारसम्म पु¥याउने व्यवस्था मिलाउन नसक्दा बारीमै तरकारी सस्तोमा बिक्री गर्नुपरेको उनको अभिव्यक्ति थियो ।
लमही नगरपालिकाका विभिन्न वडा देउखुरी क्षेत्रका किसानहरुले बगर खेती तथा तरकारीलगायत खेतबारीबाट राम्रो आम्दानी गर्ने गरेका थिए । यस सिजनमा जिल्लाका अन्य ठाउँहरुमा तरकारी खेती कम हुने हुँदा देउखुरीका किसानहरुले तरकारी उत्पादन गर्दै आएका छन् । तर कोभिड–१९ कोरोना भाइरसका कारण सरकारले लकडाउनको घोषणा गरेपछि त्यसको प्रत्यक्ष मार भने देउखुरीका किसानलाई परेको लमही–४ का किसान सुदन चौधरीले जानकारी दिए ।
विगतका बर्षहरुमा देउखुरीको तरकारी लमही बजारसँगै तुलसीपुर, घोराही र छिमेकी जिल्लासम्म जाने गरेको थियो । तर यस बर्ष भने घरबाटै तरकारी बेच्न बाध्य छन् । कतिपय किसानहरु भने लमही–कोइलावास सडक खण्डअन्तर्गत रहेको राप्ती पुलको छेउछाउमा बसेर तरकारी बेच्दै आएका छन् । लकडाउनसँगै किसानहरुले उत्पादन गरेको तरकारी खरिदका लागि देउखुरीमा आउने व्यापारीहरु पनि यस बर्ष आएका छैनन् । गाउँमा फुटकरमा तरकारी किन्न जाने किसानहरुले तरकारीको मूल्य नै नदिने गरेको कृषक लालमती चौधरीले बताइन् । राप्ती नदी पुल नजिक तरकारी बिक्रीका लागि शनिवार भेटिएकी चौधरीले ५ कठ्ठा जमिनमा तरकारी खेती गर्दै आएको र यस बर्ष तरकारीले मूल्य नपाएको गुनासो गरिन् । ‘एकातिर कोरोनाको संक्रमण फैलने डर, अर्कोतिर लगाएको तरकरीले मूल्य नपाएकोमा चिन्ता छ’, उनले भनिन् । उनले आफूजस्तै खरबुजा, करेला, बोडी, भान्टा, भिण्डी, लौका, गोल्भेँडा काँक्रालगायतका तरकारी बेच्दै आएका किसानहरुले विगतका बर्षहरुको तुलनामा यो बर्ष तरकारीको मूल्य नभएको बताइन् । उनका अनुसार विगतको बर्ष प्रतिकेजी खरबुजा ५० देखि ६० सम्म बिक्री भए पनि यस बर्ष भने २० रुपैयाँ प्रतिकेजी बिक्री हुने गरेको बताइन् । त्यस्तै भिण्डी, बोरी, करेला ४० देखि ५० रुपैयाँ प्रतिकिलो बिक्री भए पनि यस बर्ष भने सबै तरकारी २० मा प्रतिकेजी बिक्री गर्न बाध्य भएको किसानहरु बताउँछन् ।
‘हामीले भन्दा पनि तरकारी किन्न आउने उपभोक्ताहरुले आफै मूल्य तोक्ने अवस्था छ, सस्तोमा बिक्री गर्दा निकै घाटा लागेको छ’, अर्का किसान राजकुमार चौधरीले भने । बजार बन्द हुँदा घाटा खाएरै तरकारी बेच्न बाध्य भएको उनको भनाइ छ । लामो समयसम्म लकडाउनका कारण तरकारी बजारमा लैजान नसक्दा यहाँका सयौ किसानहरु समस्यामा परेका छन् । ‘विहान बजारमा तरकारी बोकेर लगे पनि बिक्री गर्न पाइन, घरमा तरकारी लिन फाटफुट आउनुहुन्छ’, चौधरीले भने । लमहीको देउखुरी क्षेत्रमा बैशाख, जेठमा धेरैजसो किसानहरुले बेमौसमी तरकारी खेतवारी तथा बगर खेती गर्दै आएका छन् । उनीहरुले बगर खेतीबाट मनग्य आम्दानी गर्दै आएका थिए ।