जन्ती आउन बाँकी छः प्रवक्ता शर्मा
बालाराम खड्का
तुलसीपुर, ७ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो निर्वाचनको अभियान भातखोरे भएको भन्दै जन्तीको प्रतीक्षा गर्न आम नेपाली जनतालाई सुझाएका छन् । अहिलेको उपनिर्वाचनले सरकार बनाउने नभएर सरकार बदल्नेतिर लक्षित रहेको पनि उनले बताए ।
‘तपाईंले एक्काइस महिना नेकपाको सरकार हेर्नुभयो, सरकार ठीक छ भने उसैलाई मत दिनुस, तर तपाईंको मनले मान्दैन भने कांग्रेस विकल्पमा छ’—प्रवक्ता शर्माले भने । कांग्रेसले जित्दै गर्दा देशले बाटो पाउने भन्दै कांग्रेसलाई जिताउन सबै लाग्नुपर्ने बताएका छन् । शर्माले राणा शासन अन्त्यदेखि माओवादीलाई सरकारमा ल्याउनेदेखि देशलाई संविधान दिने पार्टी कांग्रेस भएको बताए ।
नेपाली कांग्रेस शान्तिनगर–३ ले पातेटाकुरामा आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले सरकारको कार्यशैली परिर्वतनका लागि पनि प्रतिपक्षलाई मतदाताले निर्वाचित गराउनुपर्ने बताए । ‘यो निर्वाचन सरकारका लागि अवसर हो, त्यसमा पनि मतदाताको लागि महत्वपूर्ण हो, अबको मत कांग्रेसलाई मतदाताले मत दिएर सरकारलाई बलियो बनाउनुहोस् यो अवसरको उपयोग मतदाताले गर्नुपर्छ’ –उनले भने । उनले दाङलगायत देशभर कांग्रेसको पक्षमा जनलहर आएको भन्दै दाङबाट सरकार सच्चिनुपर्छ भन्ने सन्देश दिएर केशवराज आचार्यलाई एक्लै होइन कांग्रेसलाई जिताउनमा लागेको बताए । शर्माले कांग्रेसले नै देशमा परिवर्तन र विकास ल्याएको बताए ।
उनले कांग्रेसको इतिहास गौरवमय भएको भन्दै समावेशी सामाजिक न्याय र रोजगारी कांग्रेसले सिर्जना गरेको बताए । ‘कांग्रेसले देशमा लिएको नीतिका कारण देशको विकास भएको हो, कांग्रेसले नै सबैलाई एकतामा कायम गरेको छ’–उनले भने । उनले कम्युनिष्टहरुले जितेर देशमा कुनै परिवर्तन नभएको बताए । उनले अहिले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नाला सफा गर्ने र मकै गोड्ने वाहेक अन्य कुनै रोजगारी र विकास नदिएको बताए । उनले सबैलाई मिलाएर लैजाने पार्टी कांग्रेस भएको बताए ।
उनले कांग्रेस नै जनताको भरोषाको पार्टी भएकाले अन्य दलका नेताहरु पनि कांग्रेसमा प्रवेश गरेको बताए । अहिलको दुइतिहाईको सरकारलाई सच्यिएर जानका लागि पनि कांग्रेसलाई विजय गराउनुपर्ने समय आएको उनको भनाई थियो । उनले कम्नियुष्ट पार्टीका नेता कार्यकर्तालाई पनि यो सरकार बनाउने चुनाव नभएको भन्दै सरकारलाई सच्याउने भएकाले कांग्रेसलाई जिताउनुपर्ने बताए ।
नेपाली कांग्रेस शान्तिनगर–३ का ईकाई सभापति बुद्धिराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पश्चिम दाङको समग्र विकास कांग्रेसले नै गरेको भन्दै कांग्रेस जनताको पार्टी भएको बताए । उनले यो निर्वाचन कांग्रेसका लागि महत्वपूर्ण भएको भन्दै अरुको भुलभुलैयामा नलोभिन सबैलाई आग्रह गरे ।
‘तपाईहरुलाई झुक्याउन फेरि आउलान्, तर अब नझुक्किनुहोला कांग्रेसले हार्दै गर्दा विकास कमजोर भएको छ, देश कमजोर भएको छ’– उनले भने । त्यस्तै नेता देवेन्द्रराज कँडेलले मंसिर १४ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेद्वार केशव आचार्यलाई विजय गराउनुपर्ने बताए । त्यस्तै उम्मेद्वार केशव आचार्यले यो उम्मेद्वारी आफू एकलैको नभएको भन्दै पश्चिम दाङवासीको भएको बताए । उनले मंसिर १४ पछि आफू निर्वाचित भएपछि यहाँको विकासमा लाग्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, राष्ट्रिय सभासदस्य अनिता देवकोटा, पूर्व सांसद गेहेन्द्र गिरी, कांग्रेसका पूर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, प्रदेश सभासदस्य डिल्लीबहादुर चौधरी, सुरेन्द्र हमाल, कांग्रेसका नेता मदन रसिक, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीलगायतले बोलेका थिए । क्षेत्रीय प्रतिनिधि मिनबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण झलक केसीले गरेका थिए । यसैगरी सभामा नेकपा माओवादीबाट बबई–३ मा वडाध्यक्षका उम्मेद्वारका प्रत्यासीलगायतका व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका थिए ।
सीमा विवादमा कूटनीतिक पहल ः शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सीमा विवादको विषयमा सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताएका छन् । रिपोर्टसर्् क्लव दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । शर्माले अन्य मुद्दा अहिलेको अवस्थामा गौण भएको भन्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी मिचेर भारतले नक्सा सार्वजनिक गरेकोले यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले यो मुद्दालाई साझा मुद्दा बनाएर सबै अगाडि बढ्नुपर्ने बताए ।
‘यो सरकारकै नेतृत्वमा नक्सा सार्वजनिकको विषयमा सम्वाद हुनुपर्छ, कालापानीबाट भारतीय सेना फिर्ता गर्नुपर्छ यो विषयमा हामी सरकारको साथमा छौं, सरकारले गम्भीर ढङ्गले कूटनीतिक पहल गर्नुपर्छ’–शर्माले भने । उनले कांग्रेस सरकारमा रहेको बेला पनि भारतीय सेना कालापानीमा भएको र त्यो बेला देशमा विभिन्न समस्याहरु रहेका कारण समस्या समाधान गर्न नसकिएको बताए ।
‘अहिले दुई तिहाईको सरकार रहेको छ देशमा त्यसमा पनि कांग्रेसले समर्थन गरेपछि सबै नेपाली एकठाउँमा उभिएको बेला सीमा विवाद मिलाउनुपर्छ’–उनले भने । उनले प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवाले फोनमार्फत् यो विषयमा सम्वाद गरे पनि राष्ट्रवादी भने प्रधानमन्त्रीले कुनै चासो नदिएको बताए । उनले आफूहरुले नेपाल बन्ददेखि विभिन्न विरोध गर्नसक्ने भए पनि कांग्रेस शालीन भएर प्रतिपक्षले पनि सरकारलाई सहयोग गरेको र सिङ्गो देश सरकारको पक्षमा रहेकाले ढिला गर्न नहुने बताए ।
त्यस्तै प्रवक्ता शर्माले अहिले विभिन्न स्थानमा उपनिर्वाचन भएकाले अब निर्वाचन आयोगले पनि सबै पार्टीहरुलाई एकठाउँमा ल्याएर छलफल र सम्वाद गरी प्रतिस्प्रर्धा गराउनुपर्ने बताए । शर्माले निर्वाचन आयोगले यसको थालनी गर्न पनि अपील गरे । उनले आफूहरुले निर्वाचनमा जाँदै गर्दा आचारसंहितालाई पूर्णरुपले पालना गरेको बताए । रिपोर्टसर्् क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।