राष्ट्रियताका सवालमा अबको कदम

नेपालको राष्ट्रियताको सन्दर्भ अध्ययन गर्ने हो भने, ०७ सालको क्रान्तिसँग नागरिक स्तरमा यसको महशुस र चासो प्रकट भएको हो । हामी नेपाली भन्ने भावना त्यही क्रान्तिका क्रममा विकास भएको हो । त्यो भन्दा पहिले नेपाल भनेर काठमाडौंलाई चिनिन्थ्यो भने राजालाई गोर्खाका राजा भनिन्थ्यो । त्यो भन्दा अगाडि नेपालको सीमानाका बारेमा जनस्तरमा त्यति चासो र छलफल पनि हुँदैनथ्यो । क्रान्तिको सफलतासँग नागरिक स्तरमा राष्ट्रियताको भावना अंकुरित हुँदै विकसित हुँदै गयो । आजसम्म आइपुग्दा हामीले हाम्रो नक्सा नै पविर्तन गर्न पुगेका छौँ र यो काममा सबै नेपाली एक ठाँउमा छन् । त्यो नक्सालाई संविधानमा नै समेट्ने गरी निशान छापको संशोधन प्रस्ताव संसद्मा गइसकेको छ भने नेपालका सबै ठाउँमा त्यही नक्सा प्रचलनमा ल्याइने वातावरण बनेको छ ।

सगरमाथाको सीमानाको कुरा होस् वा नेपालको सुरक्षामा भारतले देखाएको अनावश्यक चासोको सवालमा होस् नेपालले आफूलाई परिपक्व ढङ्गले पेश गरेको र आफ्नो पक्षमा परिस्थितिलाई ढालेको रोमाञ्चित बनाउने इतिहास नेपाली राष्ट्रियताको विकासको क्रममा छ । भारतीय प्रधानमन्त्रीले संसद्मा नेपालप्रतिको आफ्नो टिप्पणी सच्याउने, अर्को छिमेकी चीनले माफी माग्दै क्षतिपूर्ति दिने घटनाक्रमको संग्रह पनि बनेको छ, हाम्रो राष्ट्रियताको विका सक्रमको इतिहास । राष्ट्रियताको यहाँका जनताको भावना हो र राष्ट्रियताको सवाल उठ्दा देश एक ठाउँमा उभिएकै हुनु पर्दछ भनेर राष्ट्रिताको केन्द्रविन्दु जनता हो भनेर राष्ट्रियताको आधुनिक व्याख्या पनि नेपालमै भएको छ । त्यसकारण नेपाली राष्ट्रियताको विगतदेखि अहिलेसम्मका सन्दर्भहरुमा नेपाली जनताले शीर निहुराउन पर्ने ठाउँ छैन । गर्वले छाति फुलाउने सन्दर्भहरु प्रशस्तै छन् । वीपी कोइरालाले राष्ट्रियता भनेको प्रत्यक्ष जनतासँग जोडिएको सवाल हो भनेर यसको व्यापकतालाई प्रशस्तै ठाउँमा व्याख्या गरेका छन् । राष्ट्रियताको भावनाले नै देशलाई जोड्न सक्छ भन्ने उनको स्पष्ट भनाई थियो । जनता, उनीहरुको अगाडिको समस्या, त्यो समस्य समाधानका उपायहरुको सामूहिक खोजी र त्यसका लागि हुने साझा प्रयत्नलाई वीपीले राष्ट्रियता भनेर व्याख्या गरेका छन् । यही परिभाषा अनुसार अहिले सीमाका सन्दर्भमा देखिएको समस्या, त्यो समस्या समाधानका एउटा उपायका रुपमा अपनाइएको नक्सा परिवर्तनको सन्दर्भले सबै नागरिकलाई एकै ठाउँमा उभ्याएको छ । यही राष्ट्रियताको भावनाले नै त्यो नक्सालाई अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यता दिलाउन प्रयत्न हुनसक्छ । त्यसका लागि पनि साझा पहल आवश्यक छ । यसरी प्रयत्नले राष्ट्रियताको भावनालाई मजबुद बनाउने र राष्ट्रियता एकता कायम गर्ने हो । अबको कदम भनेको नयाँ नक्साप्रति अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि प्रयत्न गर्नु हो ।

राष्ट्रवादको सिद्धान्त भनेको जनताको सन्तुष्टि र सबै घरेलु शक्तिबीच न्यूनतम एकता कायम गर्नु हो । अब यही सिद्धान्तमा टेकेर जमिन फिर्ता ल्याउने, त्यो जमिनमा नेपाली हितका लागि निर्बाध गतिविधि गर्नसक्ने परिवेश बनाउने र त्यसो गर्दै गर्दा सबै छिमेकीहरुसँगको सम्बन्ध मित्रवत बनाइराख्ने चुनौतीको सामना गर्न सक्रिय हुन जरुरी छ । अहिलेसम्मको प्रयत्नले एउटा राम्रो परिवेश निर्माण गरेको छ । यत्तिकैमा अडेर बस्ने हो भने यो प्रयत्न तुष्टिकरण मात्र हुन जान्छ । यो प्रयत्नले गरेका दाबी र जगाएको आशालाई व्यावहारिक रुपमा अनुभूत गर्न सक्ने बनाउनका लागि अझ अगाडि बढ्न सबैको प्रतिबद्धता र क्रियाशीलता जरुरी छ ।