Goraksha

National Daily

शान्ति र लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई भोटः शर्मा

दाङ,७ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शान्ति र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसलाई भोट दिन जनतासँग आग्रह गरेका छन ।

दाङ क्षेत्र नं. ३ (ख) को उपनिर्वाचनलाई मध्यनजर गरेर नेपाली कांग्रेस दाङले पश्चिम दाङको शान्तिनगरमा आयोजना गरेको चुनावीसभालाई सम्वोधन गर्दै युवा नेता शर्माले शान्ति र लोकतन्त्रको दुवै खुट्टालाई जोगाई राख्नकालागि उपनिर्वाचनमा नेपाली कांग्रेसलाई भोट दिनुपर्ने बताए । ‘शान्ति र लोकतन्त्रको दुवै खुट्टा रक्षाका लागि कांग्रेसलाई भोट दिनुहोस’,प्रवक्ता शर्माले भने,‘अन्यथा लोकतन्त्र र शान्तिको खुट्टा भाचिने खतरा रहेको छ ।’ देशको शान्तिका लागि ,लोकतान्त्रिक अभियान र लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई बिजयी बनाउन समेत आग्रह गरेका थिए । कांग्रेसले जिते देशमा लोकतन्त्रको रक्षासँगै शान्ति कायम हुने उनको भनाई थियो ।

हिजो राष्ट्रबादका नाममा केपी शर्मा ओलीलाई भोट दिने जनताहरुले अहिले सोच्नुपर्ने बताए । नेता शर्माले बिपक्षी दल नेपाली कांग्रेसका सभापतिले भारतीय राजदुतलाई टोलिफोन गरेर कालापानी नेपालको भू–भाग भएको भनिसक्दा समेत राष्ट्रवादी सरकारका प्रधानमन्त्रीले भन्न नसकेको आरोप लगाएका थिए । ‘हिजो राष्ट्रबादका पक्षमा उभिने प्रधानमन्त्री अहिले किन मौन हुनुहुन्छ ?,कालापानीमा बसेका सेनालाई किन फिर्ता जाउँ भन्न सक्नुहुन्न ?’, प्रवक्ता शर्माले भने,‘ जनताले मुल्याङक गर्ने बेला यहि हो, सरकार राष्ट्रबादी हो कि होइन भनेर ?’

नेता शर्माले हिजो संविधान जारी नगर भन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुतको भनाई नमान्ने कांग्रेसका तत्कालिन प्रधानमन्त्री स्वं. शुशील कोइरालाको सरकार राष्ट्रबादी र देशको जमिन अर्काे देशको नक्सामा पर्दा समेत फिर्ता ल्याउनका लागि पहल नगर्ने बर्र्तमान केपी शर्मा ओलीको सरकार राष्ट्रबादी भनेर तुलना गर्न समेत जनतालाई आग्रह गरेका थिए ।