दिनेश दिपु सुवेदी
टिप्पणी
पछिल्लो समय दाङ लागु औषधको कारोबार र सेवनका दृष्टिले अग्रस्थानमा छ । ‘लागु औषध’ र सो जन्य ‘अपराधको हब’ बनिरहेको दाङलाई नेपाल प्रहरीले सुधार गर्न कत्ति पनि चासो दिएको छैन । आरोप नमिठो नहोस्, सत्य यही हो ।
पछिल्लो समय दाङका ठुला–साना बजारमा दैनिक हुने लागु औषधको कारोबार, सेवन अनि त्यसपछिको अपराधलाई प्रहरीले ‘आर्जन’ हुने माध्यम वा कसैको ‘भनसुन’मा अनदेखा गरिएको तथ्य पनि सत्य हो । दिनदहाडै दाङका चोकगल्लीमा हुने विभिन्न प्रकारका लागु औषधको कारोबारको सुइको पाएन भनेर प्रहरीले भन्छ भने त्यो किमार्थ पत्याउन सकिँदैन ।
लागु औषध कारोबारीबाट प्रहरीले लिने कथित सहायताबारे ओपन सेक्रेट जस्तै छ । अर्कोतिर प्रहरीकै तथ्याङ्क हेर्दा सडक दुर्घटनाका कारण दाङमा दैनिक नागरिकको ज्यान गइरहेको छ । सवारीसाधन जिल्ला बाहिरिँदा होस् वा भित्रिँदा सहचालकबाट हात पर्ने सानो रकमले विधिलाई हँसाइरहेको अर्को सत्य हो । गर्नै परे प्रहरीसँग बहसका पाटा दर्जनौँ छन् । फुर्सदमा छलफल हुने नै छ तर समाज सुधारका लागि खेल्नु पर्ने भूमिका छोडेर भाइरल हुने प्रयासले कहिलेकाहीँ मुढा छोडेर अन्त ताक्न सक्छ ।
प्रहरीविनाको समाज कस्तो हुन्छ भन्ने कुरा जेन–जी विद्रोहको दोस्रो दिन भदौ २४ मा नेपालीले प्रस्ट देखे÷भोगेका छौँ । ४÷५ घण्टा मात्र प्रहरी क्रियाशील नहुँदा आमनागरिकले कति क्षति बेहोर्नुपर्छ भन्ने छर्लङ्गै भएको छ तर त्यही प्रहरीले आफ्नो भूमिका गत्तिलोसँग निभाएन भने केसम्म हुन्छ भन्ने कुरा ऐना जस्तै छ । अटोरिक्सा व्यवसायीसँग उठाइने हप्ता होस् वा सवारी साधनसँग जिल्लाको एरियाभित्र उठाइने मासिक लेवी होस् प्रहरीलाई वदनाम गराइरहेको कुरा कसैले छिपाउन सक्दैन ।
कुनै पनि सवारीसाधनका चालक सहचालकसंँँग यात्रा अवधिमा गरिने छलफलले यी तथ्य प्रस्ट पार्छन् । प्रश्न आउँछ सबै प्रहरी ? त्यो किमार्थ होइन तर केहीका कारण सिङ्गो सङ्गठनमाथि दाग लागिरहन्छ । यो कुरा मनन् गर्नैपर्छ । यी प्रतिनिधिमूलक तथ्यसँग प्रहरी अधिकारी जानकार छैनन् भन्यो कसैले भने त्यो न्यायोचित हँुदैन तर आफ्नो अनुहारको धुलो नदेखेर ऐना पुछ्न उद्यत कतिपय प्रहरी उच्च अधिकारी भाइरल हुने धुनमा लिप्त देखिन्छन् ।
प्रसङ्ग : दाङ प्रहरीका सूचना अधिकारसमेत रहेका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीको अभिव्यक्तिले लाजलाई पनि लजाउन बाध्य बनाएको छ । विनाप्रशङ्ग, विनाप्रमाण फरक सवालको सार्वजनिक कार्यक्रममा प्रत्रकार, पत्रकारिता र महिला अधिकारकर्मीमाथि बदनामीको दाग लगाउने गरिदिएको अभिव्यक्ति आफैँमा खेदजनक छ । उनले भने जस्तो भुई नागरिकका आवाज उठाउने पत्रकार दलाल होइनन् बरु लागु औषध कारोबारीसँग साँठगाँठ गरेर गरिने कारोबारी दलाली हो । मजदुरी गरेर अटोरिक्सा चलाउने मजदुरसँग लिइने हिस्सा दलाली हो । महिलाका दुस्मन महिला होइनन् पुरुषवादी सोच हो, त्यो बर्दीधारिभित्र पनि छ ।
डिएसपीले भने जस्तो भुइमान्छेसँग काम गर्ने संघसंस्थाहरू बिचौलिया होइनन् मजदुरका हक छिनेर आर्थिक बाँडफाँट गर्ने बर्दीधारिहरू बिचौलिया हुन् । विश्वविद्यालयले दिने प्रमाणपत्रले चेतनास्तर मापन गर्दैन । अनुहारको धुलो छोडेर ऐना पुछ्ने बानीले समाज धुमिल बनाइरहन्छ । मनोविद्का अनुसार एउटा ओहोदाको व्यक्तिविना प्रसङ्ग, विनाप्रमाण फरक सवालको सार्वजनिक कार्यक्रममा फरक ढङ्गले प्रस्तुत हुन्छ भने उसमा केही समस्या हुन सक्छ । चेतना भया !