हिंसामुक्त समाज : न्यायको सुनिश्चितता र दण्डहीनताको अन्त्य

सुशीला पौडेल

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान यस वर्षको राष्ट्रिय नारा : ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता ।’

परिचय

लैङ्गिक हिंसा कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या होइन; यो मानव अधिकार, सामाजिक न्याय, समानता र सभ्य समाज निर्माणसँग प्रत्यक्ष जोडिएको गम्भीर सामाजिक चुनौती हो । महिला तथा बालिकामाथि हुने शारीरिक, मानसिक, यौनजन्य, आर्थिक, सामाजिक तथा प्रविधिमा आधारित हिंसाले व्यक्तिको स्वतन्त्रता, आत्मसम्मान र सुरक्षित जीवन बाँच्न पाउने अधिकारमाथि प्रहार गरिरहेको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियान सञ्चालन गरिन्छ । नोभेम्बर २५ महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसबाट सुरु भई डिसेम्बर १० अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन सम्पन्न हुने यो अभियान केवल औपचारिक कार्यक्रम होइन; हिंसामुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता र व्यवहार परिवर्तनको अभियान हो ।

सन् २०२६ को अन्तर्राष्ट्रिय अभियानले महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न न्याय सुनिश्चित गर्ने, पीडित तथा प्रभावितको संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने विषयलाई प्राथमिकता दिएको छ । यसको मूल सन्देश स्पष्ट छ– हिंसा सहनु पर्ने बाध्यता कसैको भाग्य होइन र न्याय पाउनु प्रत्येक व्यक्तिको अधिकार हो ।

हिंसाको बदलिँदो स्वरुप र वर्तमान चुनौती

आजको समाजमा लैङ्गिक हिंसाको स्वरुप बदलिँदै गएको छ । घरेलु हिंसा, बालविवाह, जबर्जस्ती विवाह, यौन दुव्र्यवहार, मानव बेचबिखन, कार्यस्थलमा हुने विभेद, आर्थिक नियन्त्रण र सामाजिक बहिष्करण अझै चुनौतीका रुपमा रहेका छन् । सूचना प्रविधिको विस्तारसँगै सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट हुने दुव्र्यवहार, चरित्रहत्या, धम्की, गोपनीयताको उल्लङ्घन र अनलाइन उत्पीडनले पनि महिला तथा बालिकाको सुरक्षा र सम्मानमा नयाँ चुनौती थपेका छन् ।

हिंसा घरको चार पर्खालभित्र मात्र सीमित छैन । सार्वजनिक स्थल, विद्यालय, कार्यस्थल, राजनीतिक क्षेत्र र डिजिटल संसारसमेत सुरक्षित हुन सकेका छैनन् । अझै पनि धेरै पीडित सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब, आर्थिक निर्भरता र न्याय प्रक्रियाप्रतिको अविश्वासका कारण खुलेर बोल्न सकिरहेका छैनन् । हामीले बुझ्नु पर्ने कुरा के हो भने हिंसा सहन बाध्य बनाउने मौनता र हिंसा गर्ने व्यक्तिलाई संरक्षण गर्ने सामाजिक प्रवृत्तिले समस्यालाई थप जटिल बनाउँछ ।

पीडितको संरक्षण र न्यायमा पहुँच किन आवश्यक छ ?

लैङ्गिक हिंसा अन्त्य गर्ने अभियानको केन्द्रमा पीडित तथा प्रभावित व्यक्तिको सुरक्षा, सम्मान र न्याय हुनुपर्छ । हिंसाको घटना सार्वजनिक भएपछि पीडितलाई नै प्रश्न गर्ने, दोष लगाउने, सामाजिक रुपमा अपमानित गर्ने वा उसको चरित्रमाथि टिप्पणी गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । पीडितले न्याय खोज्दा सुरक्षित वातावरण, गोपनीयता, कानुनी सहायता, मनोसामाजिक परामर्श, स्वास्थ्य सेवा र आवश्यक संरक्षण पाउनुपर्छ । न्याय प्रक्रिया पीडितमैत्री, संवेदनशील र पहुँचयोग्य हुनु आवश्यक छ । त्यसैगरी, हिंसाका घटनामा निष्पक्ष अनुसन्धान, कानुनको प्रभावकारी कार्यान्वयन र दोषीलाई कानुनअनुसार जवाफदेही बनाउने व्यवस्था सुनिश्चित गर्नुपर्छ । दण्डहीनताको अन्त्यबिना हिंसामुक्त समाजको परिकल्पना पूरा हुन सक्दैन ।

आर्थिक वर्ष २०८३÷०८४ मा दाङ जिल्लाको अवस्था

जिल्ला प्रहरी कार्यालय दाङ बाट उपलब्ध तथ्याङ्कअनुसार दाङ जिल्लामा घरेलु हिंसासम्बन्धी ६७ जना, लैङ्गिक हिंसासम्बन्धी २६९ जना, आत्महत्यासम्बन्धी २५ जना रहेका छन् । त्यसैगरी, अलपत्र अवस्थामा फेला परी ३४२ जनालाई पारिवारिक जिम्मा लगाइएको छ भने सुरक्षा आवास तथा आश्रममा बसाइपछि १८ जनालाई पारिवारिक जिम्मा लगाइएको छ । यी तथ्याङ्कले हिंसा न्यूनीकरण, महिला तथा बालबालिकाको सुरक्षा, पारिवारिक जिम्मेवारी र सामाजिक संरक्षणका क्षेत्रमा अझ प्रभावकारी कदम चाल्नु पर्ने आवश्यकता औँल्याउँछन् ।

दाङ जिल्लाको सन्दर्भमा पनि घरेलु हिंसा तथा लैङ्गिक हिंसाका घटनालाई गम्भीरतापूर्वक लिन आवश्यक छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका घटनाका विवरणले हिंसाको अवस्था बुझ्न, चुनौती पहिचान गर्न र रोकथामका कार्यक्रम प्रभावकारी बनाउन महत्त्वपूर्ण आधार प्रदान गर्छन् तर प्रहरीमा दर्ता भएका घटनाको सङ्ख्याले मात्र समाजमा रहेको हिंसाको पूर्ण अवस्था देखाउँदैन । विभिन्न कारणले बाहिर नआएका घटनाहरु पनि हुन सक्छन् । त्यसैले तथ्याङ्कलाई केवल सङ्ख्याका रुपमा होइन, प्रत्येक सङ्ख्यापछाडि रहेको व्यक्तिको पीडा, अधिकार र न्यायको आवश्यकताका रुपमा बुझ्नुपर्छ ।

स्थानीय सरकार, प्रहरी प्रशासन, न्यायिक समिति, महिला तथा बालबालिका शाखा, नागरिक समाज, महिला मानव अधिकार रक्षक, सञ्चारमाध्यम र समुदायबीच प्रभावकारी समन्वय आवश्यक छ । हिंसाको उजुरी गर्ने व्यक्तिलाई सम्मानपूर्वक सुन्ने, तत्काल आवश्यक सुरक्षा उपलब्ध गराउने र न्याय प्रक्रियासम्म साथ दिने व्यवस्था बलियो बनाउनुपर्छ । हिंसामुक्त समाज निर्माणमा सबैको भूमिका लैङ्गिक हिंसा अन्त्य गर्ने जिम्मेवारी महिलाको मात्र होइन, सम्पूर्ण समाजको साझा दायित्व हो । परिवारबाटै छोरी र छोराबिच समान व्यवहार, समान अवसर र पारस्परिक सम्मानको संस्कार विकास गर्नुपर्छ ।

पुरुष तथा युवालाई पनि लैङ्गिक समानता र हिंसाविरुद्धको अभियानमा सक्रिय सहभागी गराउनुपर्छ । विद्यालय तथा समुदायमा मानव अधिकार, समानता, सम्मानजनक व्यवहार र डिजिटल सुरक्षासम्बन्धी शिक्षा विस्तार गर्नुपर्छ । महिलाको आर्थिक सशक्तीकरण, नेतृत्वमा अर्थपूर्ण सहभागिता, निर्णय प्रक्रियामा प्रतिनिधित्व र न्यायमा सहज पहुँच सुनिश्चित गर्नु पनि हिंसा न्यूनीकरणका महत्त्वपूर्ण आधार हुन् । राज्यले कानुन बनाएर मात्र पुग्दैन; त्यसको प्रभावकारी कार्यान्वयन, पर्याप्त बजेट, सुरक्षित आश्रयस्थल, पीडितमैत्री सेवा र जवाफदेही संस्थागत संरचना सुनिश्चित गर्नुपर्छ ।

निष्कर्ष

अभियान नारामा होइन, व्यवहारमा देखिनुपर्छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान वर्षमा एकपटक मनाइने कार्यक्रम मात्र बन्नु हुँदैन । यसको सन्देश हाम्रो सोच, व्यवहार, नीति र कार्यान्वयनमा वर्षभरि प्रतिबिम्बित हुनुपर्छ । हिंसापीडितलाई दोष होइन, साथ चाहिन्छ; उपेक्षा होइन, संरक्षण चाहिन्छ; आश्वासन होइन, न्याय चाहिन्छ । महिलाको सुरक्षा र सम्मान कुनै दया वा उपकारको विषय होइन, यो मौलिक मानव अधिकार हो । अब समाजले हिंसा सहने संस्कार होइन, हिंसाविरुद्ध बोल्ने साहस विकास गर्नुपर्छ । राज्यले प्रतिबद्धता मात्र होइन, परिणाम देखाउनुपर्छ । न्याय ढिलो हुने होइन, सहज र पहुँचयोग्य हुनुपर्छ । पीडितको आवाज दबाउने होइन, सुन्ने र विश्वास गर्ने वातावरण बनाउनुपर्छ ।

हिंसामुक्त समाज निर्माणका लागि हाम्रो साझा प्रतिबद्धता हुनुपर्छ–पीडितको संरक्षण, दोषीको जवाफदेहिता र न्यायको सुनिश्चितता । किनकि महिला सुरक्षित नभएको समाज समृद्ध हुन सक्दैन, समानता नभएको समाज न्यायपूर्ण हुन सक्दैन र दण्डहीनता कायम रहेको समाज सभ्य हुन सक्दैन । आउनुहोस्, १६ दिने अभियानलाई नारामा सीमित नराखौँ; प्रत्येक घर, परिवार, समुदाय र संस्थाबाट हिंसाविरुद्धको आवाज बुलन्द गरौँ ।

महिला तथा बालिकाले सम्मान, स्वतन्त्रता, समानता र सुरक्षासहित बाँच्न पाउने समाज निर्माणमा सबै एकजुट बनौँ ।हिंसामुक्त समाज : हाम्रो प्रतिबद्धता, न्यायपूर्ण समाज : हाम्रो लक्ष्य हो । यो अभियान केवल १६ दिन नभइ ३६५ दिनको साझा विषय बनोस् र हामी सबै सधै समतामुलक समाज निर्माणमा जुट्न सकौ यो वर्षको दिवस उपलब्धिमूलक बनोस् शुभकाना धन्यवाद ।

लेखक महिला मानव अधिकार रक्षकहरुको सञ्जालकी केन्द्रीय सदस्य हुन ।