दाङ,७ मंसिर । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले सरकार जवाफदेही बन्न नसकेको र स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाले आन्दोलनको कार्यक्रमअन्तर्गत आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष पोख्रेलले संवाद र पद्धतिभन्दा बाहिर गएर सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने बाटो रोजेको बताएका हुन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष पोख्रेलले मिडिया काउन्सिल विधेयक अध्यादेशमार्फत ल्याउनुको औचित्यमाथि प्रश्न उठाए । ‘सरकार जवाफदेही हुन सकिरहेको छैन, मिडिया काउन्सिल विधेयक अध्यादेशमार्फत किन ल्याउनुप¥यो ? त्यसको जवाफ कसले दिने र सरकार किन मौन छ ?’ भन्दै उनले सरकारको भूमिकाप्रति गम्भीर आशंका व्यक्त गरेका थिए ।
सरकारलाई सोधिएको प्रश्नको आधिकारिक जवाफ आउनुको साटो काउन्सिलका अध्यक्षले व्यक्तिगत सामाजिक सञ्जालको प्रोफाइलबाट जवाफ दिनुले सरकारको गैरजिम्मेवारीपन प्रस्ट पारेको उनको भनाइ थियो । मिडियाका सन्दर्भमा प्रशस्त छलफल गर्न बाँकी रहेको र बहसमा रहेका विषयमा सरकारले एकलौटी धारणा लाद्न नपाउने उनले चेतावनी दिए ।
नेपाल महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सरकार सञ्चार माध्यमलाई कमजोर बनाउने बाटोमा हिँडेको बताए । सहभागी वक्ताहरूले सञ्चार क्षेत्रमाथि लगाउन खोजिएको आर्थिक नाकाबन्दी र अभिव्यक्ति स्वतन्त्रता हननका प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महासंघले थालेको आन्दोलनको आवश्यकता रहेको बताएका थिए । उनीहरूले महासंघका आगामी आन्दोलनका कार्यक्रममा पूर्ण समर्थन र ऐक्यबद्धता समेत जनाएका छन् ।
छलफल कार्यक्रममा प्रेस काउन्सिलका पूर्व सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष केएल बुढाथोकी, नेपाल प्रेस युनियनका अध्यक्ष आरके शीतल, प्रेस सेन्टरका गिरिराज नेपाली र जनपत्रकार संगठनका जंग रेउलेलगायतले धारणा राखेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल अन्य पत्रकारको समेत सहभागीता रहेको थियो ।