टोकरीको व्यङ्ग्य : म पनि मेयर बन्छु !

पीताम्बर रिजाल

स्थानीय चुनाव नजिकिँदै छ कि क्या हो, घोराहीमा यतिबेला मेयर बन्नेहरुको संख्या हेर्दा लाग्छ, अब घोराहीमा मतदाता खोज्नुभन्दा उम्मेदवार छान्न गाह्रो हुने भयो । चिया पसलदेखि चौतारीसम्म, फेसबुकको भित्तादेखि चोकको गफसम्म एउटै आवाज सुनिन्छ– म मेयर उठ्छु, म मेयर बन्छु, यसपालि घोराही बनाउने जिम्मा मेरै हो ! कसैले भन्छन्, अब महिलालाई नेतृत्व दिनुपर्छ ।

फेसबुकमा चार÷पाँच जना महिला पत्रकार, राजनीतिकर्मी र समाजसेवीका तस्बिर राखेर स्टाटस लेखिन्छ– यीमध्ये एउटीलाई मेयर बनाउनुपर्छ । कसैले भन्छन्, पुराना अनुहारले केही गर्न सकेनन्, अब नयाँ अनुहार चाहिन्छ । कसैले विद्रोह गरेर पार्टीभन्दा बाहिर निस्किएर सामाजिक काम गरेका वडा अध्यक्षलाई नै भावी मेयरका रुपमा प्रस्तुत गर्छन् । कसैको नजरमा समाजसेवी नै योग्य, कसैको नजरमा राजनीतिकर्मी नै योग्य, कसैको नजरमा पत्रकार नै योग्य !

यी सबै चर्चा सुन्दा मलाई पनि एउटा प्रश्नले झकझक्यायो– अरु सबै मेयर बन्ने, मचाहिँ किन पछि पर्ने ? आखिर म पनि त घोराहीकै नागरिक हुँ । म पनि मेयर बन्न सक्छु नि ! लौ ! अब म किन मेयर बन्ने भन्ने मेरो योग्यता पनि सुनौँ । सबैभन्दा पहिले म दैनिक बजार आउँछु, बजारबाट घर जान्छु । बाटोमा आफन्त भेटिन्छन्, साथीभाइ भेटिन्छन्, चिनजानका मान्छे भेटिन्छन् । कसैलाई नमस्कार गर्छु, कसैलाई हेलो हाई भन्छु, कसैसँग दुई मिनेट गफ गर्छु । यसरी मैले जनसम्पर्क विस्तार गरेको छु ।

घोराहीका धेरै मान्छेले मलाई चिन्छन् । कतिले नामले चिन्छन्, कतिले अनुहारले चिन्छन्, कतिले आवाजले चिन्छन् । अब यति धेरै मान्छेले चिनेको मान्छे मेयर बन्न किन नपाउने ? म पत्रकारिता पनि गर्छु । रेडियोमा बोल्छु । मैले रेडियोमा बोलेका समाचार हजारौँले सुन्छन् । कसैले पत्याउँछन्, कसैले पत्याउँदैनन् तर सुन्छन् चाहिँ सबैले । मैले बोलेपछि गाउँघरका मानिसले चिया पिउँदै समाचारमाथि छलफल गर्छन् । अब जसको आवाज रेडियोमा पुग्छ, उसको नेतृत्व नगरपालिकासम्म किन नपुग्ने ? रेडियोमा बोलेको आवाज नगरपालिकाको कुर्सीसम्म पु¥याउन पाए कति राम्रो !

अर्को कुरा, म सामाजिक सम्बन्ध पनि राम्रो राख्छु । गाउँघरमा पूजा, पाठ, व्रतबन्ध, विवाह, शुभकार्य पर्दा म पुग्छु । कतै पूजापाठ गर्न बोलाउँछन्, कतै शुभकामना दिन बोलाउँछन् । मेरा जजमानहरु छन्, आफन्तहरु छन्, शुभचिन्तकहरु छन् । कसैको घरमा दुःख पर्दा समवेदना दिन पुग्छु, खुसी पर्दा बधाई दिन पुग्छु । अब यति धेरै घरमा मेरो आउजाउ छ भने ती सबै घरका मान्छेले मलाई भोट हाल्दैनन् त ? त्यसैले म मेयरको बलियो दाबेदार हुँ ।

मसँग अर्को ठुलो योग्यता पनि छ । म सबैको कुरा सुन्छु । कसैले सडक बिग्रियो भन्छ, म टाउको हल्लाउँछु । कसैले नाला बनेन भन्छ, म सहमति जनाउँछु । कसैले खानेपानी आएन भन्छ, म चिन्ता व्यक्त गर्छु । कसैले बेरोजगारी बढ्यो भन्छ, म युवाहरुको भविष्यप्रति गम्भीर हुन्छु । कसैले भ्रष्टाचार भयो भन्छ, म भ्रष्टाचार अन्त्य गर्नुपर्छ भन्छु । अब जनताका सबै समस्या सुन्ने र सबै समस्यामा सहमति जनाउने मान्छे मभन्दा योग्य अरु को होला ? म मेयर भएपछि घोराहीमा नाला पनि बनाउँछु, सडक पनि बनाउँछु, फोहोर पनि उठाउँछु, पार्क पनि बनाउँछु, बेरोजगारी पनि हटाउँछु । बजारको टूाफिक व्यवस्थापन गर्छु, किसानलाई मल दिन्छु, युवालाई रोजगारी दिन्छु । एकैपटक सबै काम गर्छु । बजेट कहाँबाट आउँछ, योजना कसरी बन्छ, प्राविधिक प्रक्रिया के हुन्छ भन्ने कुरा पछि सिकौँला । पहिले त मेयर बन्नुप¥यो नि !

मलाई त के लाग्छ भने, चुनाव जित्न धेरै ठुलो योग्यता पनि चाहिँदैन । फेसबुकमा केही साथीले मेरो फोटो राखेर ’पिताम्बर रिजाललाई मेयर बनाउनुपर्छ’ भनेर स्टाटस लेखिदिए पुगिहाल्छ । दुई÷चार जनाले कमेन्टमा ‘सही हो’, ‘एकदम योग्य’, ‘अब पालो उहाँकै’ लेखिदिएपछि मेरो चुनावी माहोल तयार भइहाल्छ । अझ कसैले मेरो पुरानो फोटोमा माला लगाएर पोस्ट गरिदियो भने त म त चुनावअघि नै मेयर भइसकेँ !

तर एउटा कुरा के भने, मेयर बन्ने घोषणा गर्नु र मेयर बन्नु एउटै कुरा होइन रहेछ । फेसबुकमा सयौँ लाइक आउनु र मतपेटिकामा सयौँ मत आउनु पनि एउटै कुरा होइन रहेछ । चिया पसलमा ‘तपाईं नै हो अबको मेयर’ भन्ने साथीले मतदान केन्द्रमा पुगेर कसलाई मत हाल्छन् भन्ने कुरा पनि थाहा हुँदैन रहेछ ।अझ रमाइलो त के छ भने, अहिले सबैले घोराही बनाउने कुरा गरिरहेका छन् । कसैले आफू आएपछि घोराही स्वर्ग बनाउने भन्छन्, कसैले आफूले मात्र विकास गर्न सक्ने दाबी गर्छन् ।

कसैले महिलाको नेतृत्व आवश्यक भन्छन्, कसैले युवाको पालो आएको बताउँछन् । कसैले विद्रोहीलाई जिताउनुपर्छ भन्छन् । सबैका तर्क आआफ्नै छन्, सबैका सपना आआफ्नै छन् । तर घोराही बनाउने सपना देख्नेहरुलाई एउटा प्रश्न चाहिँ सोध्न मन लाग्छ– घोराही बनाउने हो कि मेयर बन्ने बहानामा आफ्नै राजनीतिक भविष्य बनाउने हो ? विकासको नारा लगाउन सजिलो छ, विकासको जिम्मेवारी लिन गाह्रो छ । फेसबुकमा सडक बनाउने घोषणा गर्न सजिलो छ, सडकमा खाल्डाखुल्डी पुर्न गाह्रो छ ।

माइक समातेर भाषण गर्न सजिलो छ, जनताको गुनासो सुनेर समाधान गर्न गाह्रो छ । त्यसैले म पनि मेयर बन्छु भन्ने मेरो घोषणा पनि यहीँ राखिदिन्छु । तपाईंहरु पनि आआफ्नो घोषणा राख्नुहोस् । कसैले मलाई समर्थन गर्नुहोला, कसैले विरोध गर्नुहोला । कसैले मेरो फोटो राखेर स्टाटस लेख्नुहोला, कसैले मेरो योग्यताको चर्चा गर्नुहोला । तर एउटा कुरा चाहिँ पक्का छ– अन्तिम निर्णय फेसबुकले होइन, जनताले गर्नेछन् अनि चुनाव सकिएपछि थाहा हुनेछ, को साँच्चिकै जनताको मनमा बसेको रहेछ र को आफ्नै मनको कल्पनामा मेयर भइसकेको रहेछ ! किनकि घोराहीमा अहिले मेयरका उम्मेदवार धेरै छन्, तर घोराही बनाउने जिम्मेवारी लिन सक्ने नेतृत्व कति छन् भन्ने प्रश्नचाहिँ अझै बाँकी छ ।